Logo

Student Corner

प्रहरीसँगको मेरो भेट

Written by: Ishan Raj Upadhyay - 22008, Grade XI

Posted on: 01 March, 2021

प्रहरीसँग मेरो भेट आइतबारको दिन भएकाे थियो । म आफ्नो साथीको घरमा गएको थिएँ, दिन रमाइलैसँग बित्यो । साथीको घरबाट घर फर्किने बेला म बाइकमा आफ्नै सुरमा आउँदै थिएँ, गौशला चोकमा पुग्दा मलाई प्रहरीले समात्यो । एकछिन म अलमलमा परेँ । प्रहरीले लाइसेन्स माग्यो तर मसँग लाइसेन्स थिएन । प्रहरीले १००० रुपैयाँ दे अनि छोड्छु भन्याे । म झन अलमलमा परेँ । मसँग त्यो समयमा पैसा थिएन । प्रहरीले बाइकको चाबी लियो । त्यसपछि मलाई झन के गरूँ के गरूँ भयो । एक मनले घुस दिनु अपराध हाे, घुस दिनु हुँदैन भन्थ्याे भने अर्काे मनले जसरी भए पनि यहाँबाट बाइक लिएर निस्कनुपर्छ भन्थ्याे । म निकै बेर दाेधारमै रहेँ ।

समय जति बित्दै गयो, मेराे डर पनि त्यति नै बढ्न थाल्यो । एकछिन साेचेपछि मैले एउटा साथीलाई फोन गरेर घटनाकाे सबै विवरण सुनाएँ । उसले पनि मद्दत गर्न त खोज्यो तर उसकाे घरमा त्यति बेला कोही नभएकाले उसले मद्दत गर्न सकेन तर उसले अर्को साथीलाई फोन गरेर मद्दत माग्यो । त्यो साथी गौशलातिर बस्ने भएकाले ऊ मलाई मद्दत गर्न सफल भयो । त्याे साथीसँग १००० रुपैयाँ लिएर म प्रहरीकहाँ जाँदा पनि प्रहरीले मलाई छोडेन । २० मिनेट जति पर्ख भन्यो तर २० मिनेट भनेको १ घण्टा हुन लागिसकेको थियो तर पनि प्रहरीले मलाई छोड्ने नाम नै नलिएपछि मलाई रिस उठ्न थाल्यो । बल्ल बल्ल त्यो प्रहरीले घुस लियो र मलाई जान दियो । 

यो घटनाक्रममा मलाई त्यो प्रहरीले घुस लिएको देखेर अचम्म लागिरहेको थियो । ट्राफिक प्रहरीहरू दिनभरि घाम र धुलोमा काम गर्छन्, उनीहरू मेहनती र इमानदार होलान् भन्ने मेरो सोच त्यो दिनदेखि फेरियो । हुन त सबै प्रहरीहरू मैले भेटेकै प्रहरीजस्ता नहाेलान् तर पनि ती प्रहरीकाे व्यवहारले प्रहरीप्रतिकाे मेराे धारणा नै परिवर्तन गरिदियाे । अहिले सम्झँदा याे घटनामा म आफूलाई पनि उति नै दाेषी पाउँछु । मैले ती प्रहरीलाई घुस दिनुकाे सट्टा जरिवाना तिरेकाे भए मलाई अहिले आत्मग्लानि त हुने थिएन ।