Logo

Student Corner

वैदेशिक रोजगारी र देशमा बेरोजगारी

Written by: Kabin Rijal - 22010, Grade XI

Posted on: 25 February, 2021

परदेश छोडी बनाऊ सानु बास,

थोरै सानो देशमै उब्जाऊ हुँदैन नास l

 

अहिलेको चल्दो बल्दो नेपालमा दुईवटा कुरा एकदम तीव्र रूपमा चलिरहेको छ l  वैदेशिक रोजगारी र देशमा बेरोजगारी l यी दुईवटैले हाम्रो देशलाई नमज्जासँग खोक्रो बनाइरहेका छन् l अहिले रेडियो वा पत्रपत्रिकामा हेर्ने हो भने आधाभन्दा बढी समाचार विदेशमा भएका नेपाली दाजुभाइ, दिदीबहिनीको हत्या  र उनीहरूले पाएको दुःखको बारेमा मात्र हुन्छ । कुनै पनि नेपाली जनतालाई आफ्नो देश छोडेर अरूको देशमा जान मन लाग्दैन तर देशमा भएको बेरोजगारी र आफ्नो र आफ्नो परिवारको भविष्यका लागि उनीहरू बाध्य हुन्छन् र आफ्नो मातृभूमि छोडेर जान्छन् ।

वैदेशिक रोजगारी र देशमा बेरोजगारीको मुख्य कारण भ्रष्टाचार, भनेको जस्तो स्वास्थ्य सुविधा, पढाइ र अवसरहरूको अभाव आदि हुन् l हुन त नेपाल नवीकरणीय स्रोतहरूको भण्डार हो तर सुनमा सुगन्ध हाल्न नसक्ने भ्रष्टाचारी नेताहरूका कारण हाम्रो देशमा बेरोजगारी बढेको हो l देशको विकास र समृद्धिमा मुख्य हात शिक्षाको हुन्छ तर भनेको जस्तो शिक्षाको सुविधा नहुनाले र यदि केही गरी राम्रो शिक्षा हासिल गरियो भने पनि आफ्नो योग्यताअनुसारको काम नपाउने हुनाले आधाभन्दा धेरै युवाको विदेश गएर शिक्षा हासिल गर्ने लक्ष्य हुन्छ । विदेशमा राम्रो शिक्षा, आफ्नो योग्यताअनुसारको काम पाइने र आफ्नो कामको इज्जत पाइने हुनेले युवाहरू विदेशमै बस्न रुचाउँछन् । हाम्राे देशमा स्वास्थ्य सुविधाको पनि त्यस्तै हाल छ ।  सरकारी अस्पतालमा भनेको जस्तो सुविधा, देखभाल र उपचार नहुनाले  मान्छेहरू निजी अस्पतालमा जान बाध्य हुन्छन्, जसमा एउटा रोगको उपचार गर्ने पैसाको मूल्य सुनेर अर्को रोग लाग्ने सम्भावना हुन्छ l वैदेशिक रोजगारी र देशमा बेरोजगारी बढ्नुको अर्को मुख्य कारण भनेको क्षमता भएको मान्छेले भनेको जस्तो अवसर नपाउनु पनि हो l खेलकुददेखि सरकारी कामहरूसम्म सबैमा भ्रष्टाचार हुन्छ ।  कामका लागि योग्य व्यक्तिकाे सट्टा गोजीभरि पैसा भएका वा ठुला मान्छेका भनसुनले आएका असक्षम व्यक्तिले त्यो अवसर पाउँछन् l

गाउँमा भएको जमिनलाई बाँझो छोडेर परदेशमा मजदुरी र किसानी गर्ने, भेडाबाख्रा चराउन र त्यो तातो ५० डिग्रीको घाममा रगत पसिना बगाउने नेपालीहरूको कारणले पनि हाम्रो देश खोक्रो हुँदै छ भन्दा गलत नहोला |आफ्नो देशमा भएको अमूल्य जमिनलाई लाख रुपैयाँ मूल्य लगाई परदेश जानुको सट्टा त्यही जमिन प्रयोग गरी लाखौं रुपैयाँ बनाउन सकिन्छ भन्ने सोच नआएसम्म हाम्रो देशमा विकास हुन सक्दैन । बनेपामा भएका राजु घिसिङ जसले ड्र्यागन फ्रुट खेती गरी महिनाको ३ देखि ४ लाख कमाइ गरी पाँचजनालाई रोजगारी दिएका छन् । माेरङका अधिकांश महिलाहरूले सिलाइको काम गरी आफू र आफ्नो परिवारलाई राम्रोसँग पालिरहेका छन् । यी केही उदाहरणहरू हुन् जसले देशमै केही गर्न सकिन्छ भन्ने सोचलाई प्रमाणित गरेका छन् ।

भष्टाचार कम गर्ने, योग्यता भएका मान्छेलाई अवसर दिने, शिक्षा र अस्पतालको विकास गर्ने, नवीकरणीय स्रोतको सही ढङ्गले उपयोग गर्ने र परदेशमा बसी देश विकास भएन भन्नेले देशका लागि केही योगदान दिने हो भने वैदेशिक रोजगारी र देशमा बेरोजगारीकाे समस्या जरैदेखि समाप्त हुन्थ्यो होला ।