Written by: Ishu Shiwakoti - 22009, Grade XI
Posted on: 21 February, 2021
कलेज जाने र पढ्ने मेरो बच्चैदेखिको सपना थियो तर यो साल कोरोनको महामारीले यो सम्भव हुन सकेको थिएन । अन्त्यमा ६/७ महिनापछि हाम्रो कलेज खुलेको थियो । म पहिलो पटक कलेज जानको लागि धेरै उत्साहित थिएँ । उही समयमा म थोरै घबराएँ किनभने हाम्रो पहिलो दिनमा परीक्षा थियो । परीक्षा पनि भौतिक विज्ञानको । कलेज जाने उत्साहमा मैले राम्रोसँग केही पढेकी पनि थिइनँ । त्यो दिन बिहान ९ कहिले बज्छ र म घरबाट निस्किऊँ जस्तो भइसकेको थियो । म गाडीबाट उत्रेँ । उत्रिनेबित्तिकै मैले मेरो साथीलाई भेटेँ । हामी भित्र पस्याैँ । कुन क्लास, कुन तला, कहाँ जाने केही पनि थाहा थिएन । बल्लतल्ल हामीले हाम्रो कक्षा पत्ता लगायौँ ।
म मेरा नयाँ साथीहरूलाई भेट्न एकदम उत्साहित थिएँ । कक्षामा पुग्दा लगभग सबैजना आइसकेका थिए । पहिलो पल्ट कक्षामा जान त कस्तो लाज लागेको थियो । हामी एक अर्काको मुख हेर्दै भित्र गयौँ । त्यत्रो ६/७ महिनादेखि देखेका साथीहरूलाई चिन्नै गार्हो भयो । अनलाइन कक्षामा भिडियो खोल्दा मात्र देखेकी थिएँ । त्यसमाथि पनि सबैले मास्क लगाका थिए । साथीहरूलाई भेटेर अलि अलि पढेको पनि परीक्षा दिने बेलासम्म सबै बिर्सिसकेछु । बल्ल तल्ल पास हुने गरी चाहिँ लेखेँ । त्यसपछि हामी एकछिन गफगाफ गरेर घर फर्कियौँ । मेरो कलेज जाने सपना पनि पुरा भएकोमा म धेरै खुसी थिएँ । २ हप्तापछि हाम्रो परीक्षा सकियो । ३ दिन खेलकुद भयो अनि हामी कलेजमै गएर पढ्न थाल्याैँ ।
मेरो कलेजका शिक्षक र शिक्षिकाहरू पनि निकै मिल्ने हुनुहुन्छ । एकदम राम्ररी बुझाएर पढाउनुहुन्छ । हँसीमजाक पनि गराउनुहुन्छ । यस्ताे वातावरण पाएपछि म राम्ररी कलेज गएर पढ्न थालेकी छु । बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म कलेजमै हुँदा घर आएपछि सारै थाक्छु तर के गर्नु, गृहकार्य पनि गर्नैपर्यो । गृहकार्य सक्दा ९ बज्छ । एकछिन किताब हेरेर सुत्दा ठिक्क हुन्छ । यसरी ७ महिनासम्मको अनलाइन क्लासपछि आफ्ना साथीभाइहरूलाई भेट्दा निकै रमाइलो महसुस भयो ।