Logo

Student Corner

आत्मविश्वास

Written by: Niharika Shrestha - 22022, Grade XI

Posted on: 17 February, 2021

हामी मानिसको जीवनमा खानपिन, बस्नको लागि घर अनुशासनजस्ता कुराहरू त महत्त्वूर्ण छन् नै तर तीमध्ये आत्मविश्वास पनि एउटा महत्त्वूर्ण कुरा हो । आत्मविश्वास भनेको आफैँलाई चिन्ने साहस हो । तपाईं आफैँमा विश्वास गर्नुहोस् र आफ्ना विश्वासहरूमा कार्य गर्नुहोस् । आत्मविश्वासको परिभाषा भनेको आफू र संसारको बारेमा सकारात्मक भावना हो जसमा हिम्मतपूर्ण कार्यहरू हुन्छन् । धेरै मानिसहरू आफैँमा आत्मविश्वासको कमी हुन्छ। एक खुसी र सफल जीवनका लागि आत्मविश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । 

धेरै कारणहरूले आत्मविश्वास महत्त्वपूर्ण छ । सबैभन्दा पहिले, जब हामी आत्मविश्वासी हुन्छौँ, यसको मतलब यो हो कि हामी आफैँलाई विश्वास गर्दै छाैँ । हामीसँग आफ्नो क्षमता र निर्णय लिने कौशलमा पूर्ण विश्वास छ । अझ ठुलो कुरा त आत्मविश्वासले हामीलाई आत्मशङ्का र नकारात्मक विचारबाट स्वतन्त्रताको अनुभव गर्न मद्दत पुर्‍याउँछ । हामीमा आत्मविश्वास भएमा जीवनमा आफूलाई चाहिएका सबै कुरा प्राप्त गर्न सक्छौँ । आत्मविश्वासले हाम्रो जीवनमा सकारात्मक प्रभाव ल्याउँछ । आत्मविश्वासले हाम्रा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ । आत्मविश्वास भएको व्यक्ति एक्लैले आफ्नो जीवनका सबैभन्दा ठुला समस्या वा चुनौतीहरूको सामना गर्न सक्दछ । आत्मविश्वास लक्ष्यहरू प्राप्त गर्न र तपाईंका चाहनाहरू पुरा गर्न धेरै उपयोगी र महत्त्वपूर्ण छ । आत्मविश्वासबिना जीवनमा व्यक्तिले उसको लक्ष्य प्राप्त गर्न सक्दैन किनभने आत्मविश्वस्तकै कारण व्यक्ति स्वतन्त्र, उत्सुक, आशावादी, मायालु र सकारात्मक स्वभावकाे हुन्छ । आत्मविश्वासको कमी भएको व्यक्ति बिल्कुल विपरीत हुन्छ । ऊ पृथक, निकृष्ट, उदास, भ्रमित र आलोचना र असफलताको लागि संवेदनशील हुन्छ । यसको मतलब यो होइन कि एक विश्वस्त व्यक्तिले जहिले पनि जीवनमा सफलता प्राप्त गर्दछ तर उसले जीवनका चुनौतीहरूलाई सकारात्मक रूपमा लिन्छ । 

आत्मविश्वास सुधार गर्ने पहिलो र मुख्य तरिका सकारात्मक सोच्नु हो । सकारात्मक सोच्ने व्यक्ति खुसी, आशावादी, स्वस्थ र शक्तिशाली हुन्छ । हामीले सकेसम्म सधैँ सकारात्मक सोच्नुपर्छ । सकारात्मक सोच भएका मानिसहरूले जीवनमा आफूले चाहेका लक्ष्यहरू प्राप्त गर्न सफल हुने सम्भावना धेरै हुन्छ । सकारात्मक सोच भएको मानिस सधैँ जीवनमा खुसी भएको हामी देख्छौँ । केही नराम्रो समय चलिरहेको छ भने पनि सकारात्मक सोचले त्यसलाई हटाउन सक्न खोज्नुपर्छ। सकारात्मक सोचले जीवनको परिप्रेक्ष्यलाई परिवर्तन गर्दछ । जीवनमा केही कुरामा हारिएको छ भने पनि त्यस हरबाट केही सिक्नुपर्छ । निरास भएर आशा गुमाउनु हुँदैन । आत्मविश्वास मानिसमा हुनु सोचेको जस्तो सजिलो हुँदैन । त्यसकारण हामीले बिस्तारै आत्मविश्वास बढाउने प्रयास गर्नुपर्छ । एक व्यक्ति जो विश्वस्त छ, जीवनका विभिन्न सुविधाहरूको आनन्द लिन सक्षम छ । ऊ कार्यस्थलको साथसाथै घरमा पनि कुनै प्रकारका चुनौतीहरूको सामना गर्न सक्षम छ । ऊ असफलतासँग डराउँदैन, ऊ असफल भए पनि उसलाई साहस मिल्ने छ र आफूले चाहेको कुरा हासिल गर्न कडा मेहनत गर्ने छ । यहाँ धेरै व्यक्तिहरू आत्मविश्वास भएका छन् र यसै गुणका कारण सफलता प्राप्त गर्दै छन्, यद्यपि आत्मविश्वास नभएका व्यक्ति चिनिनका लागि जहिले पनि कठिन सङ्घर्ष गरिरहन्छन् । 

हाम्रो जीवनको हरेक मार्गमा आत्मविश्वास आवश्यक छ । आत्मविश्वास सफलताको कुञ्जी हो र यसले एक व्यक्तिको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । आजकल समाजमा त्यस्ता व्यक्तिहरूका लागि कुनै ठाउँ छैन जो आफैँलाई अभिव्यक्त गर्नमा पर्याप्त विश्वास गर्दैनन् । आफूमाथि विश्वास भएमा केही पनि कुरा असम्भव छैन । मेहेनतका साथसाथै आफूमाथि विश्वास भए जे कुरा पनि हासिल गर्न सकिन्छ । साना बालबालिकादेखि बुढापाकासम्म सबैमा आत्मविश्वास हुनुपर्दछ । त्यसकारण खुसी रहन र जीवनमा सफलता प्राप्त गर्न आत्मविश्वास आवश्यक छ ।