Logo

Student Corner

पर्यावरणीय समस्या

Written by: Simon Sangat - 22019, Grade XI

Posted on: 08 February, 2021

प्रकृतिले पृथ्वीमा जीवन धान्नको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ । आजभोलि पृथ्वीको वातावरणमा धेरै समस्या देखा परेको छ । मानिसकै बेवास्ताका कारण पृथ्वीको वातावरण दिनानुदिन बिग्रिँदै गएको छ । वातावरणको स्वच्छतामा गिरावट आउँदा मानिस मात्र नभई पुरा प्राणी जगत्‌लाई नै असर पार्दछ ।  पृथ्वीको  वातावरण बिग्रिनुको कारण  प्रदूषण, जलवायु परिवर्तन, ग्रिन हाउस ग्यास आदि हुन् । मानिसको लापरबाहीले गर्दा नै आज वातावरणमा समस्या देखा परेको हो ।    यदि वातावरणलाई बचाउन सकिएन भने पृथ्वीमा कुनै पनि जीवित रहन सक्दैन । आहिलेको समयमा भूमण्डलीय उष्णता र वायुमण्डलमा परिवर्तन नै सबैभन्दा ठुलो समस्या हो । यी समस्याहरूले अन्य समस्या निम्त्याउँछन्, जस्तैः विकिरणमा वृद्धि, रोगहरू फैलिने, माटाको आम्लीयपन बढाउने, हिमनदी पग्लिने आदि । यदि यी समस्याहरू समयमै नियन्त्रणमा ल्याएइनन् भने सम्पूर्ण जगत्‌कै सर्वनास हुन सक्छ । आजका दिनहरूमा वातावरणीय मुद्दाहरू चिन्ताको विषय हो । प्रदूषण स्तरको वृद्धि र ओजोन तह पातलिँदै जाँदा विश्वका सबै देशहरू वातावरणका बारेमा चिन्तित छन् । यो समस्यालाई गम्भीरतासाथ लिनुको कारण यही हो कि वातावरणीय गिरावटले मानवजातिको अस्तित्वलाई खतरामा पार्दछ । पहिले कसैलाई पनि वातावरणको ख्याल र चिन्ता गर्न जरुरी लागेन । मानिसहरू आफ्नो वरिपरिको वातावरणलाई ध्यान नदिई  लापरबाही गर्थे तर अब बढ्दो सचेतनाका साथ धेरै जना सतर्क भइसकेका छन् ।   आजको सबैभन्दा मुख्य वातावरणीय मुद्दा भनेको भूमण्डलीय उष्णता हो । भूमण्डलीय उष्णता भनेको पृथ्वीको तापक्रममा वृद्धि हुनु हो र यो सबै प्राकृतिक स्रोतको अत्यधिक प्रयोगका कारण भएको हो । यसले अन्य वातावरणीय मुद्दाहरूलाई निम्त्याउँछ, जस्तैः तापक्रमको वृद्धि, माटाको क्षरण र अम्लीय वर्षा । हामी सबै जान्दछौँ कि मानवले अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड फाल्छ । त्यस्तैगरी बोटबिरुवाले कार्बनडाइअक्साइड लिन्छन् र अक्सिजन दिन्छन् । वन फँडानीको कारण वातावरणमा रुख र बोटहरूको सङ्ख्यामा कमी आएको छ । त्यसकारण वातावरणमा कार्बनडाइअक्साइड लिने थोरै बोटबिरुवाहरू रहेका छन् । कार्बनडाइअक्साइड कारखानाबाट पनि वातावरणमा फैलिन्छ । अधिक कार्बनडाइअक्साइडले सास फेर्न र भविष्यमा अन्य समस्याहरू पनि  निम्त्याउन सक्छ ।   अत: अबदेखि मानिस आफैँ वातावरणको अवस्थाका बारे सतर्क हुनुपर्दछ । प्रकृति र मानव जातिलाई फाइदा पुर्‍याउने गतिविधिहरू सबैले गर्नुपर्छ । हामी सबैले आफ्नो वातावरण संरक्षण गरी सुरक्षित राख्नुपर्छ ।