Logo

Student Corner

खेलकुदको आवश्यकता

Written by: Aashrab Khanal - 22001, Grade XI

Posted on: 04 February, 2021

खेलकुद भनेको शारीरिक गतिविधि हुने एक किसिमको क्रियाकलाप  हो । खेलकुद एउटा शारीरिक व्यायामका रूपमा महत्त्वपूर्ण भएको कुरा हामी सबैलाई थाहा नै छ तर खेलकुदका अरू फाइदाहरू पनि रहेका छन् । खेलकुदले मानिसको व्यवहारदेखि लिएर कुनै ठाउँको संस्कृतिमा परिवर्तन ल्याउन सक्छ । खेलकुद भिन्न प्रकारको भए पनि यसले सबैलाई एउटै कुरा सिकाउँछ ।

 

खेलकुदले एउटा मानिसको व्यक्तित्वको विकासमा ठुलो भूमिका खेल्छ । यसले मानिसहरूमा सामूहिक सहकार्यको विकास गर्छ । धेरै खेलहरू समूहमा खेल्ने गरिन्छन् र विशेष गरेर ती खेलहरूमा २ पक्षहरूबिचमा प्रतिस्पर्धा हुन्छ । खेलकुदमा गर्ने प्रतिस्पर्धाले मानिसलाई जीवनमा गर्नु पर्ने  सङ्घर्षको पाठ सिकाउँछ । खेलकुदले हामीलाई सहकार्यको बाटो पनि देखाउँछ । आफू कुनै खेलकुदमा जति पनि राम्रो भए पनि एक्लैले खेल जित्न सम्भव हुँदैन । यो वास्तविकताले हामीलाई एकअर्कामाथि विश्वास गर्नुको अर्थ बुझाउँछ । खेलकुदले हामीलाई जीवनका धेरै नियमहरू सिकाउँछ । खेलमा आफ्नो परिश्रम र प्रतिभाबाट राम्रो गर्ने मान्छे अघि बढ्छ र परिश्रम नगर्ने मान्छे पछि पर्छ । हाम्रो वास्तविक जीवनमा पनि  यस्तै हुन्छ भन्ने कुरा सबैलाई  थाहा छ । मानव चरित्रको कुरामा खेलकुदले मानिसहरूमा निर्णय गर्ने सिप विकास गराउँछ । खेलको मञ्चमा एउटा खेलाडीको जीवन एउटा निर्णयले परिवर्तन गर्न सक्छ । खेलको अन्तिम मिनेटमा आफ्नो टिमलाई जिताउन एउटा बहुमूल्य अवसर लिन सक्नु एउटा खेलाडीको विशेषता हो । खेलकुदले हामीमा अनुशासनको पनि विकास गर्छ । अन्त्यमा गएर खेलकुदले एउटा व्यक्तिको आफू र आफ्नो जीवनप्रतिको दृष्टिकोणलाई परिवर्तन गरिदिन्छ ।

 

खेलकुद भनेको सबैका लागि महत्त्वपूर्ण हुन्छ । खेलकुदले  हाम्रो समाजलाई राम्रो बनाउने क्षमता राख्छ । खेलकुदबाट पाठ सिकेर राम्रो जीवन बाँच्नु हामी सबैको लक्ष्य हुनुपर्छ ।