Logo

Student Corner

अनियन्त्रित जनसङ्ख्या र बढ्दो सहरीकरण

Written by: Shruti Pokhrel - 21124, Grade XII

Posted on: 27 January, 2021

कुनै एउटा निश्चित ठाउँमा बस्ने मानिसहरूकाे विभिन्न समूहलाई जनसङ्ख्याको रूप दिन सकिन्छ तर जब चाहिनेभन्दा बढी जनसङ्ख्याले ठाउँ जमाएका छन् भने त्यसलाई अव्यवस्थित जनसङ्ख्या भनिन्छ । बढ्दो सहरीकरणले आजभोलि अव्यवस्थित जनसङ्ख्याको रूप लिएको पाइन्छ । हरेक भेगमा, हरेक प्रदेशमा असन्तुलित विकासका कारण पनि नेपालमा धेरैजसो मानिसहरू गुणस्तरीय जीवन जिउने आशाले यहाँ काठमाडौँ आउँदा यहाँको जनसङ्ख्या आजको दिनमा अव्यवस्थित नै छ ।

वास्तवमा भन्ने हो भने जबसम्म देशमा बराबर विकास हर भूभागमा हुँदैन; तबसम्म देशमा जनसङ्ख्यालाई व्यवस्थित गर्न सकिँदैन । जनसङ्ख्या अनियन्त्रित हुनुमा शिक्षाको; विशेष गरी जनसङ्ख्या र स्वास्थ्य शिक्षाको ठुलो आवश्यकता साथसाथै महत्त्व पनि रहेको छ । अविकसित र अत्यन्त पिछडिएका सुदुर पश्चिमतिरका जिल्लाहरूमा यिनै शिक्षाको अभावले गर्दा पनि त्यहाँ एउटै परिवारमा दसजनासम्म बच्चाहरू हुन्छन् । यसप्रकारले जनसङ्ख्या नियन्त्रणमा आँच आएको छ । त्यसैगरी अर्कातिर काठमाडौँमा मात्र धेरै अवसरहरू भएका कारणले मानिसहरू हरेक सर-सुविधा भनेर, जीविकोपार्जन गर्नका निमित्त साथै भविष्यका अनकौँ सपना लिएर अन्य जिल्लाहरूबाट आएका छन् । धेरैतिरको चाप एकै ठाउँमा हुँदा जनसङ्ख्या नियन्त्रण गर्न गाह्रो नपर्ला ? यता काठमाडौँमा धेरै जनसङ्ख्या अनि कर्णाली, हुम्ला, जुम्लामा चाहिँ आवश्यक पर्ने मानिसहरू पाउन पनि गाह्रो छ । कतै धेरै त कतै थोरै जनसङ्ख्या भएका कारण आज अनियन्त्रित  जनसङ्ख्या भएको हो ।  एउटै जिल्लामा मात्र सुविधा हुँदा मानिसहरू, को चाहिँ सहरमा आई सुविधामा रमाउन चाहँदैनन् र ? यसप्रकारले आजभोलिका दिनमा सहरीकरण बढ्दो रूपमा देखिन्छ ।  

सधैँ अनियन्त्रित जनसङ्ख्या र बढ्दो सहरीकरणले देशको उचित विकास कुनै हालतमा पनि सम्भव छैन । त्यसैकारण हरेक भेगमा उत्तिकै विकास हुन जरुरी छ । अब सुरु आफैँबाट गर्नुपर्दछ । अवसर सबैलाई प्रदान गर्नुपर्छ । देशको हरेक कुना कुनामा विकासको लहर ल्याउनु अत्यावश्यक छ अनि मात्र  जनसङ्ख्यालाई व्यवस्थित गर्न सकिन्छ र बढ्दो सहरीकरणलाई कम गर्न सकिन्छ ।