Logo

Student Corner

लकडाउनकाे अन्त्य, शिक्षाका नयाँ चुनाैती र अवसर

Written by: Aavash Dhakal - 21101, Grade XII

Posted on: 24 January, 2021

सन् २०१९ सालको डिसेम्बर महिनादेखि चीनको वुहान नामक ठाउँबाट कोरोना रोगको महामारीको सुरु भएको थियो र यसको असर पुरा विश्वभर भयो । यो महामारीले पुरै संसारमा चलिरहेको काम, शिक्षा र अरू धन्दामाथि रोक लगायो र सबैलाई घरमै बस्न बाध्य बनायो । यसले धेरै कुराहरूमा परिवर्तन गर्यो । संसारभर घरबाट काम गर्ने चलन सुरु भयो । शिक्षाका लागि घरबाटै विद्युतीय माध्यमबाट शिक्षा प्रदान गरिने काम सुरु भयो । नेपालका विद्यार्थीहरू यस अनलाइन वा विद्युतीय शिक्षामा त्यति अभ्यस्त थिएनन् तर पनि समय बित्दै जाँदा अहिले यी सबै कुराहरू साधारण भए । 

अहिले लगभग ९ महिनापछि कतिपय ठाउँमा विद्यालयको पुन: सुरुवात भयो । यो वास्तवमा एउटा राम्रो कुरो हाे तर यसमा केही चुनौतीहरू छन् । भर्खरै अनलाइन शिक्षाको माध्यमबाट शिक्षा लिँदै आएका विद्यार्थीले पुन: विद्यालय आएर पढ्नु पर्ने, यो एउटा चुनौतीको विषय भयो । कतिपय विद्यार्थीले विद्यालयको वातावरण नै बिर्सेका हुन्छन् । अल्छी मानी मानी विद्यालय आउनुपर्ने व्यवहार हामीले देख्न सक्छौँ । त्यसैले अहिले विद्यार्थीहरूलाई याे वातावरण र साथसाथै पुरानै भए पनि नयाँ कुराको अनुभव गर्न केही समयको आवश्यकता रहन्छ तर चुनौतीसँगै एउटा कुराको अवसर पनि देख्न सकिन्छ । यदि फेरि यस्तै महामारी वा अन्य कुनै कारणले विद्यालय बन्द भयो भने पुन: अनलाइन शिक्षाको वातावरणमा विद्यार्थीहरू आरामले बस्न सक्छन् । पुरानै वातावरणमा फेरि पढ्न पाउनुलाई पनि एउटा अवसरको रूपमा लिन सकिन्छ । अझ अब उनीहरू आफ्नो वातावारणप्रति सचेत रहन्छन् । यो एउटा नयाँ सुरुवात जस्तै हो । 

शिक्षाको कुनै अन्त्य हुँदैन, विद्यार्थीले जुनै पनि वातावरणमा शिक्षा आर्जन गर्न सक्छन् । त्यसैले अब हामी महामारीको कुरा छोडी भविष्य कसरी उज्यालो बनाउन सकिन्छ, त्यसमाथि ध्यान दिएर अघि बढ्नुपर्छ ।