Logo

Student Corner

चलचित्र समीक्षा: आदिकवि भानुभक्त आचार्य (१९९९)

Written by: Sinja Ghimire - 21125, Grade XII

Posted on: 21 January, 2021

लाकार - कमलमणि दिक्षित 

                बिक्की साह

                दिलिप रायमाझी

                सुवर्ण श्रेष्ठ

               अनिता सिलवाल

विधा    -    जीवनी

निर्देशक -  यादव खरेल

सारांशः 

चलचित्र ‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ, जसमा नेपाली नायक दिलिप रायमाझीले उत्कृष्टसँग भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा आदिकवि भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको छ । भानुभक्तले कसरी घाँसीबाट प्रेरणा लिएर राष्ट्रप्रेमको भावना लिई समाजलाई मद्दत हुने हिसाबले साहित्यको सिर्जना गरी नेपाली भाषामा ‘रामायण’ र अन्य कृतिहरू पनि रचना गरे भन्ने कुरा यसमा देखाइएकाे छ ।

पुनरावलोकनः

चलचित्रको सुरुवातमा कविलाई आफ्ना हजुरबाले आफ्नो तनहुँको घरमा अक्षराम्भ गराएका थिए । भानुभक्तका बुवा धनन्जय आचार्य एक सरकारी अधिकारी थिए । वि. सं. १८१४ सालमा उनले गरेको भविष्यवाणी साँचो भएर आएको कुराले पाल्पा गौँडाका राजा निकै खुसी थिए । भानुभक्तलाई आफ्ना बाबुबाजेले मार्कण्डेय पुराणको रचनाका बारेमा जानकारी गराए । त्यसपछि उनलाई पृथ्वीलाई संस्कृत भाषामा ३३ वटा नामले जनाउन सकिन्छ भन्ने कुरा पनि सिकाए । भानुभक्त दैनिक सरस्वती माताको आराधना गर्थे र सरस्वती माता आफैँ आएर उनलाई आशीर्वाद पनि दिइन् । उनी आफ्ना साथीहरूसँग मिल्थे र आफ्ना साथीहरूले दिएका चुनौतीहरूकाे सामना पनि गर्थे । उनका एक साथी चिबेले उनलाई गाईको नामलाई श्लोक हाल्ने चुनौती दिए । उनले त्यो  चुनौती सजिलैसँग पुरा गरे । उनले गणेश चतुर्थीमा गणेशलाई चढाउने फूलहरूको श्लोक हालेर आफ्ना हजुरबालाई सुनाए, जसले उनका हजुरबा धेरै नै प्रसन्न भएर भानुभक्तलाई कविता लेख्न कहिल्यै नछोड्नू भन्ने ज्ञान दिए । त्यसपछि उनको व्रतबन्ध पनि भयो र उनलाई ज्योतिष विद्या पढाउन भनेर काशी पठाइयो । उनको सानै उमेरमा मनुङ्ग गाउँकी केटीसँग विवाह भयो ।

समय बित्दै गयो र हजुरबाले भानुभक्तलाई अझ विद्या पढाउन बनारस लैजाने योजना बनाए । त्यहाँ उनी दिउँसो दिउँसो पाठशाला जाने र साझा बिहान विद्वानहरूसँग अझ अरू नयाँ नयाँ ज्ञानहरू लिने गर्थे र आफ्ना हजुरबाको हेरचाह गर्थे । बनारसमै रहँदा उनका हजुरबाको निधन भयो, जसले उनी निकै दुखी भए तर पनि उनी पुरा पढाइ नसकी गाउँ नफर्कने निर्णय गरे । बनारसबाट फर्केर उनले एउटा सप्ताहमा पुराण पनि पढे l सप्ताहको सातौँ दिन भानुभक्तले बालुन नाची रामायणको श्लोक पनि गाए ।

अझै समय बित्दै गयो र  भानुभक्तको भेट एउटा घाँसीसँग भयो । त्यहाँ उनको र घाँसीको धेरै कुरा भयो ।  भानुभक्तले घाँसीलाई एउटा प्रश्न गरे, “तिमीले कमाएको धन केमा लगायौ ?” र घाँसीले भन्यो, “मैले गाउँमा एउटा कुवा खनेँ, ताकि बाटामा हिँडेका मान्छेले गर्मीमा त्यहाँबाट पानी खान सकून् ।” भानुभक्तले यो उत्तर सुनेपछि उनी प्रेरित भए । उनले अनि सोचे, यो दरिद्र घाँसीले समाजका लागि कुवा बनाएर नाम कमायो तर म यति धनी भएर पनि समाजका लागि केही गरेको छैन, धिक्कार छ मलाई ! उनले त्यसपछि रामायण नेपालीमा लेख्ने कामकाे सुरुवात गरे । 

उनले आफ्ना हजुरबाको शब्द याद गरेर अन्य कृति संस्कृतबाट नेपलीमा अनुवाद गरे । उनले त्यसपछि रम्घामै बसेर रामायणको बालकाण्ड नेपाली भाषामा पूर्ण गरे । उनी गजाधर सोतीको घरमा एक रात बास बस्न जाँदा गजाधरकी स्वास्नीले उनलाई धपाइन् । चलचित्र अघि जाँदै गर्दा उनलाई आफ्ना बाबुको समयमै अड्डाको कामकाजको लागि लिएको पैसो समयमा नतिरेर कारागारमा थुनियो । उनी कारागारमै रहँदा उनले अध्यात्म्य रामायणलाई नेपाली भाषामा लेख्न सुरु गरे । उनले कारागारमै रहँदा अयोध्याकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड लेखेर सिध्याए । उनले पछि आफ्नो ८ वर्षीय छोराको व्रतबन्धका लागि कारागारबाट छुटेर गरे र उनलाई त्यसपछि बिसन्चो भयो । उनले रम्घामै भक्तमालाको पनि नेपाली भाषामै रचना गरे । उनले यसै गरी युद्धकाण्ड पनि सके । उनी फेरि गजाधरको घरमा वास बस्दा सासु बुहारीको झगडा देखे । त्यसपछि उनले वधुशिक्षा पनि रचना गरे । त्यसपछि उनलाई कलज्वरोले सतायो र त्यो दिन प्रतिदिन बिग्रिँदै गयो ।  उनको अन्तिम कृति ‘गीता’ उनका छोराले पुरा गरे । त्यसपछि उनलाई सतीघाट लगियो र उनले आफ्नो अन्तिम सास लिए । 

यो चलचित्र आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ, त्यसैले अवश्य पनि हामीले यसबाट धेरै प्रेरणा लिन सक्छौँ । त्यसैले यो चलचित्र सबैले एक चोटि हेर्नैपर्छ ।