Logo

Student Corner

तालिबान र अफगानिस्तानको इतिहास

Written by: Anil Banjade - 21103, Grade XII

Posted on: 19 January, 2021

बेलायतले भारतलाई सफलतापूर्वक नियन्त्रण गरेपछि ऊ अफगानिस्तानमाथि  नियन्त्रण गर्न चाहन्थ्यो । बेलायत र अफगानिस्तानबिच २ ओटा एङ्ग्लाे युद्ध भए तर बेलायतले पहिलो विश्वयुद्ध समाप्त भएपछि अफगानिस्तान छाड्यो । अफगानिस्तानमा राजतन्त्र सुरु भयो ।  जाहिर शाहले सन् १९७३ सम्म ४० वर्ष लामो शासन गरे । मोहम्मद दाउद खान (जाहेर शाहका भाइ) ले सरकार पल्टाए र पिडिपिए (पिपुल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तान) को समर्थनमा आफ्नो शासन सुरु गरे ।

पिडिपिएले सकारात्मक परिवर्तन ल्याउन कोसिस गर्‍यो तर अफगानिस्तानका जनताले त्यो मन पराएनन् । सोभियत सङ्घले पिडिपिएलाई समर्थन गर्‍यो जसले गर्दा अफगान-सोभियत युद्ध सुरु भयो । अमेरिकाले अफगानिस्तानी मानिसहरूलाई सहयोग गर्न थाल्यो ।  उनीहरूले आर्थिक रकम र सैन्य कोष प्रदान गर्न थाले । अमेरिकाले  करिब १ लाख मुझाहिदिन्सहरूलाई प्रशिक्षण दियो । अमेरिकाले पाकिस्तानमार्फत् हतियार अफगानिस्तानमा पठाउन थाल्यो । अमेरिकी सरकारले १९७९ देखि १९८९ सम्ममा २० बिलियन डलर अफगानिस्तानमा खर्च गर्यो । सोभियत सङ्घले हराउन नसक्ने भएपछि १९८९ मा फिर्ता गयो र सोभियत-अफगान युद्ध समाप्त भयो । 

जब सोभियत सङ्घ अफगानिस्तानबाट फर्कियो, अमेरिकाले मुझाहिदिन्सहरूलाई सहयोग गर्न बन्द गर्यो । त्यसपछि मुझाहिदिन्सहरू अमेरिकाविरूद्ध जान थाले । मुझाहिदिन्सहरूसँग हतियार तथा पैसाको केही कमी थिएन । उनीहरूले गृहयुद्ध प्रारम्भ गरे । सन् १९९२ मा अफगानिस्तानले "इस्लामिक राज्य" को  मान्यता प्राप्त गर्यो । त्यसकाे दुई वर्षपछि सन् १९९४ मा तालिबान गठन भयो । त्यसको दुई वर्षभित्र तालिबानले  सम्पूर्ण अफगानिस्तानमा नियन्त्रण गर्यो । सन् २००१ मा ओसामा बिन लादेनले सेप्टेम्बर ११ मा "ट्विन टावर" मा  हमला गरेपछि जर्ज डब्ल्यु बुसको योजनाअनुसार नाटोको सहयोगमा अमेरिकाले अफगानिस्तानमा सैनिक पठायो । करिब १ लाखभन्दा बढी सेना अफगानिस्तानमा परिचालन गरियो । 

तालिबानले आफूले नियन्त्रण गरेका सहरहरू गुमाउनु परे पनि अमेरिकाले तालिबानलाई हराउन भने कहिले पनि सकेन । २०१४ देखि अमेरिकाले सैन्य कारबाही रोकेको छ तर आफ्नो सेना भने फिर्ता लग्न सकेको छैन । अमेरिका र तालिवानबिच शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ र केही कुरामा वार्ता चलिरहेको अवस्थामा अमेरिकाको सरकार परिवर्तनले के-कस्तो प्रभाव पार्छ भन्ने भोलिका दिनले नै देखाउने छ ।