Logo

Student Corner

बालबालिकामा परेकाे असर

Written by: Manisha Gurung - 22030, Grade XI

Posted on: 14 January, 2021

सामान्यतया १८ वर्षमुनिकाे उमेरका व्यक्तिलाई बालबालिका भन्ने गरिन्छ । बालबालिका भनेका कलिला माटा हुन्, जस्ताे आकार दियाे त्यस्तै बन्छन् भन्ने भनाइ कयाैँ पटक सुनेका यी मेरा कानहरूले र अरू उमेरकाले भन्दा बाेलेका, सुनेका र देखेका कुराहरू छिट्टै सिकाे गर्छन् भन्ने अनुभव गरेकाे याे मेराे मनले मेराे वरिपरि देखिने साँचा दृश्यहरूलाई नकार्न धेरै प्रयत्न गरिरहेका हुन्छन् ।

 बाटाे हिँड्दा नियालेर हेर्दा कलिला हातहरूले कलम समाउने ठाउँमा चुराेटकाे खिल्ली समाएकाे देख्छु । सभ्य र सत्य शब्द निस्किनुपर्ने ती मुखबाट सुन्न नसकिने शब्दहरू निस्किरहेका हुन्छन्, अनि साेच्न बाध्य हुन्छु उसकाे परिवार र समाजबारे ।

 हामीले बालबालिकासँग बसेर के हेरिरहेका छौँ, के बाेलिरहेका छौँ र के गरिरहेका छौँ भन्ने कुराले धेरै अन्तर ल्याउँछ । कृपया याद गर्नुहाेस्, कतै हामीले साना बालबालिका नै त हुन् भनेर नराम्रा शब्द त प्रयाेग गरिरहेका छैनौँ ? कतै हामीले के बुझ्छन् र यिनीहरूले भनेर कसैलाई रुष्ट व्यवहार त देखाइरहेका छैनौँ ? पारिवारिक झगडा, नराम्राे विचार, स्वार्थीपन र आफूले देखाउने व्यवहारबाट बालबालिकालाई कतै नराम्रो असर त परेकाे छैन ?

एक बालक/बालिकाबाट हामीले उसकाे परिचय मात्र हाेइन, उसकाे पारिवारिक चरित्रकाे पनि अनुमान लगाउन सक्छौँ । घरमा नराम्रो शब्दले गाली गरेर मान्छेकाे अगाडि आइस्याेस र हजुरकाे प्रयाेग गरेर के फाइदा ? आफूले खराब व्यवहार अरूलाई देखाएर तिमी असल बन्नुपर्छ बाबु भन्नुकाे के औचित्य ? अनि आफूले आदर नगरी ठुलालाई आदर सम्मान गर्नुपर्छ भन्नुकाे के मूल्य ?

 हाम्राे नेपाली समाजमा एउटा सदियाैँ पुरानाे चलन बसेकाे छ, एक घरका अभिभावक अर्काे घरका बालबच्चासँग आफ्ना नानीबाबुकाे तुलना गर्छन् । बिहान भर्खर हरि दाइ फलानाका छाेराछाेरीजस्तो गर्नुपर्छ, तैँले त केही गर्न सक्दैनस् भन्दै हुनुहुन्थ्यो तर याे त केबल एउटा उदाहरण मात्र हाे । साँच्चै भन्नुपर्दा याे सबै बालबालिकाहरूकाे कथा र व्यथा हाे । अभिभावकज्यू, सबै बालबालिका आफ्नाे हिसाबले छुट्टै र भिन्न साेचका हुन्छन् के साँच्चिकै एकअर्कामा तुलना गर्न मिल्छ त ?

 अरूकाे देखासिकी गर्ने बानीले याे समयमा पनि कतिपय बालबालिका आफूले चाहेकाे पढ्न र गर्न पाइरहेका छैनन् । खाेज्ने हाे भने अझै पाइन्छन् त्यस्ता व्यक्तिहरू जसले आफ्नाे रुचि छाडेर अभिभावककाे कर र डरले अर्काे क्षेत्र चुनेका छन् । अनि कहाँबाट हुन्छ त परिवर्तन र विकासकाे सुरुवात, जब कि त्यो क्षेत्रमा आफ्नाे रुचि नै हुँदैन ।

 यी कुराहरू तिता छन् तर नियालेर हेर्नुस्, सत्यताकाे खानी पनि यिनैभित्र लुकेको छ, तिताे सत्य जसरी ।