Logo

Student Corner

सामाजिक समस्या

Written by: Ishu Siwakoti - 22009, Grade XI

Posted on: 11 January, 2021

नेपाल बहुसांस्कृतिक देश हो । बहुसांस्कृतिक देश हुनाले यहाँ विविन्न खालका मानिसहरूको बसोबास छ । विविन्न मानिसहरू एउटै समाजमा बस्दा कहिलेकाहीँ झैझगडा हुन सक्छ । समाजमा हुने यस्ता समस्यालाई नै हामी सामाजिक समस्या भन्छौँ । आजको एक्काइसौँ शताब्दीमा सामाजिक समस्याहरू बढ्दै गइरहेका देखिन्छन् । नारीमाथि अत्याचार, हत्या र हिंसा, भेदभाव, दाइजो प्रथा,नेपाली चेलीबेटीको बेचबिखन, छुवाछुत, अन्धविश्वास आदि सबै सामाजिक समस्या हुन् । यस्तै समस्याहरूले गर्दा आजभोलि युवा मृत्युदर तीव्र गतिमा बढ्दै गएको पाइन्छ । 

ती समस्याहरूमध्ये पहिलो  भनेको अन्धविश्वास हो । यो समस्या धेरै जस्तो गाउँघरतिर पाइन्छ । गाउँमा एउटा मान्छे वा बच्चा रोगको सिकार भयो भने मानिसहरू उसलाई डाक्टरकहाँ लग्नुको सट्टा उपचारका लागि धामीझाँक्रीकहाँ लग्छन् । डाक्टरमा विश्वास गर्नुको बदलामा धामीझाँक्रीकहाँ लाने गरेकाले हरेक वर्ष गाउँमा धेरै मान्छेको मृत्यु भएको खबर सुनिन्छ । त्यसै री हिँड्दा हिँड्दै कालो बिरालोले बाटो काट्यो भने अलच्छिन लग्छ भन्ने सोच धेरै मानिसको मस्तिस्कमा छ । यस्ता नचाहिने सोचले गर्दा हाम्रो देश विकासमा पछि परेको छ । त्यसैले देश विकास गर्नु छ भने पहिले यस्तो सोच सबै मानिसको दिमागबाट निकाल्नु एकदम आवश्यक छ । 

भ्रष्टाचार पनि  एउटा सामाजिक महारोग हो । यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्न सक्दै सक्दैन । सामान्य रूपमा भ्रष्टाचार भनेको घुस लिने वा दिने काम हो । याे समाजमा भ्रष्टाचारीको कारणले राम्रो र ज्ञानी विधार्थीको भर्ना भइरहेको छैन तर मुर्खहरूको भर्ना घुस दिएर भइरहेको छ । आज नेताहरूले भ्रष्टाचार गरेको कारणले देश पछाडि पर्छ र विकास पनि भइरहेको छैन । धनी मान्छे नै अहिले अगाडि हुन्छन् र विभिन्न नराम्रा काम घुस दिएर गराउँछन् । आजको दुनियाँमा थोरै मान्छेहरू राम्रा हुन्छन् तर धेरै मान्छे भ्रष्टाचारतर्फ लागेका हुन्छन् । पैसा कमाउनका लागि भ्रष्टाचार आजकल बढ्दै  गइरहेको छ । यो हाम्रो समाजको एक जटिल समस्या हो । यसलाई काबुमा राख्नका लागि समाजले भ्रष्टाचारीलाई महत्त्वपूर्ण पाठ पढाउनुपर्छ । 

अहिले समाजमा मानिसहरू सानालाई जात तथा धर्मका नाममा भेदभाव गर्ने र हेप्ने गर्छन् । साना अर्थात्  तल्लो जतिका मानिसलाई काम पनि दिँदैनन् । उदाहरणका लागि हाम्रो पाल्पामा विभिन्न जातजातिका मानिसहरूको बसोबास छ तर अझै धेरै मानिस नराम्रो सोच लिएर बसेका छन् । उनीहरूको आफ्नो काम  बिग्रियो भने अरूमाथि दोष दिने गर्छन् र जथाभावी नचाहिने कुरामा वादविवाद गर्न थाल्छन्ख। यही कारणले समाजमा विभिन्न  समस्याहरू सिर्जना हुन्छन् । कहिले पैसा चोरेको कारणले झगडा गर्छन्, कहिले उट्पट्याङ गर्ने गर्छन् । यसै कारणले हाम्रो समाजको उन्नति भइरहेको छैन । हाम्रो समाज विभिन्न राम्रा कामका लागि चिनिन्छ तर एउटा नराम्रो कामको कारणले समाजलाई कसैले मन पराउँदैनन् । त्यसै कारणले यदि हामीले कडा नियम र कानुन बनायाैँ भने हाम्रो समाज अगाडि बढ्न सक्छ र सगरमाथा झैँ उच्च नाम कमाउन सक्छ ।  

हामी सबै देशका र समाजका सच्चा नागरिक हौँ भने यस्ता समस्यालाई मिलिजुली सुल्झाउनुपर्छ । यदि यस्तो भयो भने हाम्रो समाज पक्कै अगाडि बढ्न सक्छ र विकास पनि हुन सक्छ । सुरुमा मानिसले आफ्नो भलो मात्र नसोचेर अर्काको बारेमा पनि सोच्नुपर्छ भन्ने कुरा थाहा हुनुपर्छ । यो संसारको कुनै पनि इच्छा  र चाहनालाई एकताले पुरा गर्न सकिन्छ । यदि हामीले एकतावद्ध भएर काम  गर्याैँ भने सामाजिक समस्याको अन्त्य हुने छ र समाजको विकास हुने छ।