Logo

Student Corner

वातावरणीय शिक्षा

Written by: Pratik Kharel - 21131, Grade XII

Posted on: 23 December, 2020

मानिस तथा सम्पूर्ण जीवित प्राणीहरूले प्रकृतिमा रहेका स्रोत र साधना उपयोग गरेर आफ्नो जीवन निर्वाह गरेका हुन्छन् । जीवन निर्वाह गर्ने क्रममा आफ्नै समुदाय तथा प्राकृतिक वातावरणसँग निकटतम सम्बन्ध रहिआएको वातावरणीय शिक्षाले प्राणी समुदायबिचको अन्तरसम्बन्ध र वातावरणीय सम्बन्धलाई प्रस्ट्याउँछ । यस प्रकारको सम्बन्धले कसरी वातावरणलाई सफा राखिराख्ने र कसरी आफ्नो अस्तित्वलाई कायम राख्ने भन्नेजस्ता कुरालाई उजागर गर्दछ ।

मानिसलगायतका जीवजन्तुहरूको अस्तित्व कायम राख्नका लागि वातावरण संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो । यस कार्यका लागि मानिसमा वातावरण र यसको संरक्षणका उपायहरूबारे ज्ञान, सिप र धारणाको विकास हुनुपर्दछ । वातावरणीय शिक्षाकाे कार्य वातावरणका विभिन्न पक्षहरूको ज्ञान प्राप्त गरी तिनको उचित उपयोग र संरक्षण तथा संवर्धन गर्न सक्षम तुल्याउनु हो अर्थात् वातावरणीय वस्तुहरूको उपयोगका साथै संरक्षणका कार्यहरू पनि गर्दै जानु हो । वातावरणीय शिक्षाले संरक्षणका आधारभूत सिद्धान्तहरूको ज्ञान दिन्छ जसले गर्दा वातावरणीय शिक्षाको महत्त्व बढेको छ । निम्नलिखित बुँदाहरूले वातावरणीय शिक्षाको महत्त्वलाई प्रस्ट पार्दछन्, : 

१) यसले पृथ्वीको बारेमा समष्टिगत ज्ञान प्रदान गराउने काम गर्दछ। आफ्नो वरिपरि रहेका प्राकृत्रिक एवम् कृतिम वस्तुहरू र तिनको अन्तरक्रियाबाट सिर्जित परिवेश तथा जीवजन्तुलाई पार्ने प्रभावजस्ता सबै भौतिक वस्तुबारे जानकारी गराउँछ ।

२) यसले मानिस र प्रकृतिबिचको सम्बन्धलाई प्रगाढ पार्नमा सहयोग पुर्याउँछ । 

३) यसले मानिसको आफ्नो शरीरदेखि घर, परिवार, विद्यालय, सहर तथा गाउँकाे सेरोफेरोबारे जानकारी दिनुका साथै जीवजन्तु र वनस्पतिको प्रयोगदेखि पेसा व्यवसाय, खानेबस्ने ठाउँ, आकाश, पृथ्वी, पानी आदिसम्बन्धी भौतिक वातावरणको व्यापक सम्बन्ध र क्रियाकलापलाई प्रस्ट्याउँछ ।

४) प्रकृतिमा भएको व्यवस्था र मानव क्रियाकलापको सकारात्मक एवम् नकारात्मक प्रभावको साथै सम्पूर्ण जीवित वस्तुको एकआपसी निर्भरताजस्ता कुराहरूको रहस्योद्घाटन गरी वातावरण सन्तुलन राख्नका लागि सचेतता जगाउँछ । 

५) प्रकृतिप्रेमी, आपसी समझदारी र मानव कल्याणकारी गुणहरूको विकास गराउनमा सहयोग गर्छ । 

६) पृथ्वीलाई विश्वस्तरदेखि स्थानीय स्तरसम्म हेर्ने दृष्टिकोण प्रदान गरी मानवीय एकता र भाइचाराको भावना जगाउँछ। 

७) आफ्नो वरपर रहेको वातावरणको सदुपयोग गर्न सिकाउनुका साथै मानवीय

जीवनलाई सुखी बनाउनेजस्ता सिपहरूको विकास गर्नमा पनि सहयोग गर्छ । 

८) प्राकृतिक वस्तुहरूप्रति मानवीय मूल्य जगाउनमा सहयोग गर्छ ।

९) प्राकृतिक वस्तु एवम् व्यवस्थाप्रति मानव समुदायले गर्ने व्यवहारमा सुधारात्मक परिवर्तन ल्याउन सघाउँछ । 

१०) दिगो विकासको अवधारणालाई अघि बढाई भावी पिढीका लागि स्वच्छ

पृथ्वी हस्तान्तरण गर्ने जिम्मेवारी बहन गर्न सक्षम बनाउँछ ।