Logo

Student Corner

मोबाइल फोन

Written by: Princy Jaiswal - 21116, Grade XII

Posted on: 22 December, 2020

एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । आजभोलिको समयमा कम्प्युटर, मोबाइल, इन्टरनेटजस्ता सूचना प्रविधिका साधनको प्रयोग बढ्दै गएको छ । तीमध्ये आधुनिक मोडेल र मूल्यअनुसार सुविधाको समेत विविधता रहेकाे मोबाइल फोन त्यस्तो वैज्ञानिक उपकरण हो जसलाई यात्रा, बैठक, भान्सा, चियापानलगायत देश विदेशको समाचार, गीतसङ्गीतको भिडियो खिच्न तथा कम्प्युटर इन्टरनेट सम्बन्धी काम गर्नमा प्रयाेग गर्न सकिन्छ । 

आजका युवाका साथै सबै उमेर समूहका मानिसबिच याे प्रिय छ, त्यसैले यसको प्रयोग आजको समयमा अति बढ्दो छ । मोबाइल फोनले आजको व्यस्त दुनियाँलाई विभिन्न कार्यको सम्पादनका लागि सहजता प्रदान गरेको छ । मोबाइल फोन धेरैजसो ठाउँमा प्रयोग हुन थालेको छ । व्यापारीले आफ्नो व्यापारिक प्रयोजनका लागि, अस्पतालमा कुनै डाक्टर हुनुहुन्छ कि हुनुहुन्न भनेर वा एम्बुलेन्स बोलाउन, आपतको या सहजताको सूचना आदानप्रदान गर्न यसले शैक्षिक चेतना पनि उत्तिकै बढाएको छ । यसको प्रयोग सत्तरी वर्षसम्म निरक्षर रहनुभएका धेरै हजुरबुबा हजुरआमाहरूदेखि अहिलेका युवा र बच्चाहरूले पनि गर्न थालेका छन् । आज मोबाइल हातमा भएपछि संसारमा भएका राजनीतिक, वैज्ञानिक कुराका बारेमा जान्न सकिन्छ । यसको प्रयोगले समाजमा अपराध पनि फैलिएकाे छ । केही व्यक्तिहरूले गलत नियतले व्यक्तिहरूका विभिन्न तस्विरहरू सिर्जना गर्दै र तिनीहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै छन् । यति मात्र नभएर मोबाइलको अत्यधिक प्रयोग गर्दा अन्य समस्याहरू पनि बढेका छन् । बच्चाहरू पढ्न तथा सिर्जना गर्न नसक्ने हुने, समयमै ननिदाउने र लामो समयसम्म मोबाइल फोनको प्रयोग गर्दै शारीरिक रूपमा अस्वस्थ रहने, परिवार र आफन्तहरूसँग कुराकानी गर्न नखाेज्नेजस्ता समस्याहरूलाई यसकाे उदाहरणका रूपमा लिन सकिन्छ । 

एक्काइसौँ शताब्दीका व्यक्तिहरू केही समयका लागि भोक खप्न सक्छन् तर तिनीहरू मोबाइल फोन र अन्य सञ्चारबिना बाँच्न सक्दैनन् । कुनै कुरा आफैँमा राम्रो र नराम्रो हुँदैन । यो व्यक्ति र उसको प्रयोगको व्यवहारमा निर्भर गर्दछ । माेबाइल बढी चलाउने व्यक्तिमा एक्लै कोठामा बस्न बढी रुचाउने, सानातिना कुरामा अनावश्यक रिसाउने, झर्कने वा जिद्दी स्वभावको विकास हुने, समयमा आफ्ना कार्यकलाप गर्न नभ्याउनेजस्ता समस्या देखिन्छन् । त्यसर्थ आजको समयमा युवावर्गले मोबाइल फोन प्रयाेग गर्दा सचेत हुनुपर्ने देखिन्छ ।