Logo

Student Corner

जैव विविधता

Written by: Arya Tharu - २०२२००६, Grade XI

Posted on: 16 December, 2020

जैव विविधता भन्नाले जीवहरूको भिन्नतालाई बुझिन्छ । पृथ्वीमा हामीले विभिन्न किसिमका जनावर, पक्षी, ससाना किराफट्याङ्ग्रा, रुखबिरुवा तथा धेरै जीवहरू देख्न पाउँछौँ । हाम्रो देश नेपाल पनि जैव विविधतामा धनी देश हो । नेपाल आकारमा सानो भए पनि जैव विविधतामा धेरै नै धनी छ ।

नेपाल क्षेत्रफल विश्वको क्षेत्रफलकाे ०.१ प्रतिशत भए पनि यहाँ विश्वका १.१ प्रतिशत वनस्पतिहरू र जीवहरूको रहेका छन् । नेपालमा ३७० प्रजातिका बोट, ८३६ प्रजातिका चराहरू, १४७ प्रजातिका सरीसृपहरू, १८० प्रजातिका ताजा पानीका माछा र अरू धेरै प्रजातिका जीवहरू बसोबास गर्छन् । नेपालका तराई, पहाड र हिमालमा छुट्टा छुट्टै विविधता छन् । नेपालमा धेरै दुर्लभ जीवहरू पनि पाइन्छन्, जस्तैः एकसिङे गैँडा, काँडे भ्याकुर, एसियाली हात्ती आदि। यिनले गर्दा नेपालकाे प्राकृतिक सुन्दरता थप बढेकाे छ । 

पारिस्थितिक प्रणालीका लागि पनि जैव विविधताको महत्त्व छ । मानिसहरू पनि जैव विविधतामा निर्भर छन् । उदाहरणका लागि मानिसहरूलाई बाँच्नका लागि खाना चाहिन्छ, जुन हामी अन्य जनावर र बोटबिरुवाबाट लिन्छौँ । जैव विविधताले हामीलाई शुद्ध हावा, पानी, आदि दिन्छ र मानिसको स्वास्थ्य पनि राम्रो हुन्छ । यसले पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । पर्यटकहरू आउँदा हुने आम्दानीले देशको अर्थव्यवस्थालाई पनि बलियो बनाँउछ र विदेशी मुद्रा आर्जन गर्न मद्दत गर्छ ।

मानव गतिविधिहरूका कारण नेपालका केही जीवहरू विलुप्त भइरहेका छन् । बढ्दाे प्रदूषणले गर्दा सुन्दर हिमाल, पहाड र तराई नराम्रा देखिन थालेका छन् । अत्यधिक जनसङ्ख्याका कारण भएकाे वन फँडानीले गर्दा जैव विविधता लुप्त भइरहेको छ । हामीले यसलाई बचाउनका लागि मानिसहरूलाई यसको महत्त्वका बारेमा चेतना दिनुपर्दछ किनभने यो हाम्रो देशको बहुमुल्य धन हो ।

सन्दर्भ सामग्रीः

शर्मा पाैडेल एम. आर. र अन्य (वि. सं. २०७५), स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा कक्षा १०, काठमाडाैँ, सञ्जीवनी प्रकाशन ।