Logo

Student Corner

१०० रुपैयाँको चुरोट

Written by: Biraj Bikram Sahi - 21107, Grade XII

Posted on: 24 November, 2020

हाम्रो देशमा गाडी र कारखानाको भन्दा चुरोटको धुवाँ धेरै छ जस्तो लाग्छ मलाई । सबैजना जो चुरोटको नशामा परेका छन् ती सबै पीडितहरू हुन् । एक बट्टा चुरोटको १०० रुपैयाँ भनेको खानलाई चार प्याकेट चाउचाउ र पिउने पानी, टाउको दुखेको बेला औषधी र लगाउनलाई धुलोबाट बचाउने मास्क हो । यदि त्यो १०० रुपैयाँले यी कुरा उपलब्ध गराउन सक्छ भने किन १०० रुपैयाँ चुरोटमा खर्च गर्ने ? चुरोट भनेको हत्यारा हो । धेरै समय भइसक्यो चुरोटको प्याकेटमा चुरोटले गर्दा बिग्रेको फोक्सोको तस्बिर छ तर ती पीडितहरूले त्यो तस्बिर निकालेर फाल्छन् र  हामीलाई त्यसपछि केही हुँदैन भन्छन् तर हुने कुरा भइसक्छ । चुरोट तान्नेहरू हरेक दिन १०० रुपैयाँ चुरोटमा फाल्न सक्छन् भने आफ्नो देशका गरिबहरूलाई ५ रुपैयाँ दिन सक्दैनन् । सबै देशमा सार्वजनिक ठाउँहरूमा धुमपान निषेध गरिएको छ तर पनि घरमा छोराछोरी वा घरका अरू सदस्यको अगाडि चुरोट तान्दा चुरोट तान्नेलाईभन्दा त्यो पछि फालिएको धुँवाले घरका अन्य सदस्यहरूलाई धेरै असर पार्दछ । चुरोट खाएर त्यो व्यक्तिले आफ्नो मात्र नभएर अरूको पनि आयु घटाउँछ । 

मलाई लाग्छ, चुरोट खान सिक्ने काम कि साथीहरूबाट सुरु हुन्छ कि धेरै नै तनाबबाट सुरु हुन्छ । साथीहरूले देखावटका लागि खाएर अर्को साथीलाई खा भन्छन् वा मान्छेहरूले तनाबबाट मुक्त हुन आफैँ चुरोट खान्छन् । उनीहरूलाई त्यति बेला त मज्जा आउँछ होला तर त्यसपछिको कुरा के हुन्छ भन्ने उनीहरू सोच्दैनन् । सबै जनाको आफ्नो समस्या हुन्छ तर समस्या छ भनेर वा साथीको लहलहैमा लागेर चुरोट खाने मानिसलाई कारबाही गर्नुपर्छ । यदि ती पीडितलाई चाँडै स्वर्ग जानु छ भने अरूलाई हानी नहुने गरी खाउन् तर खानेको दिमागमा म आफू मर्छु भने अरूलाई पनि आफूसँगै लग्छु भन्ने साेचाइ हुन्छ कि जस्ताे मलाई लाग्छ । यदि त्यस्तो होइन भने ती पीडितहरूले चुरोट खान छोडिदिनुपर्ने हो । बजारमा चुरोटको नशा हटाउन निकोटेक्स भन्ने चुइङगम, भेपलगायतका कुराहरू निस्केका छन् तर मैले अहिलेसम्म यसकाे उपयुक्त रूपमा प्रयोग भएको देखेको छैनँ ।

मानिसलाई मृत्युकाे मुखमा धकेल्ने चुराेटमा दैनिक १०० रुपैयाँ खर्च गर्नुभन्दा जीवन बचाउने कार्यमा उक्त पैसा लगाउन सके सबै दृष्टिकाेणबाट व्यक्ति बुद्धिमान ठहरिन्छ ।