Logo

Student Corner

यात्रा स्मरण

Written by: Safal Gautam - 2022016, Grade XI

Posted on: 22 November, 2020

जनवरी ११, २०१९  मेरो जीवनको एक धेरै सम्झनायोग्य अध्यायको सुरुवात थियो। यो दिन हाम्रो विद्यालयले कक्षा ९ का विद्यार्थीहरूलाई भारत भ्रमण गराउने सुरुवात गरेको थियो। तिन महिना अगाडिदेखि नै सबै कक्षा ९ का विद्यार्थीहरूको मुखबाट यही भ्रमणको मात्र कुरा भइरहेको थियो । 

भ्रमणकाे दिन हामी ४५ जना विद्यार्थीहरू र चार जना शिक्षकहरू भेला भयौँ ।

बिहान ६ बजे पौष महिनाको चिसो हावाले सबै थुरथुर काप्दै हामी तातो चिया पिइरहेका थियौँ । केही समयपछि हामी टुरिष्ट बस चढेर भैरहवातिर लाग्यौँ । आआफ्नै समूहअनुसार बसेर साथीहरूसँग गीत गाउँदै, हाँस्दै र शिक्षकहरूसित जिस्कदै लगभग ११ घन्टामा हामी  त्यो दिनको आफ्नो बसाइमा आइपुग्यौँ । आआफ्नो कोठामा तिन जनाको समूह बनाएर हामी साथीभाइ पन्ध्र मिनेटपछि विश्राम गर्न गयौँ । केही समयपश्चात् सबै भेला भएर खाना खायौँ र त्यो दिनको समीक्षा गर्‍यौँ । बसमा ३-४ घन्टा सुतेपछि बेलुकी राति १ बजे मात्र निद्रा आयो । 

भोलिपल्ट नजिकैको फ्याक्ट्रीमा गयौँ । फ्याक्ट्रीको बारेमा केही जानकारी पाएपछि १२ बजेतिर होटेल फर्क्याैँ  र खाना खाएर भैरहवाबाट गोरखपुर बसमा गयौ । बेलुकी १० बजेकाे  ट्रेन थियो । हामी गोरखपुर पुग्दा आठ बजेको थियो । चार समूहबाट दुई/दुई गर्दै हामी बेलुकी खाना खान गयौँ । ९:३० बजेतिर ट्रेनमा चढेर आआफ्नै साथीसँग एक खण्डमा ठाउँ खोजी त्यो दिनको अन्त्य  गर्यौँ । सबै जना सुतेपछि म र मेरो साथी त्यो ट्रेनको सबै कुनामा गएर त्यो रात तिन बजे सुत्यौँ। 

अर्को दिन बिहान सात बजे उठेर ट्रेनमा चिया र बिस्कुटले दिनको सुरुवात गर्‍यौँ । दुई दिनको ट्रेन सफरले बल्ल मुम्बई पुगिन्थ्याे  त्यसैले दिन पुरै ट्रेनमा नै बित्यो । कुनै बेला खान दिन आउँछन् कुनै बेला समान बेच्न आउछन् । तास, मिनी मिलिसिया, पब्जी आदि खेल्दै रात आइपुग्यो । त्याे रात मेरा साथीहरू र म सुतेनौँ । अरुसित जिस्किदै कि ट्रेन बाहिर स्टेशनमा जाँदै गर्दा बिहान भएछ ।

त्यो बिहान सात बजे मुम्बई आएपछि हामी सामान लिएर टुरिष्ट बस चढेर आफनो होटेलतिर गयौँ । होटेलमा चेक इन गर्न समय लाग्ने भएकाले पहिले हामी बिहानको खाजा खाएर मात्र आफ्नो आफ्नो चार जनाको समूहमा रूमतिर गयौँ । नुहाएर  एकछिन आराम गरेर बल्ल हामी मुम्बई घुमघाम गर्न तयार भयौँ। मुम्बईको समुद्री किनारा, मरिन डाइव, गेटवे अफ इन्डिया र भारतका फिल्मी कलाकारहरूका घर हेर्न गयौँ । पछि एउटा ठुलो मलमा गएर केही किनमेल पनि गर्‍यौँ । बेलुकीतिर हामी एउटा रेस्टुरेन्टमा गएर खाना खायौँ । नाै बजेतिर बल्ल होटेल फर्किदा त्यो दिनको अन्त्य भयो । दुई दिन नसुतेको भए तापनि त्यो रात हामी दुई बजेपछि मात्र सुत्यौँ ।

अर्को दिन हामी मुम्बईको वाटर पार्कमा पुरै दिन बिताउने योजनामा थियाैँ । यो दिनको अनुभव भ्रमणको नौलो भाग थियो ।  बिहान दस बजेबाट छाडेर त्यहाँ पुगेका हामी दिउँसो पाँच बजे बल्ल फिर्ता होटेल आयाैँ । आठ बजे होटेलबाट ट्रेन स्टेसन पुगेर हामी गोवाको लागि हिड्यौँ । भोलिपल्टै दिउँसो  बाह्र बजे गोवा पुग्ने हुनाले सबै जना खुसी थियाैँ । बिरयानी खाएरपछि,  त्यस रात भने एघार बजे नै सुतेर त्याे दिनको अन्त्य गर्‍यौँ ।

बिहान पख आठ बजे उठेर हामी सब खाना खाएर गोवा पुग्नका लागि तयार भयौँ । बाह्र बजेको समयपछि बल्ल गोवा पुग्याैँ । मेरो सुरुको सोचविचार त्यहाँ एकदमै गर्मी हाेला भन्ने थियाे । यस दिन हामीलाई सिक्षकहरूले भने खाली समयमा गतिविधिहरू गर्न दिनुभयो। समुद्र नजिकै होटेल हुनाले चेक इन गर्दागर्दै हामी दस मिनेटमा नै समुद्रमा खेल्न पुग्यौँ। सिधै बेलुका छ बजे होटेल फर्केपछि फेरि होटेलको स्विमिङ पुलमा फेरि गयौँ । त्यहाँ केही समय मनाेरन्जन गरिसके पछि हामी रूममा गएर फेरि नुहाइधुहाइ गरेर खाना खान गयौँ । त्यस रात भने खाना खाएपश्चात् नै म भने भुसुक्क निदाएछु । 

सातौ दिनमा हाम्रो योजना गोवाको चर्च, फिल्म सुटिंग गरिने समुन्द्र तट र डल्फिन भ्युयिंङ्गको लागि गयौँ । त्यस रातको लागि हामी क्रुज राइडिङ्गको लागि पनि गयौँ । होटेल फर्कदा नाै बजेकाे थियाे  । यही अवसर पाएर हाम्रा सिक्षकहरू हामीलाई छोडेर कतै जानु भयो। हामी पनि यसको फाइदा उठाएर लाइट आउटपछि पनि एक अर्काको कोठामा गएर  जिस्कन थाल्यौँ । सिधै बिहानको चारबजे शिक्षकहरू आएपछि बल्ल सुतेको नाटक गरियाे भनाैँ । बास्तवमा, त्याे रात पनि निद्रा आएन ।

बिद्यालयका दुई ओटा सेक्सन भएकाले अर्को स्कुलका कक्षा नाैका विद्यार्थीसित भेट हुने यही मात्र एक दिन थियाे । दुबै सेक्ननका विद्यार्थी भेटेर जिस्कँदै फोटो पनि खिच्यौँ अनि सँगै खाना पनि खायौँ । त्यसपछि चेक आउट गरेर अर्को सेक्सनका साथीभालाई विदा गरिसकेपछि हामी ट्रेन स्टेशनतिर लाग्यौँ । ट्रेनको यो सफर मुम्बई पुग्न जतिकै लामो थियाे । त्यसैले त्यस दिन भने केही नभएर नै बित्यो ।

भोलिपल्ट जाडोले हामीलाई छुन थाल्यो। सबै जना बाक्लो लुगा लगाउन थाले। ट्रेनमा यताउता गर्दै, तास खेल्दै वा फिल्म हेर्दै त्यो दिन पनि बित्दै गयो । बेलुका भने फेरि मेरा साथीहरूले नसुत्ने भनेर त्यो रात पनि हामी सुतेनौँ ।

बिहानै छ बजेतिर आगरा आएपछि हामीले थाहा पायाैँ  कि हाम्रो होटेलमा चेक इन आठ बजे मात्र हुन्छ भनेर । त्यसैले अर्कै होटेलमा गएर एउटा रूममा ८-१० जना गरी एकछिनको लागि बिश्राम गर्‍याैँ । पछि शिक्षकहरूले हामीलाई बोलाएर हाम्रो बुक गरेको होटेलमा जाने भन्नुभयो । १०-१५ मिनेटमा नै होटेल पुगेपछि हामी ताजा भएर  बिहानको खाजा खान गयौँ । यस दिन हामी ताज महल, आगरा फोर्ट र आगराको भ्रमण गर्‍यौँ । त्यो दिन भने चाडै होटेल फर्केर हामी खाली समयमा गेम खेलेर बस्यौँ । बेलुका भने डिजे पार्टीकाे योजना थियो । तर सबै जनाले एकछिन मात्र रमाइलो गरेर आफ्नो कोठामा फर्किए । कुनै समयपछि शिक्षकहरूले हामीलाई केटा र केटीको दुई समूहमा बोलाएर कुराकानी गर्नुभयो। पछि हाम्रो हर्कतको कारणले गर्दा एक घन्टा जति गाली खाएपछि हामी आफ्नो कोठातिर गयौँ ।

भोलिपल्ट दिल्ली जनको लागि हामी बस छाडेर यमुना एक्सप्रेस वे हुँदै गयौ । धेरै दिन राम्रोसँग ननिदाएको हुनाले पुरै बाटोमा सबै जना एक घन्टापछि नै निदाए । एक दुई चोटि चाहिँ शौचालय वा खाने कुरा किन्न मात्र हामी उठेका थियौँ । तिन बजेतिर हामी बल्ल दिल्ली पुग्दा कतै नरोकीकन सिधै होटेल आइपुग्यौँ । होटेलनजिकै बजार भएकाले हामीलाई त्यो दिन किनमेल गर्न पुरै दिन दिइएको थियो । आफ्नो घर परिवारको लागि समान किनेर हामी बाँकी समय यताउता गर्दै बितायौँ । कुनै बेला रेस्टुरेन्ट जाँदै कुनै बेला होटेल रूममा बस्दै यो दिनको अन्त्य भयो।

भारतमा रहने अन्तिम दिन, हामी दिल्ली घुमघाम गर्नमा पुरै दिन ब्यस्त भयाैँ । कुतुब मिनार, लोटस टेम्पल, लाल किल्ला, इन्डिया गेट, प्रधानमन्त्री कार्यालय आदि ठाउँहरू घुमेर बल्ल अक्षरधामको वाटर शो हेर्न पुग्यौँ । वाटर शो होलोग्राफिक मसिनबाट पानीमा देखिएका थिए । एक घन्टाको शो हेरेपछि हामी सबैले एक घन्टा फेरि अक्षरधाम आफै घुम्न शिक्षकहरूले अनुमति दिनुभयाे । पछि ९:३० मा हामी होटेल फर्कियौ। भोलिपल्ट नेपाल फर्किने भएकाले हामी चाडै खाना खाएर आफ्नो रूमतिर लनगेर सामान मिलाउन थाल्यौँ । त्यो रात शिक्षकहरू सुतेपछि हामी होटेल बाहिर गयौँ, एक अर्काकाे रूमभित्र पनि गयौँ अनि रमाइलाे पनि गर्याैँ । 

नसुतेर नै बिहान भएपछि हामी सबै बिहानको खाजा खाएर बस चडी विमानस्थलतिर लाग्यौँ । यताउता गर्दागर्दै जिस्कँदै हामी हवाइजहाजमा पुग्यौँ । गफ गर्दै, खाना खाँदै हामी दुई घन्टा प्लेनमा बितायौँ । नेपाल फर्कदा सबै जना खुसी थिए । प्लेन ल्यान्ड हुन नपाउँदै सबैले आफ्नो बुबाआमालाई फोन गरेर बतायौँ । तिस मिनेटपछि विमानस्थल बाहिर निक्ल्याैँ । पछि आफ्ना साथीभाइ र शिक्षकलाई बाइबाइ भनेर हामी आफ्नो आफ्नो घर लाग्याे ।

अहिलेसम्म कै याे मेराे अविस्मरणीय यात्र बनेकाे छ । हेराैँ जीवन लामाे छ । आगामी दिनहरूमा याेभन्दा पनि रमाइलाे यात्रा हुन सक्छन् कि !