Logo

Student Corner

छुवाछुत प्रथा

Written by: Diya Shrestha - 22032, Grade XI

Posted on: 19 November, 2020

छुवाछुत प्रथा भनेको मानिसहरूबिच मानिसले नै मानिसको जात, पेसा, लिङ्ग तथा भेषभूषामा भेदभाव गर्नु हो । यो अभ्यासमा मानिसलाई दुई भागमा छुट्याइन्छ र ती हुन् माथिल्लो जात र तल्लो जातका मानिस । छुवाछुत प्रथामा माथिल्लो जातको मानिसले तल्लो जातको मानिसलाई आफ्नो घरभित्र पस्न र धेरै सार्वजनिक ठाउँहरूमा पनि जान मनाही गरिदिन्छन् । छुवाछुतमा विश्वास गर्ने मानिसहरू तल्लो जातका मानिसहरूले माथिल्लो जातका मानिसहरूकाे सामान छोए भने उक्त सामान अपवित्र हुन्छ भनेर मान्छन् । धेरै ठाउँहरूमा यही कारणले मानिसहरूबिचमा झगडा पनि पर्छ । हामीले दिनका दिन एक न एक प्रथाबाट सामाजिक सद्भावमा खलल पुगेकाे समाचार पत्रपत्रिका तथा रेडियोमा पढ्न र सुन्न पाइरहेका हुन्छौँ तर पनि हामी मूकदर्शक बनेर बस्छाैँ । 

 

छुवाछुत प्रथालाई उन्मूल गर्नु हरेक व्यक्तिको कर्तव्य हो तर अहिलेको युगसम्म आइपुग्दा पनि यसलाई मानिसले जरैदेखि उखेल्न सकेका छैनन् । यो मानिसहरूबिच हुने गम्भीर किसिमको भेदभाव हो । यो प्रथालाई मानिसहरूले रीतिरिवाज मानेर संरक्षण गर्दै आएका छन् र याे अत्यन्तै निन्दनीय कार्य हो । भनिन्छ, “हामी सबै नेपाली एक हौँ” तर पनि यो भेदभाव किन ? 

 

याे प्रथा ग्रामीण क्षेत्रमा बढी मात्रामा रहेको छ किनभने अविकसित तथा विकासशील ठाउँहरूमा मानिसहरू शिक्षित भइसकेका छैनन् । राज्यले सक्दो कोसिस गरेर अविकसित क्षेत्रका मानिसहरूमा यसबारे जनचेतना जगाउन सके धेरै फाइदा हुन्छ । जानेका मानिसहरूले विभिन्न ठाउँमा गएर आफ्नो सोच, धारणा व्यक्त गरेर सम्बन्धित ठाउँका जनतासँग विचार साटासाट गर्न सके पनि हामीले त्यहाँका धेरै कुराहरू थाहा पाउन र याे समस्याको समाधान निकाल्न सक्छौँ ।

 

याे प्रथाको कारणले गर्दा तल्लो जातका मानिसहरूले अपमानित हुनु परेकाे छ । हामीले समाजको नै सोच बदल्न सक्यौँ भने याे प्रथा उन्मूलन गर्न धेरै समय लाग्दैन । त्यसैले हामीले छुवाछुत प्रथा अन्त्य गरेर सबै मानिसकाे भावनाको कदर गर्न सिक्नुपर्छ र अरूलाई पनि सचेत बनाउनुपर्छ ।