Logo

Student Corner

स्वस्थ जीवन, आजको आवश्यकता

Written by: Simon Sangat - 2022019, Grade XI

Posted on: 18 November, 2020

आजको समयमा स्वास्थ्यको हेरचाह गर्नु अति आवश्यक छ । के हो त स्वास्थ्य भनेको ?  स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक रूपले सक्रिय र रोगरहित अवस्था हो । अहिलेको यो युगमा मानिसले स्वस्थ्यलाई लिएर निकै ध्यान पुर्‍याएको पाइन्छ । "स्वास्थ्य नै धन हो”, यो भनाइ निकै प्रसिद्ध छ । अहिले आफ्नो स्वास्थ्यलाई लिएर हरेक मानिस चिन्तित छन् । 

हाल मानिसहरू सतर्क भएकाले दिनदिनै स्वास्थ्य परीक्षण गर्ने दर बढेको छ र स्वास्थ्यमा केही गडबडी आएमा तुरुन्त डाक्टरकहाँ दौडिन्छन् । यसरी स्वास्थ्यको महत्त्व मानिसले समयअनुसार बुझ्दै गएका छन् । आज आधुनिक प्रविधि र विज्ञानले धेरै विकास गरेको छ । यसरी विज्ञान पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउन सफल भएको पाइन्छ । अहिले मानिसहरूलाई आफ्नो रोग पत्ता लगाउन भने सजिलो भएको छ । धेरै वर्षअगाडि विभिन्न रोगहरूको पहिचान नै भएको थिएन । मानिसहरूलाई स्वास्थ्यको बारेमा धेरै ज्ञान थिएन । कुनै मानिस बिरामी वा घाइते भएमा सो रोगको घरमै विभिन्न जडीबुटी लगाएर उपचार गरिन्थ्यो। पुरानो समयमा धामी, झाँक्रीलाई बढी विश्वास गरिन्थ्यो । त्यति बेला रोग किन र कसरी लाग्छ भन्ने कुरा थाहा नभएर मानिसहरूको अकालमै ज्यान जान्थ्यो । 

मानिसको स्वास्थ्य बिगार्न विभिन्न संक्रमण, किरा, जीवाणु, परजीवी तथा भाइरसको हात हुन्छ । यस्ता भाइरसहरू प्राणघातक हुन्छन् । आजको समयमा कोरोना भाइरसका कारण यतिबेला विश्वभरका मानिस भयभीत छन् । विज्ञान र प्रविधिमा विश्वले यसभन्दा बढी विकास गर्नु आवश्यक भएको छ । यो भाइरस नयाँ भएकाले यसको उपचार कसैलाई थाहा छैन । आहिले यस माहमारीले सबैलाई त्रासित बनाएको छ। अहिले कोरोना भाइरस रोगको औषधी विज्ञानका लागि ठुलो चुनौति बनेको छ । 

मानिसलाई आफ्नो ज्यान प्यारो लाग्छ । मानिस बिरामी हुनुमा व्यक्तिगत व्यवहार र क्रियाकलाप धेरै हदसम्म जिम्मेवार हुन्छन् । तपाईंलाई लाग्छ जीवन यति सस्तो छ ? हामी यदि आफ्नो जीवनलाई महत्त्व दिन सक्दैनौँ भने लामो समय बाँच्न सक्दैनौँ । त्यसैले हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्नुपर्छ । स्वास्थ्यको बारेमा होसियार हुनुपर्छ । त्यसका लागि स्वस्थ रहनु जरुरी छ र स्वस्थ जीवन बिताउनुपर्छ । 

 

अत: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । भौतिक धनभन्दा पनि स्वास्थ्यरूपी धन प्राप्त गर्न हाम्रा क्रियाकलाप उद्यत हुनुपर्दछ । यदि हामी स्वस्थ भयौँ भने जति पनि धन कमाउन सक्षम हुन्छौँ । तसर्थ स्वस्थ रहनाका निम्ति दैनिक व्यायाम गर्ने, प्रशस्त पानी पिउने, आफ्नो वरिपरिको वातावरण सफा र स्वच्छ राख्ने गर्नुपर्दछ । यसरी हाम्रो बानी र व्यवहार स्वास्थ्यमैत्री बनाउन सकिन्छ । सबैले बुद्धिपूर्वक निर्णय लिएमा हामी स्वस्थ जीवन बाँच्न सक्दछौँ ।