Logo

Student Corner

नेपालमा अनलाइन शिक्षा

Written by: Aavash Dhakal - 21101, Grade XII

Posted on: 10 November, 2020

२०७६ सालको शैक्षिक वर्षको अन्तिम परीक्षा सरकारले छिटोभन्दा छिटो सक्ने आदेश दिएको थियो । साे आदेश किन थियो भने विश्वभरमा डिसेम्बर २०१९ देखि ‘कोरोना भाइरस’ नामक रोगको महामारी बढ्दै थियो । त्यो रोग नेपालमा आउनुअघि त्यो वर्षका सबै शैक्षिक क्रियाकलापहरू सक्न सबैजना लागेका थिए, तर २०७६ सालको चैत्र महिनामा ‘कोरोना’ नेपालमा देखियो । सबै विद्यालय तथा कार्यालयहरू बन्द भए । यस्तो हुँदा बालबालिकाको पढाइमाथि नकारात्मक असर पर्न थाल्यो, त्यसैले विभिन्न निजी विद्यालयहरूले आफ्नै प्रयासमा ‘अनलाइन शिक्षा’ सुरु गरे ।

अनलाइन शिक्षा भनेको इन्टरनेटको माध्यमबाट लिइने/दिइने शिक्षा हो । याे शिक्षा विद्यार्थीहरू आफ्नो घरमै बसी विद्यालयको पढाइ गर्न सक्ने शिक्षा पनि हो । यसरी बालबालिका घरमै बसी कोरोनाबाट पनि सुरक्षित हुने र उनीहरूको पढाइमा पनि कुनै नाेक्सान नहुने भयो । अनलाइन शिक्षाका लागि कम्प्युटर सञ्जाल र मोबाइल वा कम्प्युटरको प्रयोग गरिन्छ । शिक्षक र विद्यार्थी सञ्जालको मद्दतले एकअर्कासँग अन्तरक्रिया गर्न सक्छन् । धेरै नभए पनि विद्यार्थीहरूले केही ज्ञान प्राप्त गर्न पाए जसले उनीहरूलाई केही मद्दत गर्न सक्छ । अनलाइन शिक्षाबाट विद्यार्थीहरूको घरमा समयको बचत पनि भएकाे छ र उनीहरूले शिक्षा पनि प्राप्त गरेका छन् । अनलाइन शिक्षालाई धेरै कुराहरू नचाहिने भएकाले पनि लगभग सबैजसाे देशमा धेरै विद्यालयले यसरी नै शिक्षा दिइरहेका छन् । याे शिक्षाका फाइदाहरू धेरै छन् । शिक्षक र विद्यार्थी राम्ररी एकअर्कासँग बोल्न, अन्तरक्रिया गर्न पाउँछन् । शिक्षकले पनि सबै विधार्थीलाई सजिलैसँग सहयोग गर्न सक्छन् । अहिलेको महामारीमा यसरी नै बालबालिकालाई भविष्यका लागि तयार गरिँदै छ । महामारी कहिलेसम्म हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन तर हामीले याे अनलाइन शिक्षालाई नयाँ अवसरका रूपमा लिएर अघि बढ्नका लागि आफूलाई तयार पार्न सक्छौँ ।  म पनि अहिले अनलाइनकै माध्यमबाट शिक्षा प्राप्त गरिरहेकाे छु । यसरी पढ्न पाउनु एउटा नयाँ अनुभव हो । यसका फाइदा निकै छन् साथसाथै केही बेफाइदा पनि छन् ।

यसरी अनलाइन शिक्षा पढ्न विद्यार्थीहरू मोबाइल वा कम्प्युटर स्क्रिनअगाडि धेरै समयसम्म बस्नुपर्ने हुन्छ । यसरी स्क्रिनको अगाडि बस्दा विद्यार्थीहरूको आँखालाई असर पर्छ । त्यसमाथि अझै लामो समयसम्म स्क्रिनअगाडि बस्यो भने आँखासँगै टाउको दुख्ने पनि हुन्छ ।  शिक्षा दिनु आवश्यक छ तर शिक्षाका साथसाथै विद्यार्थीको स्वास्थ्यको पनि कुरा राम्ररी बुझ्नुपर्ने हुन्छ । त्यसैले उचित समयमा कक्षा सञ्चालन गरी बिच बिचमा केही क्षणकाे विश्राम दिनु जरुरी हुन्छ जसले गर्दा विद्यार्थीहरू थाक्दैनन् ।  शिक्षाका साथसाथै कतिपय विद्यालयहरूले अनलाइन परीक्षा पनि लिएका छन् । ११ र १२ को वार्षिक परीक्षा पनि अनलाइन नै गर्न सकेकाे भए विद्यार्थीहरू धेरै हदसम्म सुरक्षित हुन्थे । 

 पहिलोपल्ट अनलाइन शिक्षामा नेपाल पछि परेकाे छैन । धेरैभन्दा धेरै शिक्षा प्रदान गर्न नेपालका हरेक विद्यालय अघि सर्दै गएका छन् । देशको भविष्य बनाउने बालबालिकालाई नयाँ रूपमा तयार पार्दै छन् तर यतिले मात्र पुग्दैन । पढाइ भन्ने कुरा विद्यार्थीहरूले यसरी लिए पनि उनीहरूले आफैँले अझ धेरै ज्ञान पाउन अन्य कुराहरू पनि खोजेर पढ्नुपर्ने हुन्छ । अहिले हामी सबै एउटै नाउमा छौँ र यो नाउबाट हामीले कसरी आफूलाई किनारामा पुर्‍याउन सक्छौँ त्यो आफैँले तय गर्नुपर्ने छ ।