Logo

Student Corner

नेपालमा कोरोनाको सङ्क्रमण

Written by: Princy Jaiswal - 21116, Grade XII

Posted on: 05 November, 2020

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितकाे बढ्दो सङ्ख्या चरम सीमामा पुगेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाकामा गर्नुपर्ने कडाइ सही ढङ्गले गर्न सकेको छैन जसका कारण अहिले हाम्रो देशमा सङ्क्रमितहरूकाे सङ्ख्या बढ्दै गएको छ र यसले विकराल रूप लिएकाे छ । भारतमा बढ्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्यालाई नेपाल सरकारले वास्ता नगरी नेपाल र भारतबिचको सिमाना खोलेकाे छ । नेपाल र भारतबिच खुला सिमानाका कारण भारतबाट नेपाल प्रवेश गर्ने नेपाली वा भारतीय नागरिक तथा विदेशी नागरिकको परीक्षण नगरिएकाले आज हाम्रो देशमा सङ्क्रमण बढ्दै गएको छ । नेपाल र भारतबिचको खुला सिमानाका कारण जाे कोही पनि नेपालमा प्रवेश गर्न सक्षम भएका छन् । सरकारले गर्नुपर्ने न्यूनतम काम पनि गरिएको देखिँदैन । हरेक क्षेत्रबाट परीक्षणको दायरा बढाउन आग्रह गरिँदा पनि सरकारले परीक्षणको दायरा बढाउन सकेकाे छैन । 

हाम्रो देश अहिले काेराेना सङ्क्रमणकाे चरम सीमामा पुगेको छ । भाइरसको कारणले महिनाैँ चलेको लकडाउनकाे कारणले गर्दा हाम्रो देशको अर्थ व्यवस्था कमजोर भएकाे छ र धेरै मानिस रोजगारीबाट निकालिएका छन् । धेरै मानिसले खान नपाएर आत्महत्या पनि गरेका छन् । विद्यार्थीहरूको भविष्य पनि अन्धकारमा गएकाे छ ।
 
 व्यक्ति व्यक्तिबाट कोरोना समुदायमा फैलिसकेको छ । समुदायमा  फैलिएको कोरोना सङ्क्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा सरकारले खासै  ध्यान दिएकाे छैन । सरकारले अन्य क्षेत्रमा खर्च हुन नसकेको बजेटलाई कोरोना सङ्क्रमणकाे क्षेत्रमा लगाएर परीक्षणकाे दायरालाई बढाएर समुदायमा फैलिरहेको सङ्रक्रमणलाई नियन्त्रण गर्न सकिन्छ । सरकारले स्थानीय स्तरमा कडाइ गर्न नसकेका कारण अहिले पनि मानिसको जथाभावी आवतजावतलाई नियन्त्रण गर्न  स्थानीय प्रशासन असफल भएकाे छ र यसैका कारण कोरोना सङ्क्रमण फैलिएको हामी देख्न सक्छौँ । 

सरकारले काेराेना नियन्त्रणका लागि अब केही ठोस निर्णय लिनु अत्यावश्यक छ । यदि सरकारले यस्ताे निर्णय लिन नसके काेराेनाले हाम्रो देशमा इटाली, अमेरिका, भारतलगायतका देशमा जस्तो रूप लिन समय लाग्दैन ।