Logo

Student Corner

मौलिकतामा आधारित विकासको स्वरूप

Written by: Shritika Pokhrel - 21123, Grade XII

Posted on: 04 November, 2020

हरेक देशको आ-आफ्नै संस्कृति, परम्परा साथै मौलिकता हुन्छ । त्यस्तै गरी विकास पनि हरेक देशको आफ्नै मौलिकतामा आधारित रहेर बनेको हुन्छ । त्यस्तो विकास नै वास्तवमा कुनै पनि देशको लागि  हितकारी हुन्छ किनकि आफ्नो परिवेशअनुसारको विकासले नै समृद्धि हासिल गर्न सक्छ तर अहिलेको अवस्था हेर्ने हो भने विकासको नाममा अरू देशको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा विकासको नाममा विदेशी मुलुकको सिको गर्ने प्रणाली बढ्दै गएको पाइन्छ । आफ्नो मौलिकतालाई मासेर अरूको नक्कल गर्ने यस्तो प्रवृत्तिलाई अक्कलबिनाको नक्कल भनिन्छ । नक्कल गर्दा पनि अक्कलको प्रयोग गरेर गरियो भने त त्यसले केही हदसम्म राम्रो गर्छ तर अक्कलबिनाको नक्कलले सदैव विनाशको मुखमा धकेल्छ । त्यस्तै विकासमा पनि कुनै देशले गरेको विकासलाई जस्ताको त्यस्तै आफ्नो देशमा उतार्न खोज्नु पनि एक मुर्खाता नै हो किनकि सबै देशको वातावरण तथा परिवेश बेग्लाबेग्लै हुन्छ ।

भारतवर्षीय देशहरूको कुरा गर्ने हो भने तिनको आफ्नै एउटा संस्कृति छ, इतिहास छ, जसलाई पूर्वीय दर्शन भन्ने गरिन्छ र त्योभन्दा बाहेक युराेपकाे दर्शनलाई पश्चिमा दर्शन भनिन्छ । पूर्वीय र पश्चिमा दर्शनहरूमा आनको तान फरक छ । संस्कृति, रहनसहनलगायत भेषभूषा सबै फरक छन् जसले गर्दा हामीले हाम्रो मौलिकतामा रहेर विकास गर्नु नै हाम्रा लागि उत्तम बन्न पुग्छ । अहिलेको परिप्रेक्ष्यमा मानिसलाई विकास भनेको ठुला-ठुला भवनहरू, चिल्ला र चौडा पारेका सडकहरू भन्ने लाग्छ तर के यही हो त विकासको स्वरूप ? यस्ता संरचनाहरू देख्दा अवश्य हाम्राे मन लोभिन्छ । आहा ! कति राम्रो विकास गरेको भन्ने लाग्छ तर वास्तवमा यस्ता चिज विकास नभइकन कङ्क्रिटहरूको एउटा संरचनाले तयार गरिएको कार्य हो जुन कुनै पनि बेला विनाशमा परिणत हुन बेर लाग्दैन । मानौँ केही गरी ठुलो भूकम्प गएर ती संरचना भत्किए भने तिनलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ र मैले यस्तो विकास गरेँ भनेर मक्ख परेका राष्ट्रहरूलाई नै त्यो विकास भोलि गएर टाउको दुखाइको विषय बन्न पुग्छ।

 तर यसो भन्दैमा के अब बाटो नै नबाउने हो त ? विकास नै नगर्ने हो त ? त्यसो भन्न पनि खोजेको हैन । विकास गर्नुपर्छ तर अहिले जुन हामीले विश्वलाई नै कङ्क्रिटयुक्त बनाएर हिँडिरहेका छौँ, त्यसलाई रोकथाम चाहिँ गर्नुपर्छ । अति आवश्यक ठाउँमा मात्र त्यसको प्रयोग गर्न सक्नुपर्छ । नेपालको इतिहासमा हाम्रो मौलिक विकास कस्तो रहेछ भनेर हेर्दाखेरि त हाम्रा पूर्वजहरूको पालामा आफू बस्ने घर कच्ची माटोको बनाइँदो रहेछ जुन केही गरी भत्किहाल्यो भने पनि त्यही माटामा सजिलै मिसिने र पछि फेरि प्रयोग गर्न मिल्ने खालको हुँदो रहेछ । त्यो भनेको चाहिँ बस्न पनि हुने, प्रकृतिविरुद्ध पनि नहुने र भोलि व्यवस्थापन गर्न पनि सजिलो हुने किसिमको भयो । अर्को भनेको मूलको पानी प्रयाेग गरिँदाे रहेछ जुन गर्मी महिनामा चिसो र जाडो महिनामा तातो हुन्छ । हामी भने प्रकृतिले नै बनाइदिएको कुरालाई मासेर विकास गर्नतिर लागेका छौँ, यही हो त विकासको परिभाषा ? आधुनिक बन्ने निहुँमा जुन कङ्क्रिट प्रयोग गरेर हामी घर बनाउँछौँ, त्यो पनि जाडोमा चिसो न चिसो र गर्मीमा तातो न तातो हुन्छ जबकि कच्ची घरमा जाडोमा न्यानो र गर्मीमा चिसो हुन्छ । त्यसैले हामी विकासको निहुँमा विनासतिर धकेलिँदै छौँ भन्ने यही उदाहरणबाट प्रमाणित हुन्छ । 

प्रकृतिविरुद्ध काम पनि नहुने र आफ्नो काम पनि सजिलै हुने प्रकृतिमैत्री विकासलाई पो सही ढङ्गमा विकास भन्न सकिँदो रहेछ । आफ्नो आवश्यकता पनि पुरा हुने र प्रकृतिविरुद्ध काम पनि नहुने त्यस्तो खालको संरचनालाई पो विकास भनिँदो रहेछ । तसर्थ हामीले विकास गर्नुपर्छ तर विकास गर्ने निहुँमा प्रकृतिलाई अनावश्यक दोहन भने गर्नुहुँदैन र विकासका नाममा विनाशतिर लाग्नुहुँदैन । हाम्रो जस्तो देशले त अझ आफ्नो परिवेशअनुसार गर्न सक्ने, गर्न हुने र आफ्नो मौलिकता पनि कायम रहने गरी विकास गर्नुपर्छ । यसरी विकास गर्ने हो भने मात्र देश सही बाटामा लाग्छ अन्यथा अरूको लहलहैमा लगेर "अर्काको लिन खोज्दा आफ्नै पोल्टाको खस्यो" भनेझैँ अरूको सिको गर्न खोज्दा आफ्नै कुरा सत्यानाश पार्छौं । त्यसैले गर्दा कुनै पनि देशले आफ्नो मौलिकतामा रहेर विकास गर्नु नै बुद्धिमानी हुन्छ ।