Logo

Student Corner

आधुनिक जीवनभित्र गुम्सिएका महिला 

Written by: Manisha Gurung - 22030, Grade XI

Posted on: 20 October, 2020

बाँदरको स्वरूपबाट उत्पन्न भएका भनिएका हामी आज मानव भनेर चिनिएका छौँ । गुफाको छतमा बस्ने हामी आज ठुला ठुला महलले घेरिएका छौँ । खाली खुट्टाले छोइने यी भुइँहरू आज महँगा जुत्ताले छोइएका छन् । यही त हो आधुनिक परिवर्तन भनेको, होइन र ? बस्ने ठाँउ, लवाइखवाइ, भेषभुषा, बोलिचाली सबै आधुनिक भए तर अपसोच मानव मस्तिष्क आधुनिक हुन सकेन, मानवको सोच र दृष्टिकोण आधुनिक हुन सकेन । सोच उही छ, बस् देखाउने शैली फरक छ ।      

महिला यस्ती सृष्टिकर्ता हुन् जसले संसारलाई एउटा गति दिएकी हुन्छिन्, तर आज तिनै महिला आधुनिक जीवनको आभिशाप भएकी छिन् । पुरुषका लागि खेलौना र मनोरञ्जनको साधन भएकी छिन् । आज पनि महिलालाई हेर्ने सोच र देखाउने व्यवहार परिवर्तन हुन सकेको छैन जसका कारण अमानवीय कार्यहरू दिन प्रतिदिन बढिरहेका छन् । हिजो जङ्गलमा महिला बलात्कृत भए रे भन्ने  सुनिन्थ्यो तर आज त सार्वजनिक स्थल, विद्यालय र आफ्नै घरमा बलात्कृत भए भन्ने सुनिन्छ । हिजो महिलाको बलात्कार भयो भन्ने सुनिन्थ्यो तर आज ३ महिनाकी बलिका बलात्कृत भएकाे घटना सुनिन्छ। अनि के यही हो त आधुनिक जीवनशैली बाँचेको मान्छेको गुण ? महिलालाई पहिलेको युगमा घरमै गुम्मसिएर बस्नुपर्ने बाध्यता थियो । आज घरबाट बाहिर निस्कने स्वतन्त्रता त छ तर आफैँभित्र गुम्सिएर बस्नुपरेको छ । 

आजको आधुनिक युगको व्यवहारले आफ्नो मनभित्र डर र त्रास लिएर बाँच्न बाध्य बनाइएका छन् महिलाहरू । म भोलिको जाज्वल्यमान तारा बन्ने छु भन्दै सपना बोकेर घरबाट निस्केकी नारी आधुनिक युगका जीवहरूले इज्जत लुटेर मर्न बाध्य छिन् । थाहा छैन बिहानै झोला बोकेर विद्ययालय हिँडेकी मन्जरी सकुशल घर फर्किन्छिन् या फर्किन्नन् । भोलिको देश बनाउँछु भन्ने सपना मनभरि बोकेर अफिस हिँडेकी मुनाको लास कहाँ भेटिने हो थाहा छैन । हाम्राे देशका नेताहरूले आजको समाज भनेको त नारी समाज हो भन्छन् । जन्मिन नपाउँदै आफ्नै घरमा सुरक्षित नहुने के यही हो त नारी समाज ? पुरुषको इसारामा बाँच्नुपर्छ अनि मानेन भने एसिडको बर्सात हुन्छ । खोइ कहाँ गयो त महिला अधिकार ? छोरीलाई घरको इज्जत नफाल भनेर सयचोटि भनिन्छ तर छोरालाई कसैको घरको इज्जत नलुट भनेर सम्झाइँदैन, खोइ कता गयो त समानताको अधिकार ?                    

ए मुर्ख हो ! के महिला स्वतन्त्रताको कुरा गर्छाै जब कि एक महिला सडकमा  एक्लै हिँड्न डराउँछे, उसले आफ्नै घर, टाेलमा डराउनुपर्ने हुन्छ । महिला अधिकार यसरी हनन भएकोे छ मानाैँ यहाँँ कुनै नियम कानुन नै छैन । बलात्कार र हत्या यसरी बढेकाे छ, मानाैँ यहाँ महिलाको कुनै अस्तित्व नै छैन । त्यसकारण जबसम्म सबै महिलाले आफू सुरक्षित भएको महसुस गर्दैनन्, तबसम्म भाैतिक सुखसुविधाकाे विकास भयो भन्दै मानवले आधुनिक सोचका साथ आधुनिक जीवन बाँचेकाे छ भन्नेहरूलाई म धिक्कारिरहने छु ।