Logo

Student Corner

प्राकृतिक प्रकोप न्यूनीकरणका लागि वृक्षरोपण 

Written by: Shruti Pokhrel - 21124, Grade XII

Posted on: 13 October, 2020

मानव जीवन एक सङ्घर्ष अनि कठिन परिस्थितिको सङ्घार हो । मानिस र बोटबिरुवाका बिच ज्यादै नजिकको सम्बन्ध  हुन्छ । यी दुवै एकअर्काका संसर्गबिना एकैछिन पनि बाँच्न सक्दैनन् । मानिस र अन्य प्राणी र बोटबिरुवाको अस्तित्व कतिसम्म प्रगाढ अनि भद्र हुन्छ भन्ने कुराको आभाष उनीहरूसँग अनुकूल अथवा प्रतिकूल वातावारण एवं प्रकृतिले निर्धारण गर्दछ । मानिस प्रकृतिको एक अभिन्न अङ्ग भएकाले जति पनि क्रियाकलापहरू यस प्रकृतिमा हुन्छन् त्यो सबै प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा उससँग सम्बन्धित हुन्छन् । यही कारणले गर्दा यदि आफ्नो क्रियाकलापले गर्दा प्रकृतिमा विविध किसिमका समस्याहरू उत्पन्न भए भने तिनलाई सन्तुलनमा ल्याउने पनि मानिसकै कर्तव्य हो । यही सन्दर्भमा प्रकृतिमा हुने असन्तुलित क्रियाकलाप जसले गर्दा समस्त जीवजन्तुहरूले त्यसको असर भोग्नु पर्छ, त्यसलाई नै प्राकृतिक प्रकोप भनिन्छ । 

बाढी, पहिरो, खण्डवृष्टि, अतिवृष्टि, अल्पवृष्टि आदि प्राकृतिक प्रकोपका रूपहरू हुन् । बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोवास तथा वैज्ञानिक उन्नतिका कारण विविन्न किसिमका असन्तुलन देखा परिरहेका छन् । यस्ता समस्यहरूबाट उत्पन्न हुने वातावरणीय असन्तुलनको खतराबाट विश्वलाई जोगाउने काममा पनि जङ्गलको विशिष्ट भूमिका हुन्छ । खासगरी वन मासिएर उजाड र नाङ्गाभुतुङ्गा भएका पाखा पखेरा अनि खाली जग्गालाई हरियो, भरिलो बनाउन र प्रकृतिमा सन्तुलन कायम राख्न वृक्षरोपण गरिन्छ । वृक्षरोपणबाट वातावरण स्वच्छ हुन गई सम्पूर्ण प्राणीको जीवन सुरक्षित हुनका साथै मानिसका विभिन्न आवश्यकतासमेत पूर्ति हुने हुँदा यसको निकै ठुलो महत्त्व रहेको छ । मानिस र बोटबिरुवाका बिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । मानिसले आफ्नै अमूल्य जीवन प्रकृतिको प्रकोपबाट जोगाउनै भए पनि वृक्षरोपण गर्नु अति जरुरी छ । रुखहरू काटेर आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने जस्तो मुर्खता गर्नुहुन्न । यसो गर्दा आफ्नो जीवनलाई आफैँले छोट्याउनु हो, आफैँले काललाई निम्त्याउनु हो । प्राकृतिक वातावारणको स्वच्छतामा मानिसले भौतिक उन्नति गर्ने क्रममा खलल पुर्याइरहेको देखिन्छ । मानिसका अविवेकी क्रियाकलापहरूले गर्दा प्रकृतिका नदी, हावा, रुख, हरियाली आदि कुराहरू विकृत अवस्थामा देखा परिरहेका छन् । वनजङ्गलको जथाभाबी फँडानी गर्दा प्राकृतिक सौन्दर्य हराउने, जीवजन्तुहरूको बिचल्ली हुने, बाढी, पहिरो, अतिवृष्टि, अल्पवृष्टि, भूक्षय आदिका कारण सबैको जीवन अस्तव्यस्त बन्ने कुरा पनि सबैका अगि छर्लङ्ग छ । बितेका केही दशकयता प्राकृतिक प्रकोप हुने क्रममा निकै तीव्रता आएको पाइन्छ । प्राकृतिक सम्पदाहरूको विनाश, अव्यवस्थित बसोबास, जनसङ्ख्याको बढ्दो चाप आदि कुराहरू प्राकृतिक प्रकोपका मुख्य कारण हुन् । 

वनजङ्गल वन्यजन्तु तथा पन्छीहरूको साझा आश्रयस्थल पनि हो र प्राकृतिक सन्तुलनको आधार हो । यसको संरक्षण गरी बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपको घटना र त्यसबाट हुने हानिनोक्सानीबाट सबै बच्नुपर्दछ । यसको संरक्षण र वृक्षरोपण गर्न जनचेतना फैलाउनु पर्दछ । प्राकृतिक प्रकोपले कसैलाई नि राम्रो नगर्ने भएकाले हामी जतिसक्दो वृक्षरोपणमा जोड दिएर सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न सक्छौँ  त्यसैले वृक्षरोपणमा जोड दिन अत्यन्तै जरुरी छ र यो नै आजको परिस्थितिको माग पनि हो ।