Logo

Student Corner

नेपालमा आफ्नो भविष्य जोगाउनुहाेस् । 

Written by: Sophi Shrestha - 21126, Grade XII

Posted on: 11 October, 2020

मानौँ कडा मेहनतले आजभन्दा ७ वर्षपछि तपाईंले आफ्नो जीवनलाई धेरै सफल बनाउनुभयो रे । इमानदारीका साथ बर्साैँ गरेको मेहेनतको फलस्वरूप तपाईंले काठमाडौँमा गाडी, नोकर चाकरसहितको चिटिक्कको घर अनि बैङ्कमा पुग्दो ब्यालेन्स राख्न सफल हुनुभयो रे । तपाईंको यस्तो भव्य सफलता देखेर तपाईंका साथीभाइहरू नै भित्र भित्रै बडो इर्ष्या गर्न थाले रे र घर परिवार पनि बडो खुसी भयो रे ।

मानौँ त्यतिबेला तपाईंको एउटा सानो सुखी परिवार पनि छ रे, जसमा तपाईं, तपाईंकी श्रीमती अनि रहरलाग्दो  छोरा र छोरी छन् । सधैँ तपाईं काठमाडौँका सयौँ समस्याहरूसँग हेर्दै लड्‍दै अगाडि बढिरहनुभएको छ । यहाँका हरेक दिन दैनिक समस्याहरूमा कसैले पनि चासो नदिएको देख्दा तपाईंलाई बैराग लाग्छ, उदास हुनुहुन्छ । निरास भएर तपाईंको मुखबाट एउटै मात्र वाक्य निक्लन सक्छ “यस्तै हो जिन्दगी, के गर्न सकिन्छ र !” तपाईंले हेर्दा हेर्दै काठमाडौँको सुन्दरताबाट मरिसकेकाे बागमती धेरै प्रदूषित हुन्छ । बागमती सफा गर्ने मेरो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो भन्दै तपाईं सधैँ यसको प्रमुख दोषी खोज्नुहुन्छ । कहिले यो काम त पक्कै सरकारको हो भन्नुहुन्छ त कहिले यो पक्कै त्यही ढल मिसाउने गैरजिम्मेवार नागरिकहरू नै हुन् भनी दोष लगाउनुहुन्छ । शङ्काहरू पनि धेरै हुन्छन् मनमा । यस्तो सुन्दरता बिग्रिनुमा तिनै डलरकाे खेती गर्ने कुनै गैरसरकारी संस्थाको पनि हात छ भनी तपाईं गाली गर्नुहुन्छ । अझै माैसम परिवर्तनले गर्दा हो भनी पनि आफू यो जिम्मेवारीबाट पन्छिन खोज्नु हुन्छ । खैर, तपाईंकै मन, तपाईंकै मर्जी ! कसैले प्रश्न गर्न सक्दैन । 

फेरि हामी अब तपाईंकै सुखी परिवारमा फर्कौं । आफ्ना छोराछोरीलाई तपाईंले बडो अब्बल र संस्कारी तरिकाले हुर्काइरहनुभएको छ । उनीहरूकाे बुद्धि र विवेकको विकासका लागि यस्ता महँगा र अत्याधुनिक मन्टेस्साेरी, कलेजहरूमा पढाई आइप्याड/आइफोन र ल्यापटपजस्ता अत्याधुनिक प्रविधि र महँगा यन्त्रहरू उपलब्ध गराउनुका साथसाथै संसार बुझ्न विभिन्न देशमा घुमाउन पनि लानुहुन्छ । तपाईंलाई विश्‍वास छ कि एक दिन ती  छोराछोरीहरूले नै ठुला भएर पक्कै पनि देशविदेशको लागि सबल नेतृत्व र बाबुआमाको नाम बन्नेछन् । देशप्रतिको आफ्नो अधुरो कर्तव्य र सपना तपाईंले यिनै दुई सन्तानद्वारा पुरा गर्नुहुन्छ । सही ठाउँमा लगानी गरेको छु भन्दै तपाईं आफैँलाई धन्यवाद दिनुहुन्छ र साथै मनमनै खुसी हुनुहुन्छ । यस्तै सोचले तपाईंलाई हौसला दिन्छ, “मैले त सकिनँ, तर मेरा छोराछोरीले त पक्का यो देश बनाउँछन् ।”