Logo

Student Corner

देश विकासमा विद्यार्थीको भूमिका

Written by: Ishu Siwakoti - 2022009, Grade XI

Posted on: 08 October, 2020

कुनै पनि देशको विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । देश विकासको मुख्य आधार विद्यार्थीहरू नै हुन् । आजका विधार्थीहरूले भोलि गएर देशको सम्पूर्ण दायित्व आफ्नाे काँधमा लिने हुँदा देशको भविष्य उनीहरूकै हातमा रहेको हुन्छ । हुन त देशको विकास कुनै एक वर्गबाट मात्र हुन सक्दैन । देशको चौतर्फी विकास गर्नका लागि प्रकाशक, शिक्षक, डाक्टर आदि सबै वर्गको उत्तिकै भूमिका रहेको छ । यीमध्ये पनि देशको विकासका लागि विद्यार्थीको विशेष भूमिका रहन्छ । आजका विद्यार्थी नै भोलि गएर कुशल प्रशासक, शिक्षक, डाक्टर बनेर देश विकासका कार्यमा जुट्ने भएकाले कुनै पनि देशले हरेक क्षेत्रमा उन्नति गर्नका लागि विद्यार्थीमा भर पर्नुपर्छ । विद्यार्थीकै भरमा देशले शिक्षा, स्वस्थ्य, सञ्चार, उद्योग आदि हरेक क्षेत्रमा राम्रो उन्नति गर्ने भएकाले देश विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । 
विद्यार्थीहरूले राम्रो शिक्षा पाए भने उनीहरू असल एवम् चरित्रवान् बन्दछन् अनि नराम्रो शिक्षा पाए भने उनीहरू खराब एवम् चरित्रहीन बन्दछन् । खराब एवम् चरित्रहीन विद्यार्थीले भविष्यमा न त आफ्ना लागि केही गर्न सक्छन्, न त देशका लागि नै । विद्यार्थीहरूले पर्यावरणको पनि निरीक्षण गर्नुपर्छ । यसको अर्थ उनीहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ । एउटा विद्यार्थीले हरेक क्षेत्रमा अनुशासित भई काम गर्नुपर्छ । उनीहरू राष्ट्रका लागि बाधक होइन सहायक हुनुपर्छ किनभने विद्यार्थीहरू त्यो शक्ति हुन् जो  चुनौतीलाई स्वीकार गर्छन् र सफलता प्राप्त गर्छन् । एउटा युवा विद्यार्थीले राष्ट्ररक्षाका लागि सिपाहीको भूमिका पनि निर्वाह गर्नुपर्छ । 

वर्तमानमा हाम्रो राष्ट्र केही स्वार्थी मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । भ्रष्टाचारबेगर न्याय पाउन पनि गारो भइसकेको छ । विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ । एउटा विद्यार्थी निस्वार्थी हुनुपर्छ र निस्वार्थताको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ । यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन् । यसको अर्थ विद्यार्थीहरूले नयाँ र पुरानो पिँढीबिच सेतुको काम पनि गर्नुपर्छ । उनीहरूले पुरानो पिँढीसँग सुझाव लिएर नयाँ पिँढीलाई दिशानिर्देश गर्नुपर्छ । यसबाट ज्ञानवृद्धिका साथसाथै राष्ट्रनिर्माणमा समेत मद्दत पुग्छ । 

विद्यार्थी वर्गबाटै देशले आफ्नो भविष्य बन्ने आशा राखेको हुन्छ । हुन पनि उनीहरूकै कार्य कुशलताबाट देशको भविष्य चम्किन्छ । त्यसैले उनीहरू देश विकासका आधारशिला हुन् । विद्यार्थी वर्गले चाहेमा कुनै पनि देशको विकास हुन असम्भव छैन र यस कुरातर्फ विद्यार्थीले सोच्नुपर्छ । देश विकासको कार्यलाई टेवा पुर्याउन सक्ने ज्ञान र सिप सिक्ने काममा जुटिरहनु नै विद्यार्थीको कर्तव्य हो । विद्यार्थीहरूकाे पढाइबाटै देशको चौतर्फी विकास हुने भएकाले देश विकासमा विद्यार्थीको भूमिका उल्लेखनीय रहेको छ ।

त्यसैले देश विकाशमा विद्यार्थीको धेरै ठुलो महत्त्व हुन्छ र विद्यार्थीले पनि यो कुरालाई मजाकका रूपमा लिनु हुँदैन ।