Written by: Benit Shrestha - 21105, Grade XII
Posted on: 06 October, 2020
कलिलो उमेरमै धेरै कुराहरू बुझेको छु, भोगेको छु भन्ने विचारधारामा म सहमत हुन सक्दिनँ । सबैजस्तै मैले पनि समयसँग खेल खेलेको छु र समयको साथसाथै म पनि परिवर्तन हुन पुगेको छु । सानो बेलाको त्यो निर्दोष अनुहार याद गर्दा मस्तिष्कले सोच्छ कि त्यो निर्दोषता कता हरायाे ? त्यो बेला साथीभाइसँग खेलकुद गर्दा उत्पत्ति हुने जाँगर र रहर कसले पो चोरी लगेछ भन्ने प्रश्न आफूलाई गर्छु तर जति गम्भीरताका साथ यी कुराहरू सोचे पनि आजभोलि न खेलकुद गर्ने जाँगर चल्छ, न त्याे निर्दोष अनुहारको खोजी गर्ने ख्याल आउँछ । आफू बदलिएको देखेर आफैँ अचम्मित हुन्छु अनि हरेक दिन यो परिवर्तन समाजले स्वीकार गर्ला कि नगर्ला भन्ने दोबाटोमा पुग्छु ।
अहिले के कुरामा ध्यान दिने र पछि भविष्यमा के गर्ने जस्ता महत्त्वपूर्ण कुराहरू आफूलाई नै स्पष्ट नभएपछि आफ्नो अवस्था देखेर दया लाग्दैन त ? अनि यही कुरा अरूले प्रश्न गर्दा कहिले नबन्ने डाक्टर र इन्जिनियर भन्नुबाहेक अरू के उत्तर नै बाँकी रहन्छ र ? पहिलेजस्ताे एउटै कुरामा ध्यान दिन सक्ने क्षमता कमजाेर हुँदै गएकाले नेपालमा पाइने दुर्लभ प्राणीहरूजस्तै एक दिन याे क्षमता पनि विलुप्त हुने सम्भावना देख्दछु ।आफूमा अहिले यस्ता कमीहरू देखा परेपछि मैले आफ्नो प्रगतिको लागि गरेका सबै प्रयासहरू आधाअधुरा लाग्न थाल्छन् तर मेरा यी कमी र कमजोरीहरूले मलाई साधारण व्यक्ति हुने दृष्टिकोणबाट बाहिर धकेलेका छन् त ? मेरा कमजाेरीहरू धेरै प्रतिकूल भए भन्दैमा म स्वत: असामाजिक व्यक्ति बन्न पुग्दिनँ र यी कमजोरीहरूभन्दा विपरीत काम गरेमा अरूले मलाई साधारण व्यक्ति भन्लान् त ? जति गहिरो गरी विचार गर्दा पनि के कुराले चाहिँ मलाई साधारण तुल्याउँछ भन्ने उत्तर फेला भएको छैन । तर सबैजना आफ्नै जिन्दगीमा व्यस्त हुन्छन्, त्यसैले म साधारण हुनु नहुनुकाे मुख्य अर्थ नै रहेन । समाजले वास्ता गरे पनि, नगरे पनि ‘के म साधारण छु ?’ भन्ने अस्तित्वगत प्रश्नको म जवाफ खोज्दै हुने छु ।