Logo

Student Corner

नेपाली संस्कृति र त्यसमा भएको विकृति

Written by: Ashraya Banskota - 21104, Grade XII

Posted on: 04 October, 2020

नेपाल एउटा सुन्दरताले भरिपूर्ण देश हो । यो देश अनेक जातजाति, भाषा, संस्कृति र भूगोलको मिलनले बनेको छ । यति भन्दा भन्दै पनि यहाँ मानिसबिच कुनै भेदभाव हुँदैन । यो देश करि ३ करोड नेपालीको वासस्थान हो र यहाँ सबैजना मिलेर बस्छन्, त्यसैले यहाँ अनेकतामा एकता छ भनेर भनिन्छ । संस्कृतिको कुरा गर्दा यो देश धर्ममा भन्दा पनि संस्कृतिमा धेरै धनी छ । नेपालमा धेरैजसो हिन्दु र बाैद्धमार्गीहरू छन् । यहाँ इसाई तथा इस्लाम धर्मका मानिसहरूको पनि बसोबास छ । शान्तिको प्रतीक मानिने बुद्ध पनि यही नेपालमै जन्मेका हुन् । हरेक साल बुद्धको जन्मदिनमा करोडौँ मानिस विश्वका अलग अलग ठाउँहरूबाट नेपाल प्रवेश गरिरहेका हुन्छन् । हिन्दुहरूको एउटा महान् चाड भनेको शिवरात्रि पनि हो । याे दिन शिवजीका भक्तहरू पशुपतिनाथस्थलमा आई शिवजीको पूजा गर्छन् । नेपालमा मनाइने चाडहरूमध्ये सबैभन्दा ठुलाे चाड दसैं हो । दसैँमा ठुला मानिसहरूले सानालाई टीका लगाई राम्रो भविष्यको कामना गर्दछन् । यस्ता अरू कयौँ चाडपर्व हामी नेपालीहरू मिलेर मनाउँदछौँ ।

 यस देशमा सबै धर्मका मानिसहरू मिलेर बस्दछन्। ‘गाँस छाेड्नु, साथ नछोड्नु’ भन्ने उखानजस्तै आपतको बेला सबैले सबैलाई मद्दत गर्छन् । यसले नेपाली जातिको सहयोगी भावनाको उदाहरण दिन्छ । सुखमा मात्र साथ नदिई नेपालीहरू दुःखको बेला पनि साथ छोड्दैनन् । यही आपसी सहयोगले नेपाली संस्कृतिकाे विशेषता झनै झल्काउँछ । नेपाली संस्कृतिले समाजसेवालाई पनि उत्तिकै महत्त्व दिन्छ । घरमा आउने अतिथिलाई सेवासत्कार गरेर मात्र घर पठाउने हाम्रो नेपाली जातिको चलन रहेको छ । यति मात्र नभई मठमन्दिरमा जाँदा पनि हामी नेपालीहरू गरिबलाई अन्न दिई उनीहरूलाई मद्दत गर्दछौँ । त्यही परोपकारी भाव नेपाली संस्कृतिले सबै नेपालीमा जगाउँछ ।

नेपाली संस्कृतिमा राम्रा पक्षहरू मात्र नभई विकृत पक्षहरू पनि छन् । भगवान्‌लाई प्रसन्न बनाउन कति नेपालीहरू जनावरहरूकाे प्राण लिन्छन् तर भगवान् मारकाटबाट खुसी हुँदैनन् । आपत्‌काे बेला अरूहरूलाई सहयोग गर्ने, कसैप्रति घृणाको भावना नराख्ने, सबैलाई माया गर्ने जस्ता कुराहरू गर्न थाल्यौँ भने भगवान् मात्र हैन सबैजना खुसी हुन्छन् । एउटा मान्छेले यस्ताे कार्य सुरु गर्याे भने अरूले पनि त्यही मार्ग अनुसरण गर्न थाल्छन् र यही सानो पाइलाले समाजमा भएको विकृति हटाउने कार्यकाे थालनी गर्न सक्छ । बिहेपछि स्वास्नीमान्छेहरूले लोग्नेमान्छेको खुट्टा ढोग्ने प्रथा पहिलेदेखि नै नेपाली संस्कृतिमा चलिरहेको छ । मेरो विचारमा यो पनि नेपाली  संस्कृतिको विकृत पक्ष हो । जहिले स्वास्नीमान्छेले मात्र खुट्टा ढोग्नु मेरो हिसाबमा सही होइन । विवाह भनेको एउटा पवित्र बन्धन हो र यस बन्धनमा बाँधिइसकेपछि दुवैजनाले एकअर्कालाई सम्मान गर्नुपर्छ र यदि स्वास्नीमान्छेले खुट्टा ढोग्नुपर्छ भने लोग्नेमान्छेले पनि आफ्नी स्वास्नीको खुट्टा ढोग्नुपर्छ ।

हामीले जति पनि लैङ्गिक समानताको लागि आबाज उठाए पनि ससाना प्रथाले गर्दा नेपाली संस्कृतिमा भएकाे लैङ्गिक विभेद हटाउन सकिएकाे छैन । यो भेदभाव महिलामा मात्र होइन, पुरुषमा पनि देख्न पाइन्छ, जस्तैः दसैँको दक्षिणा दिँदा छोरी मानिसहरूलाई दक्षिणा दिइन्छ भने छोराहरूलाई  दिइँदैन । गरिब र असहायलाई हेप्ने, नाेकर बनाउनेजस्ता सोचबाट नेपाली संस्कृति र नेपाली समाज कुप्रथाबाट मुक्त हुन सकेको छैन । हामीले नेपाली संस्कृतिको सकारात्मक पक्ष बिर्सिन पुगेका छौँ । यही चल्दै गयो भने नेपाली समाजले नेपाली संस्कृतिको महत्त्व बिर्सिन सक्छौँ र नेपाली त्यसैले हामी नेपालीहरूले नेपाली संस्कृतिका विशेषताहरूलाई अगाडि बढाई नेपाली संस्कृतिमा भएका विकृतिहरू हटाउने कोसिस गर्नुपर्छ र यही कोसिसले एक दिन हामी नेपालीहरू अवश्य नै सफल हुनेछौँ ।