Logo

Student Corner

देशकाे विकासमा युवावर्गको भूमिका 

Written by: Subham Regmi - 2022014, Grade XI

Posted on: 28 September, 2020

हाम्रो देश नेपाल सानो भए पनि हिमाल, पहाड र तराईमा विभाजित छ । विभिन्न भाषाभाषी, धर्म संस्कृतिले भरिएको देश हो नेपाल l नेपालका ३ कोटि जनसङ्ख्यामा सबभन्दा बढी युवावर्गकाे सङ्ख्या देखिन्छ । देश विकासमा आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतिमा युवावर्गले ठूलो भुमिका खेल्ने गर्छन् । यसै महत्त्वलाई स्वीकार गरेर होला सन् १९८५ लाई विश्वभरि युवा वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्रसङ्घले  १४ वर्षदेखि २५ वर्षको उमेरलाई युवा ठहराएको छ भने नेपालमा १६ वर्षदेखि ४० वर्षको उमेरका व्यक्तिलाई युवा ठानिएको छ । 

युवा शक्तिलाई देशको मानचित्रमा परिवर्तनको रेखा कोर्न सक्ने ठुलो वाहकका  रूपमा लिने गरिन्छ । यिनै युवा देशका सम्पत्ति हुन्, भविष्यका आधार हुन् । त्यसैले युवावर्गमा आउने विकृति समयमै हटाउनुपर्छ अनि मात्र देशलाई चाहेको बाटोमा डोर्‍याउन  सकिन्छ । उनीहरूलाई सानैदेखि असल शिक्षादीक्षा दिएर परिश्रमी, स्वावलम्बी बनाई  हृदयमा देशप्रेमको भावनालाई उजागर गराउन सकिन्छ । एउटा राम्रो शिक्षा पाएको युवा नै भोलि देशको जिम्मेवार नागरिक बन्न सक्छ ।

तर आज युवावर्गमा विचलन आएको छ । उनीहरू पाएको जिम्मेवारीबाट पन्छँदै गलत बाटोमा लाग्न थालेका छन् । सामाजिक सञ्जालमा अनावश्यक कुराहरू हेरेर समय बिताउनु, समाजमा बरालिएर हिँड्नु, गाँजा खाएर मात्तिनु र अर्ती उपदेश दिने गुरुलाई बेइज्जत गर्नु नै युवावर्गको दिनचर्या भएको छ । युवाहरू आफ्नै गलत क्रियाकलापका कारण गैरजिम्मेवारीतर्फ घचेडिन थालेका छन् । यदि राष्ट्रनिर्माणमा जुट्नुपर्ने युवाहरू यसरी  बरालिएर हिँड्न थालेमा यस देशको हालत कस्तो होला ? परिश्रम र मिहिनेत गर्नुपर्ने ठाउँमा चोरी, डकैती, दुस्ट्याइँ गर्न थाले देशको विकासमा बाधा पुग्न सक्छ । प्रत्येक  शिक्षक, अभिवावक, समाज तथा विद्यालयले युवामा असल गुण भर्न दिलो ज्यान दिएर लाग्नुपर्छ ।

युवावर्ग देशको सम्पत्ति र शक्ति हो र यो कुरालाई हैन भन्न कसैले सक्दैन । यसरी  कुसङ्गतमा लागेका र अन्योल तथा अँध्यारोमा छट्पटाइरहेका युवालाई उचित शिक्षादीक्षा प्रदान गरेर कर्तव्यबोधको भाव जगाएर एउटा अनुशासित युवावर्ग तयार पार्न सकेमा राष्ट्र निर्माणमा युवाहरू सक्रिय भई लाग्न सक्छन् ।