Logo

Student Corner

अमेरिकी चलनः ‘जेन्डर रिभिल पार्टी’ र दुर्घटना

Written by: Manit Bhattarai - 21112, Grade XII

Posted on: 23 September, 2020

नयाँ बच्चाको जन्म हुनु अगाडि अमेरिकामा आ-आफ्नो परिवार र नजिकका आफन्तहरूलाई बोलाई एक प्रकारको कार्यक्रम आयोजना गर्ने गरिन्छ । यस चलनलाई अमेरिकीहरूले ‘जेन्डर रिभिल पार्टी’ भनेर नाम दिएका छन्। पहिलो उल्लेखनीय ‘जेन्डर रिभिल पार्टी’ सन् २००८ मा ‘जेन्ना’ नाम गरेकी महिलाले आफ्नो बच्चाको लिङ्ग घोषणा गर्दा आयोजना गरिएको थियो । त्यस पार्टीमा जेन्नाले केक काट्दा भित्र निलो रङ्ग भेटियो भने छोरा र गुलाबी रङ्ग भेटियो भने छोरी हुन्छ भनेर रमाइलो खेल आयोजना गरेकी थिइन् ।

बिस्तारै यो चलन सम्पूर्ण अमेरिकाभर फैलन थाल्यो । यो चलन फैलन मात्र होइन, यसमा परिवर्तन पनि हुन थाल्यो । सुरु सुरुमा त केक काट्ने मात्र चलन थियो तर बिस्तारै निलो वा गुलाबी रङ्गको बेलुन उडाउने, रङ्ग उडाउने, छोरा भए निलो र छोरी भए गुलाबी रङ्गको लुगा किनिदिने जस्ता विभिन्न प्रकारका सृजनात्मक उपायहरू खोज्न थालियो तर यस्तो सृजनात्मकता जहिले राम्रो पनि मात्र हुँदैन । बरु झन अहिले आएर राम्रोभन्दा बढी हानिकारक घटनाहरू देखिरहेका छन् ।

हालसालै अमेरिकाको क्यालिफोर्नियामा जेन्डर रिभिल पार्टीको नाममा ७००० एकड क्षेत्रफलभरि आगो फैलिएको थियाे । बच्चाको लिङ्ग घोषणा गर्ने बेला धुवाँ उत्पादन गर्ने यन्त्रका कारण आगो बलेर जङ्गलदेखि मान्छेका घरहरूसम्म जलेका थिए । याे आगोका कारण क्यालिफोर्नियाका धेरै बासिन्दाहरू आफ्नो घर छोडेर जानुपर्ने अवस्था आइपुगेको थियाे । आगो निभाउनका लागि ५०० भन्दा बढी ‘फायर फाइटर’ र ४ वटा जति हेलिकप्टरको सहयोग लिनुपरेको थियो । यो आगोको कारण सयौँ मानिसको सम्पत्तिको नोक्सान भएको र एकजना ‘फायर फाइटर’ को ज्यानसमेत गुमेको खबर छ । 

थोरै रमाइलोका नाममा आफ्नो वरिपरिका कुराहरूमा ध्यान नदिएका कारणले अरूको त नोक्सान गराइहाले, सँगसँगै आफ्नो र जुन बच्चाका लागि यो दुर्घटनात्मक कार्यक्रम आयोजना गरिएको थियो, उसको समेत जीवन बरबाद भयो । यस घटनाबाट केही राम्रो कुरा नआए पनि आफ्नो वरिपरिको वातावरण हेरेर काम गर्नुपर्छ भन्ने कुरा सिक्न सकिन्छ ।

सन्दर्भ सामग्रीः

__ (सन् २०२०) (सम्पा.), जेन्डर रिभिल "पाइरोटेक्निक" ब्लेम्ड फर ७००० एकर वाइल्डफायर इन क्यालिफोर्निया, क्यारोलाइना २८२०८, युनाइटेड स्टेट्स : डब्ल्युबिटिभी ।

___ (सन् २०२०) (सम्पा.), फायरफाइटर डाइज ब्याट्लिङ्ग एल डोराडो फायर स्पार्क्ड बाइ जेन्डर रिभिल पार्टी पाइरोटेक्निकस्, न्युयोर्क, युनाइटेड स्टेट्स : आइविट्नेस न्युज, केएबिसिटिभी, एबिसी ७ । 

गोट्स, जेकब (सन् २०२०), जेन्डर रिभिल पार्टी, स्यान फ्र्यानसिस्को, युनाइटेड स्टेट्स : विकिपिडिया ।