Logo

Student Corner

नारी शिक्षा: आजको आवश्यकता

Written by: Ashraya Banskota - 21104, Grade XII

Posted on: 21 September, 2020

नारी आजको युगकी सान हुन् । नारीले नै यस संसारलाई जन्माएकी हुन् । यही नारीले गर्दा नै यो संसारको निर्माण भएको हो । आजको युगमा शिक्षा मानिसको लागि अत्यन्तै आवश्यक हुन्छ । यसै शिक्षामा नारी शिक्षा पनि आवश्यक हुन्छ । अहिलेको युगमा नारी र पुरुषबिच विभेद नभए पनि हाम्रो देशमा भने अहिलेसम्म छोरालाई प्राथमिकता दिने चलन चलिरहेको छ ।

 नेपालजस्तो देशमा नारी शिक्षा अत्यन्तै आवश्यक हुन्छ । नेपालका गाउँघर अशिक्षित छन् । कतिपय गाउँलेहरू अन्धविश्वासको पछि लागी छोरीहरूलाई पढाउन रुचाउँदैनन् । यस्ता ठाउँमा छोरीहरूलाई प्राथमिकता दिने जस्ता भाव  देखिँदैनन् । छोराहरूले परिवारको वंश अगाडि बढाउँछन् भन्ने सोचाइले गर्दा कयौँ गाउँलेहरू छोरीहरूलाई हेला गर्दछन् । छोरी न जन्मियोस् भनेर पहिले धेरै मानिसहरूले गर्भपात गर्थे । छोरीहरूलाई पढाएर शिक्षित बनाउनुको सट्टा घरायसी कामकाज गर्ने  शिक्षा दिन्थे । कतिपय गाउँलेहरू छोरीहरूको बच्चामै विवाह गरेर अर्काको घरमा पठाइदिन्छन् । नेपालमा धेरै गाउँहरू भएकाले शिक्षा र चेतनाको अभाव बढी देखिन्छ । त्यसैले हामीले शिक्षाको लागि जनचेतना जगाउनुपर्छ । जुन घरमा आमा शिक्षित छैनन्, त्यहाँ शैक्षिक वातावरण बनाउन मुस्किल हुन्छ । बच्चाको भविष्य निर्माण गर्न मुस्किल हुन्छ । त्यस घरमा अशिक्षाको अन्धकार छाउँछ तर नारी शिक्षित भइन् भने देश तथा संसारभर एक उदाहरण प्रस्तुत गर्न सक्छिन् । 

अहिले कतिपय नारीहरूले आफ्ना नाम कमाउन सकेका छन् । नारीहरूले सबै स्थानमा काम गरेर पहिलेको समाजको सङ्कीर्ण सोचलाई बदल्ने प्रयास गरेका छन् । मलाला युसुफजाईको नै उदाहरण लिई नेपाली नारी पनि शिक्षाको महत्त्व सम्झन सक्छन् । मलालाले नारीहरूले शिक्षा पाउनु उनीहरूको अधिकार हो र यो अधिकारलाई कसैले खाेस्न सक्दैनन् भनेर आवाज उठाइन् । आधा शरीर नचल्ने पारिजात पनि नेपालमा एक उदाहरण बनिन् । उनले आत्मबल र  आत्मविश्वासले कलम चलाई पुरै नेपालभर एक चर्चित साहित्यकार बनेर नाम कमाइन् ।

आजको युगमा नारी पनि पुरुषभन्दा कम छैनन् । चुलाेचौकाे छाडेर  नारीहरू डाक्टर, इन्जिनियर बन्न सक्षम भएका छन् । यो संसारकै लागि गर्वकाे कुरा हो । गाउँघरतिर भने शिक्षाको उचित बन्दोबस्त नभए पनि धेरै गाउँलेहरूले सञ्चार तथा जनचेतनाको माध्यमबाट नारी शिक्षाको महत्त्व बुझ्न सकेका छन् । अझै चेतना जगाई हामीले नारी शिक्षाको आवश्यकता पुरै संसारभर फैलाउन सक्छौँ ।