Logo

Student Corner

शाकाहारी हुनु राम्रो कि मांसाहारी ?

Written by: Simon Sangat - 2022019, Grade XI

Posted on: 17 September, 2020

सबै जीवलाई बाँच्नका लागि खाना चाहिन्छ । खानालाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । ती हुन्ः शाकाहारी भाेजन जसमा कुनै प्रकारको जनावरको मासु हुँदैन र मांसाहारी भाेजन जसमा मासु समावेश गरिएको हुन्छ । खानासम्बन्धी विषय व्यक्तिको जीवनमरणसँग जोडिएकाले हामीले कुन किसिमका खाना सेवन गर्छाैं, त्यसमा ध्यान पुर्याउन आवश्यक हुन्छ । शाकाहारी भाेजन राम्राे कि मांसाहारी भाेजन राम्राे भन्ने कुरा धेरै विवादास्पद विषय रहेकाे छ । त्यही पनि कुन भाेजन उपयुक्त हुन्छ भन्ने विचार व्यक्ति व्यक्तिअनुसार फरक पर्छ । 

मानिस ढुङ्गे युगमा सिकार गरेर जीवनयापन गर्न बाध्य थिए । जनावरको मासु नखाई बाँच्नका लागि अरू कुनै विकल्प नरहँदा मानिस मांमसाहारी बन्न पुगे । पछि पछि बर्बर युगमा पुग्दा मानवमा मानसिक विकास हुँदै आयो र मानिसले कृषि उत्पादन र पशुपालनकाे सुरुवात गर्याे । मानिसले धर्म संस्कृतिकाे पनि विकास गर्याे । अहिले यस सभ्य युगमा जब मानव याे जगत्‌कै विकसित र सर्वश्रेष्ठ प्राणी हाे त्यसैले यति बेला मानिसलाई खान र बाँच्नका लागि अरू प्राणीकाे हिंसा गर्न आवश्यक छैन । त्यसैले कसैले शाकाहारी भाेजनलाई प्राथमिकता दिन्छन् त काेही मांसाहारी भोजनलाई प्राथमिकता दिन्छन् । खासमा निर्दाेष जनावरलाई काटमार गरेर खानु पाप हो भन्छन् । त्यही पनि शरीरलाई चाहिने पाेषण पुर्याउन धेरैले मांसाहारी भाेजन खान्छन् । नेपालमा पनि खसी नकाटिकन दसैँ मनाइँदैन । आज विश्वमा मासुजन्य उत्पादनकाे उच्च माग रहेकाे छ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोगहरू लाग्छन् । रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि विज्ञहरूले औँल्याएका छन् । 

हाम्रो धर्मशास्त्रअनुसार खानालाई केवल शरीरको पोषणको स्रोतको रूपमा मात्र लिनुहुँदैन तर दिमागको कम्पनको रूपमा पनि लिनुपर्छ । शाकाहारी भोजनको सेवनले उच्च कोलेस्ट्राेल, मुटु रोग, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याबाट बचिन्छ । जनावरमा आधारित खाद्य पदार्थहरूको पोषणले ट्युमरको विकास गर्दछ जबकि बोटबिरुवामा आधारित पोषणले ट्युमर विकासलाई घटाउँछ । शाकाहारी खानाले पनि हाम्रो मांसपेशीहरूलाई बलियो पार्छ र तिनीहरूलाई छिटो बढ्न मद्दत गर्दछ । यसले शरीरको क्षमता र हेमोग्लोबिन कायम राख्न मद्दत गर्दछ । 

हामीले आफ्नो शरीरलाई के खुवाउँछौँ, त्यसले हाम्रो स्वास्थ्य र जीवनमा महत्त्व राख्छ । मांसाहारी आहार वास्तवमा प्रोटिन र भिटामिन बी १२ तथा अन्य भिटामिनजस्ता पोषक तत्त्वमा धनी भए पनि हानिकारक हुन्छ । मांसाहारी खानेकुराले हाम्रा मांसपेशीहरूलाई बढ्न मद्दत गर्दछ । आधुनिक विज्ञानअनुसार अन्डा तथा मासुजन्य पदार्थ पोषणका लागि अत्यन्त महत्त्वपूर्ण छन् किनकि यी खानेकुराहरूमा प्रोटिनको मात्रा धेरै हुन्छ । तर पनि जनावरहरूलाई बाँच्ने हक छ भनेर बुझ्ने मानिसहरू मांसाहारी भाेजनको विरुद्ध जान्छन् । जनावरको प्रोटिनमा आवश्यक एमिनो एसिड पाइन्छ । जनावरको मासु विभिन्न भिटामिन र खनिजहरूमा समृद्ध भएको पाइन्छ तर रातो मासुले पेटको क्यान्सरकाे जोखिम बढाउँछ । कुनै पनि प्रकारको मासुले लामो समयपछि हानी गर्दछ । शाकाहारी कि मांसाहारी भोजन बेस भन्ने प्रश्नको छनाेट व्यक्तिमा निर्भर हुन्छ । मानिसहरू स्वाद र पोषणका आधारमा मांसाहारी भोजन सेवन गर्न मन पराउँछन्, तर मांसाहारी भोजन रोगको भण्डार हो । आयुर्वेदअनुसार मानव भनेको पृथ्वीमा सबैभन्दा विकसित प्रणी भएकाले हाम्रो आहारमा हिंसा कम हुनुपर्छ । मानिसले वातावरणमा रहेका हरेक जीवलाई हेर्नुपर्दछ । उसले खाने आहारको लाभ मानिस आफैँलाई मात्र हैन वातावरणमा रहेका हरेक जीवलाई हुनपर्छ भन्ने मेरो व्यक्तिगत विचार हाे ।

अत: पूर्ण शाकाहारी वा अति मांसाहारी हुनु दुवै राम्रो होइन । हामीले खाने सबै खानाहरूको आफ्नै पोषण महत्त्व हुन्छ । पूर्ण शाकाहारीहरूले मांसाहारी भोजनबाट पाउनुपर्ने विभिन्न पोषण तत्त्वहरू पाउन सक्दैनन् वा कम पाउँछन्, जसका कारण दीर्घकालमा समस्या आउन सक्छ । अर्कोतिर मांसाहारी भोजन पनि अधिक मात्रामा सेवन गरेमा विभिन्न प्रकारका रोगहरू लाग्न सक्दछन्, जसको उदाहरण कोभिड १९ नै रहेको छ ।