Logo

Student Corner

नमस्कार, म कुर्सी !

Written by: Girwan Paudyal - 21107, Grade XII

Posted on: 15 September, 2020

नमस्कार, म कुर्सी ! मलाई त्यो दुईखुट्टे स्टुल भनेर नझुक्किनुहोस् नि । ४ तगडा खुट्टा भएको, बस्दा आराम महसुस हुने, काठ वा प्लास्टिकले बनेको उही कुर्सी हुँ म । मलाई सिकर्मीले जन्म दिए; राम्रो प्लाईले बनेको छु म । मेरो काम अनौठो सुनिएला तर यो काम गर्दा म खुब रमाउँछु । आफू उभिएर जहिले चार खुट्टा टेकेर अरूलाई बस्ने अवसर दिन्छु ।

म एउटा कारखानामा जन्मिएँ । त्यहाँबाट खट्टक खट्टक गर्दै लगेर फर्निचर पसलको अगाडि म नमुनाको रूपमा राखिएँ । यसरी अरूबाट छुट्टिन पाउँदा मक्ख परेँ म । मलाई एउटा परिवारले दुई-तीन दिनमै खरिद गरेर लग्याे र त्यही परिवारको घरमा मैले मेरो जीवन गुजारिरहेको छु । सुन्छु कि - अरू प्रकारका नि कुर्सी रहेछन्; भोज खान जाने ठाउँमा मेरा साथीहरू टन्नै हुँदा रहेछन् । अस्ति त ती मानवहरूले सांसद भवन भन्ने ठाउँमा हाम्रो दुरुपयोग गरेर एक अर्कामाथि हमला गरे भन्ने नि सुनेथेँ !

दिनहरू बित्दै छन् । सधैँ यसरी उभिएर मेरा खुट्टाहरू गल्न थालेका छन् । मभित्र काठ  खाने किरा बसेर स्वाट्ट स्वाट्ट पार्दै मेरो नसा काट्दै छन् । खरिद हुँदा खेलौना हल्लाउने छोराले ठुलो भएर अहिले मलाई रिसको झोकमा झटार्दै छ । लाग्छ, अब मेराे जीवनमा धेरै समय बाँकी छैन । 

म एउटा सानो पाठ पढाउन चाहन्छु । त्यो पाठ निःस्वार्थ सेवाको पाठ हो । भन्छन्, सेवाको फल मिठो हुन्छ; म सारा जीवन उभिएँ तर एकरति नि मलाई कसैले बस्ने मौका दिएन । खुट्टा गलेर भाँचिन लागेको बेला पनि म उभिएकै छु र गौरवसाथ उभिन्छु । म जीवनभर उभिएँ तैपनि मेरो मनमा बस्ने सोच आएन । म जस्तै तपाईंलाई नि बेला बेला निस्वार्थी हुन अनुरोध गर्छु । दिन प्रतिदिन मानवता र भलाइ गुम्दै गएको छ । कृपया यसलाई म कुर्सीकाे तर्फबाट मानवहरूका लागि सानो पाठका रूपमा लिनुहाेला र पालन गर्नुहाेला । धन्यवाद ।