Logo

Student Corner

भ्रष्टाचार

Written by: Shritika Pokhrel - 21123, Grade XII

Posted on: 09 September, 2020

          भ्रष्टाचार शब्द दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ भन्नाले खराब र ‘आचार’ भन्नाले आचरण हो । तसर्थ भ्रष्टचारलाई खराब/पतित आचरण र दूषित मर्यादा पनि भन्न सकिन्छ ।  कुनैपनि नियम वा मर्यादाविरुद्ध आफ्नो नैतिकता पतन हुने गरी घुसखोरीको काम गर्नुलाई नै भ्रष्टाचार भन्न सकिन्छ ।  आफ्नो नैतिकतालाई बेचेर खराब व्यवहार देखाउनुलाई भ्रष्ट हुनु भनिन्छ । कानुनी रूपमा भ्रष्टाचार भनेको आर्थिक लेनदेन हो, जसमा मानिसले आफूलाई फाइदा हुने गरी काम गर्छ र जसले गर्दा देश खोक्रो हुँदै जान्छ । त्यसैले भ्रष्टाचार गर्नु एक जघन्य अपराध हो ।

             नेपालमा भ्रष्टाचारको इतिहास हेर्ने हो भने यो निकै लामो छ । वीर शमशेरको पालादेखि निकै व्यापक रूपमा फैलिएको भ्रष्टाचार हालसम्म आइपुग्दा नेपालमा यसले जरो गाडेर बसेको छ ।  यो त एक सरुवा रोगजस्तै चारैतिर फैलिएको पाइन्छ । सरकारी निकायदेखि लिएर निजी तथा सार्वजनिक संस्थाहरूमा पनि भ्रष्टाचार हुने गरेको हामीले समाचारमा छ्यापछ्याप्ती सुन्ने गरेका छौं ।  यसको सबैभन्दा गम्भीर असर राष्ट्रको विकास निर्माणमा परेको छ । अझ भन्ने हो भने यसको बेफाइदा  त गरिब र कमजोर वर्ग समुदायमा परेको देखिन्छ । भ्रष्टाचारकै कारण देश गरिब र देशवासी धनी बन्दै गएका छन् । विकास निर्माणको काममा अवरोध उत्पन्न भएको कारण हाम्रो मुलुकले निकास पाउन सकेको छैन । अहिले त आर्थिक लेनदेन नभई सानोतिनो काम पनि नहुने भइसकेको छ । भ्रष्टाचारले राष्ट्रिय अस्मितालाई नै धरापमा पारेको छ ।

                 भ्रष्टाचार रोकथाम गर्ने विभिन्न ऐन तथा संस्था जस्तै ‘भ्रष्टाचार निवारण ऐन’, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ आदिको व्यवस्था भए तापनि कुनै प्रकारको उपलब्धि भएको देखिँदैन ।  भ्रष्टाचार नियन्त्रण गर्न यस्ता प्रयासले नपुगेको कारणले हामी सम्पूर्ण नागरिकले एकजुट भई यससम्बन्धी आवाज उठाउनु अत्यावश्यक भएको छ । विभिन्न सरकारी संस्थाले भ्रस्टाचार रोकथामका लागि आफ्नो योगदान पुर्याइरहेको भए तापनि सबै नागरिक सचेत नभएका कारण अहिले पनि भ्रष्टाचार देशको हरेक कुनामा छ्यापछ्याप्ती भएको हामीले देख्न सक्छौँ । यसको रोकथामका लागि हरेक नागरिकले आफ्नो तर्फबाट योगदान दिनु अति आवश्यक छ ।

              विभिन्न समाचारअनुसार हामीले व्यापक भ्रष्टाचार हुने राजनीतिक सत्तामा भएका मानिसहरूबाट हो भन्ने सुन्छौँ । यसको मूल कारण भनेको राजनीतिक सत्तामा भएका मानिसले राजनीतिलाई समाजसेवा नठानेर पेसाका रूपमा मानेका छन्, जसले गर्दा सबै सत्तामा पुगेका मानिसहरू मौका यही हो भन्दै भ्रष्टाचार गर्न थाल्छन् र यसले गर्दा उनीहरू त धनी हुन्छन् तर यसका कारण देशचाहिँ खोक्रो बन्दै जान्छ ।  साथै सरकारी कर्मचारीहरू पनि भनेको जस्तो तलब नभएका कारण भ्रष्टाचार गर्न पुग्छन् र जागिर खाएको दुई - तीन वर्षमै ठुला ठुला घर बनाउँछन् । भ्रष्टाचार बढ्नुको मुख्य कारण भनेको पनि समाजले यस्ता  चिजलाई अझ बढावा दिनु हो । उनीहरूले धनी मानिसहरूलाई महत्त्व दिन्छन्, जसका कारण  भ्रष्टाचारीहरू अझ उत्प्रेरित भई यस्ता कामलाई निरन्तरता दिन्छन् ।

            अत: भ्रष्टाचार कुनैपनि देशको एक घातक रोग हो ।  यसलाई रोकथाम गर्नु अति आवश्यक छ ।  यसकारण सरकारी कर्मचारीहरूलाई खान लाउन पुग्ने तलबको व्यवस्था हुनुपर्छ जसले गर्दा उनीहरू  भ्रष्टाचारजस्तो जघन्य अपराध गर्न बाध्य हुँदैनन् । साथै राजनीतिक सत्तामा पुग्ने मानिसहरूले आफ्नै पेसा, व्यवसाय खोलेर आफ्नो जीविकोपार्जन त्यहाँबाट गर्ने र राजनीतिलाई समाजसेवाका रूपमा लिने हो भने भ्रष्टाचार निकै हदसम्म घट्छ । अन्त्यमा हामी सबै नागरिकले भौतिक सुखसुविधाभन्दा पनि मनको शान्तिलाई बुझेर जीविकोपार्जन गर्न पुग्ने धन मात्र आर्जन गर्ने हो भने भ्रष्टाचारलगायत अन्य विभिन्न अपराधहरू पनि आफैँ घट्दै जान्छन् ।