Logo

Student Corner

आमाको माया 

Written by: Sinja Ghimire - 21125, Grade XII

Posted on: 08 September, 2020

“आमा ! मेरो मोजा खै ?” “त्यहीँ छ हेर न राम्ररी ।” उताबाट उत्तर आयो । “छैन के, हेरिसकें मैले ।” मैले फेरि भनेँ । आमा आएर दराज खोलिन् अनि चमत्कार भयो । आधा घण्टादेखि त्यही दराजमा खोजेको तर नभेटेको मोजा अचानक प्रकट भयो । आमाको आँखा तेजिलो हो कि मेरो कमजोर, थाहा छैन । आमा, खाजा खै ? यो खै, त्यो खै ? हरेक घरमा सबै खैको उत्तर आमाले नै दिन्छिन् । 

मलाई संसार देखाउने मेरो संसार हौ तिमी, आमा ! मेरो सफलतामा मभन्दा खुसी हुने र मेरो हारमा मजस्तै दुःखी हुने मेरो सबैभन्दा प्रिय शुभचिन्तक तिमी नै हौ । मैले नभनेका चाहानाहरू पुरा गरिदिने अन्तर्यामी हुन् आमा । सधैँ मेरो साथ दिने सहयात्री र दुःख सुख बाँड्ने साथी पनि हुन् आमा । उदासीमा साथ दिने पनि आमा । खुसीमा साथ दिने पनि आमा । बाँच्ने आधार हुन् आमा । अँध्यारो लाग्छ संसार आमाबिना । सन्तानको उज्यालो वर्तमानको किरण हुन् आमा । 

कठिन छ आमा ! तिमीजस्तो बन्न । कोसिस नगरेको त होइन तर सकिनँ । सक्दिनँ पीडा लुकाएर मुस्कुराउन । सक्दिनँ मायाले घृणालाई मेटाउन । सक्दिनँ कुभलो सोच्नेको भलो चिताउन अनि सक्दिनँ तिम्रो निस्वार्थ मायालाई जित्न । माया त धेरै गर्छु तिमीलाई तर सायद कहिल्यै व्यक्त गर्न नै आएन । तर प्रयास गर्नेछु तिमीलाई खुसी पार्न ।

थाहा छैन यी कलमका मसी फिका हुन् कि मेरो दिमागको शब्दकोश, मेरा लागि आमा भगवान् अनि म उनलाई पूजा गर्ने पुजारी ।