Written by: Reva Dangol - 28019, Grade VI
Posted on: 12 July, 2021
मेरो देशको नाम नेपाल हो । मेराे देश विश्वको नक्शामा एउटा सानो इट्टा झैँ भए पनि सुन्दरतामा विशाल रहेकाे छ । संसार कै अग्लो चुचुरो सगरमाथा मेरै देशमा रहेको छ। हिमाल पहाड र तराई मिलेर बनेको देश नेपालमा १२५ जातिका मानिसहरू बस्दछन् । यहाँ धेरै हिमाल, पहाड, नदी नाला आदि छन् । प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल हेर्न विश्वभरका पर्यटकहरू आउँछन् । नेपाल जलस्रोतको धनी देशहरूमध्ये पर्दछ। नेपालमा पशुपतिनाथ स्वयम्भुनाथ बाैद्धनाथजस्ता धेरै धार्मिक स्थलहरू पनि छन् । नेपालको राजधानी काठमाडाैँमा धेरैजसाे धार्मिक स्थलहरू रहेका छन् । चारैतिर मन्दिरै मन्दिर भएकाे कारणले काठकाडाैँलाई मन्दिरै मन्दिरकाे सहर पनि भनिन्छ ।
नेपालको राष्ट्रिय जनावर गाई हो भने राष्ट्रिय चरा डाँफे हो। यसैगरी यहाँको राष्ट्रिय रङ्ग सिम्रिक हो र राष्ट्रिय हतियार खुकुरी हो। नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल र गुन्यु चोलो हो । गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी र माता सीता जन्मेको स्थान जनकपुर मेरो देश नेपालमा पर्दछ ।
मेरो देश नेपाल वीर गोर्खालीको देश भनेर पनि चिनिन्छ। संसारका ठुला ठुला हिमालमध्ये धेरै हिमालहरू नेपालमा पर्दछन् । नेपालमा ठुला ठुला तालहरूजस्तै रारा ताल गोसाँइकुण्ड छोरोल्पा तालहरू आदि पनि रहेका छन् ।
नेपालका महान चाडहरू दसैँ र तिहार हुन् । नेपालमा विभिन्न जातजातिका मानिसहरूका आ आफ्ना चाडपर्व रीतिरिवाज र धर्मसंस्कृति रहेका छन् । जस्तैः जनैपुर्णिमा, ल्हाेसार, होली, छठ इन्द्रजात्रा, घोडेजात्रा रामनवमी आदि। यहाँ धेरै जातिका मानिसहरू बस्दछन् । जस्तै नेवार, बाहुन, लामा, थारु, शेर्पा, तामाङ्ग आदि। नेपालमा धेरै राष्ट्रिय निकुन्ज छन् । जहाँ बाघ, चितुवा, गैडा विभिन्न जनावरहरू पाइन्छन् । डाँफे, मुनालजस्ता थुप्रै चराचुरुङ्गीहरू छन्। कहिले पनि अरूको सामु हार नमान्ने वीर गोरखालीहरूको नाम अहिले पनि विश्वभर रहेको छ। म आफूलाइ नेपाली भन्न पाउदा गर्वकाे महसुस गर्दछु।