Logo

Student Corner

देउकी प्रथा

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 06 July, 2021

नेपालमा प्रचलित सामाजिक कुप्रथाहरू मध्येको एक हाे देउकी प्रथा । देउकी प्रथा खासगरी नेपालको सुदुर पश्चिमको सेती र महाकाली अञ्चलमा चलेको प्रथा हो । करिब ३०० बर्ष पहिले चलेको यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेनौली देवीको मन्दिर रहेको छ । कसैलाई छोरा नभएमा, मुद्दा जित्नु परेमा वा आफ्नो मनोकाङ्क्षा पूरा गर्नु परेमा, कुनै भाकल पूरा गर्न आफ्नै छोरी वा गरिब परिवारकी अबोध बालिका किनेर देवी देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी मन्दिरमा चढाइएकी कन्या देउकी हुन् ।
अहिलेकाे २१ ‍औँ शताब्दीमा यो प्रथा निकै ठुलो विकृतिको रूपमा छ । यो प्रथा बालअधिकार विपरीत कार्य हो । हाल शिक्षाको विकास र चेतनामा भएको वृद्धिका कारण यो प्रथामा केही कमी आए पनि पुरै निर्मुल भने  हुन सकेको छैन । मन्दिरमा चढाइएका देउकीहरू बिहे गर्न उपयुक्त पनि मानिँदैनन् । देउकीले आफ्नो पुरै जीवन मन्दिरमै भगवान्लाई पूजा गर्दै बिताउनुपर्छ । देउकीले पढ्न लेख्न पनि पाउँदैनन् । आर्थिक श्रोत पनि राम्रो हुँदैन । देउकीहरूको जीविकोपार्जनको स्रोत मन्दिरमा चढाएको भेटी तथा सामाग्री हो तर यसले मात्र जीवन धान्न नसक्दा देउकीहरू देहब्यापार गर्न पनि बाध्य छन् । यसरी चढाइएका कन्याहरूको विवाह गर्न नहुने तर यौन सम्पर्क गर्न हुने अन्धविश्वास रहेको छ । यति मात्रै नभई, देउकीसँग शारीरिक सम्बन्ध राखे सबै पाप धुलिन्छ भन्ने अन्धविश्वास पनि छ । त्यस कारण देउकीहरू बलात्कारकाे शिकार हुन्छन् । जुन एकदमै निन्दनीय र महिलामाथि हुने आपराधिक कार्य हाे । 
अहिलेकाे २१ ‍औँ शताब्दीमा मानिसमा चेतना बढे पनि याे प्रथा पूर्ण रूपमा निर्मुल हुन नसक्नु भनेकाे मानिसले आफ्नाे साेचाइलाई परिवर्तन गर्न नसक्नु हाे । देवीदेवताका नाममा अन्धविश्वासलाई निरन्तरता दिनु भनेकाे  आफ्नाे खुट्टामा आफैँ बन्चराे हान्नु हाे। यसर्थ हामी सबै सचेत भई यस्ता  कुप्रथाहरूलाई जरैबाट उखेलेर फाल्नुपर्छ ।