Logo

Student Corner

रहस्यमय साथी भागः १

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 30 June, 2021

लक्ष्मी आफ्नी छोरी  कायरालाई घर फर्कन कुरिरहेकी थिई । आजकल कायरा नदी छेउँमा एक अज्ञात केटीसँग खेल्न थालेकी थिई । त्यो नदी उनीहरूको घरभन्दा धेरै टाढा थिएन । घर नजिकै भएकाले लक्ष्मीले आफ्नी छोरीलाई एक्लै खेल्न जान दिन्थी । उनीहरूको घर एक सानो जङ्गलको छेउँमा थियो । कायराको बुबा आदित्यको बाल्यकाल त्यही घरमा बितेको भएर उसलाई त्यो घर अत्यन्तै प्यारो थियो । त्यसैले होला सहर त्यो घरभन्दा टाढा भए तापनि उसले आफ्नो परिवारसँग त्यँही बस्ने निर्णय लिएको थियो । त्यो घर एक बङ्गला जस्तै बगैँचा, पिङ भएको थियो र घर एक गेट र भित्ताले चारैतिर घेरिएको थियो । घरको कौसीबाट जङ्गल र सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न सकिन्थ्यो । जब तिनीहरू त्यो घरमा बस्न थालेका थिए कायरा एक वर्षकी थिई । 
कायराको जन्म भएपछि डाक्टरहरूले निराश हुँदै लक्ष्मीले अर्को बच्चा जन्माउन नमिल्ने कुरा बताएका थिए । आफ्नी एक्लौटी छोरी भएर होला, उनीहरूले उसको साह्रै राम्ररी हेरचाह गरेका थिए । जब कायरा पाँच वर्षकी भई उसलाई आफ्नै साथीहरू भए हुन्थ्यो जस्तो लाग्थ्यो । जति ठुली भई त्यति उसलाई एक्लोपनकाे महसुस भयाे । अभिभावक भए पनि साथीहरूको कमी भएकाे ऊ महसुस गर्थी। कहिलेकाँही आदित्यले उसलाई सहरको साथीको घर लग्थ्यो तर उसलाई दिन दिनै खेल्ने साथी चाहिएको थियो। कैयौँ पटक लक्ष्मीले आदित्यलाई कायराको निम्ति सहर नजिक घर किनेर बसौँ पनि भनेकी थिई तर आदित्यले त्यस कुरालाई ध्यान नै दिएको थिएन। अब कायरालाई एक्लै खेल्ने बानी भइसकेकाे थियाे । ऊ नदीको किनारमै समय बिताउन थाली । हरेक दिन ऊ नदीको किनारमा बिहानै जान्थी र साँझ परेपछि फर्कन्थी । 
एक दिन कायरा खुसी हुँदै घर आई र नदीको किनारमा एक साथी बनाएको कुरा लक्ष्मीलाई बताई । लक्ष्मीले त्यो कुरा पत्याउन सकिन र उसको साथीको बारेमा कायरालाई सोधी। कायराले उसको साथी कस्तो देखिन्छे, कसरी बोल्छे सबै कुरा भनेपछि नजिकैको कुनै गाउँबाट आएकी होली भनेर सोंच्छे । कायराका अनुसार उसकी साथी उसकै उमेरकी थिई र त्यो सुनेपछि त्यति सानी केटी कसरी गाउँबाट एक्लै आउँछे होला भनेर लक्ष्मीलाई चासो लाग्यो। उसले कायरालाई “तिमी आफ्नी साथीलाई एकदिन यहाँ बाेलाउन ”  भनी । तर कायराले भनिन् कि उसले ऊ बाहेक अरू कसैलाई  भेटे उसँग पनि नबाेल्ने बताएकी रहिछन्। 

त्यो सुनेपछि लक्ष्मीलाई त्यो अज्ञात साथीप्रति शङ्का लाग्यो र उसले त्यसबारे आदित्यलाई भनी तर आदित्यले यो कुरालाई ध्यान दिएन । त्यो दिन उसले कायरालाई मन पर्ने मिठाई बनाएर उसको साथीकबारे जान्ने विचार गरी र उसले कायरा घर फर्किने बित्तिकै गुलाब जामुन दिएर सोधिन्, 
“स्विटी, तिम्रो साथीलाई गुलाब जामुन मन पर्छ ?” 

“मन पर्छ मामु,” कायराले गुलाब जामुन खाँदै उत्तर दिई ।

“त्यसो भए आफ्नो साथीलाई पनि यो गुलाब जामुन लगिदेउ न त। दुवै जना सँगै बसेर खाऊ।” लक्ष्मीले आफ्नो हातमा भएको गुलाब जामुनले भरिएको डब्बा कायराको हातमा थमाइदिई। 
“हुन्छ मामु” कायरा खुसी हुँदै नदीको किनारतिर लागी । आफ्नी छोरीले नदेख्ने गरी छोरीको पछिपछि नदीको किनारमा पुगी । जब ऊ त्यहाँ पुगी तब ऊ आफ्नो अगाडिकाे दृश्य देखेर चकित परी। कायराबाहेक त्यहाँ कोही पनि थिएन । उसकी प्यारी छोरी किनारमा एक्लै बसेर आफैँसँग कुरा गर्दै हावालाई गुलाब जामुन खुवाइरहेकी थिई । त्यो दृश्यले उसलाई चकित र एकदमै भावनात्मक बनायो। ऊ हतार हतार आफ्नी छोरीको अगाडि गएर जाेड जाेडले कराउन थाली  “स्विटी, तिमी यहाँ एक्लै के गरिरहेकी ? ”  

लक्ष्मीको आवाज सुनेर कायरा झसङ्ग भई । हजुरले मेरो साथीलाई भगाइदिनुभयो भन्दै रुन  कराउन थाली।