Logo

Student Corner

२०७८ सालको पहिलो दिनकाे यात्रा

Written by: Anushree Acharya - 28002, Grade VI

Posted on: 20 June, 2021

२०७८ वैशाख १ गतेको दिन थियो। सधैँजस्तै म बिहान उठेर मुख धोएर दाँत माझेँ र  नुहाउन पसेँ। म नुहाएर निस्कँदा हाम्रो घरमा मामा, माइजू र ठुलीआमा आउनुभएको थियो। हाम्रो घरमा जमघट भयो। मेरी माइजूले मलाई मिठो लाग्ने मिठा मिठा परिकार बनाउनुभयो। म सबैसगँ बसेर मिठा मिठा परिकार खाँदै सबैसँगै भएको आनन्द लिँदै खुसी थिएँ। त्यसपछि सबै जना घर जानुभयो।

मलाई घरमा बस्न मन लागेन। मैले यो कुरा आमा बाबालाई पनि भनेँ। हामीले घुम्न जाने भनेर सोच्यौँ । हामीले घुम्न जाने भनेर सोँचे पनि कहाँ जाने टुङ्गो भएको थिएन। अन्तिममा हामी कीर्तिपुर जाने निधोमा पुग्यौँ। हामीले गाडी बोलाएर त्यहाँ गयौँ। हामी कीर्तिपुर जाने भनेर गाडीमा चडेर जादैँ थियौँ। त्यही बेला कीर्तिपुरको सट्टा टौदह जाने कुरा ट्याक्सी चालक दाइलाई भनेर हामी टौदह गयौँ। 

टौदह जाँदै गर्दा मैले धेरै कुरा देखेँ। त्यहाँ मैले सालको पात पनि देखे। मैले त्यो दिन थाहा पाएँ कि हामीले सालको पातमा टेक्यौँ भने हामी चिप्लिन सक्छौँ। त्यहाँ मैले चोभार पनि देखेँ। मेरी शिक्षिकले भन्नुभएको थियो:- काठमाडौं पहिला एउटा पोखरी थियो। मन्जुश्रीले चोभारलाई काटेपछि सबै पानी बाहिर निस्कियो। त्यसपछि गोपालवंश आएर त्यहाँ राज गरेका थिए। केही समयपछि हामी टौदह पुग्यौँ। त्यहाँको सुन्दर दृश्यले मलाई पुलकित बनायो। टौदह एउटा ताल रहेछ। त्यहाँ सुन्दर सुन्दर माछाहरू थिए। हामीले माछालाई दिने आहारा लियौँ। नयाँ वर्षको दिन भएर होला त्यहाँ भिड थियो। त्यहाँ हामीले माछालाई चारो हाल्दा सबै माछा झुम्मिएर आउँथे। आमा र बाबा थकित भएर विश्राम लिनुभयो । म र दिदी भने माछालाई चारा हाल्दै गयौँ। 

साँझ पर्न लागेको थियो। अस्ताउँदो घामको छायाँ पानीमा पर्दा त आहा! त्यो दृश्य हेर्नै पर्ने दृश्य थियो। हामीले सबै हेरेपछि घर फर्किने बेला आइस-क्रिम खाएर जाने भनेर हामी आइस- क्रिम खाएर घर फर्किँदै थियौँ बाटोमा एकदम धेरै भिड देख्यौँ । के रहेछ भनेर रोकिएर हेर्यौँ त्यहाँ त फिल्म सुटिङ पो हुँदै रहेछ । मलाई पनि बालकलाकार भएर खेल्ने रहर जाग्यो । यस्तै यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै गाडी अगाडि बढ्यो । एकैछिनमा घर आइपुग्यौँ । मेरो मष्तिस्कमा बाल कलाकार हुने रहरले डेरा जमाइरहेको छ  ।
धन्यवाद।