Logo

Student Corner

अमूल्य उपहार: पुस्तक समीक्षा

Written by: Niharika Chapagain - 25006, Grade IX

Posted on: 03 June, 2021

 विषय प्रवेश
‘अमुल्य उपहार’ विजय चालिसेद्वारा रचित कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा भएका कथाहरू सरल भाषा शैलीमा लेखिएका छन् । बाल मनोविज्ञानकाे प्रयाेग गरिएकाे प्रस्तुत कथा सङ्ग्रहमा  जीवनाेपयोगी कथाहरू छन् । यस कथासङ्ग्रहका कथाहरूमा सूक्ष्म बालमनाेविश्लेषणकाे प्रयाेग भएकाे छ । हामी खुसी हुनका निम्ति ठुलो कुराको आवश्यकता पर्दैन । साना साना कुराले पनि मानिसलाई खुसी दिन सक्छ भन्ने कुरा यस कथा सङ्ग्रहका कथाहरू पढेपछि पाठकले सहजै बुझ्न सक्छन् । 
कथाहरू: 
अमुल्य उपहार 
अमुल्य उपहार कथामा राजन, सङ्गीता र सबिन दाजु बहिनी हुन्छन् र उनीहरूको आमाको जन्मदिन आउन लागेको हुन्छ । उनीहरूले पैसा जम्मा गरेर आमालाई उपहारहरू ल्याई दिन्छन् । राजनले घडी दिन्छ । सङ्गीताले पुस्तक दिन्छे भने सबिनले मिठाई किनेर दिन्छ । आफ्नी आमालाई जन्म दिनमा उपहारहरू दिएर चकित पार्छन् । सबै उपहारमध्ये आमालाई सङ्गीताले दिएको पुस्तक अमुल्य लाग्छ किनभने उनका अनुसार  किताब पुरानो भयो अथवा चोरी भयो भने पनि किताबले दिएको ज्ञान भने पनि काम दिइरहन्छ जुन कसैले पनि चोर्न सक्दैन ।     

‘परिश्रम नै तपस्या’
परिश्रम नै तपस्या कथामा जानश्रुति नाम गरेका एक राजा थिए । उनले आफ्नो राज्यमा कोही भोका नरहून् भनेर राज्यभर सार्वजनिक भोजन घर खोलेका थिए । एकदिन ॠषि रैक्व त्यहाँ गोरुगाडा चलाउँदै हुन्छन् । जब  भोजन घरको एउटा कर्मचारीले उनलाई खाना खाएर, दक्षिणा लिएर मात्र जान दिने कुरा भन्छ तब उनले परिश्रम बिनाको खाना खानुहुँदैन भनेर त्यो प्रस्ताव अस्वीकार गर्छन्। यो कुरा राजाले थाह पाउँछन् । उनी ॠषिलाई भेट्न उपहार लिएर निस्कन्छन् । ॠषि रैक्वलाई गुरुकुल र आश्रम कतै पनि नभेटेपछि राजा अर्को बाटो भएर घर फर्कन्छन् । बाटोमा एक सुन्दर बगैँचामा ॠषिले काम गरेको देख्छन् र आफ्नो उपहार दिन्छन् तर ॠषिले अस्वीकार गर्छन् । उनले राजालाई भोजन घरको कर्मचारीलाई भनेको कुरा फेरि दोहोऱ्याछन् र  ती ॠषिका कुराले राजामा ठुलो प्रभाव पार्छ र त्यसपछि उनले राज्यभरिको अपाङ्ग, अशक्त, बिरामी र कोही नभएका मनिहरूका लागि धर्मशाला खोलिदिन्छन् । परिश्रम गरेर खान नसक्ने बुढापाकालाई खानपिन र औषधी उपचार पाउने नि:शुल्क व्यवस्था मिलाइदिन्छन् र  राजाले गरेको नयाँ व्यवस्था सबैलाई मनपर्छ ।
 सडकको महत्त्व
‘सडकको महत्त्व’ शीर्षक कथामा सगुनको घर सहरभन्दा दुई किलोमिटर पूर्व थियो । घर अगाडि सुन्दर बगैँचा पनि थियो । सडक निर्माण हुन लागेको कारण सगुनको घरको बगैँचा र पर्खाललाई भत्काउनु पऱ्याे । सगुनका  आमाबुबा सरकारसँग राजी भए र सरकारलाई सहयोग गर्न आफ्नो बगैँचा र पर्खाल आफै भत्काउने थाले । उनीहरूले २ जनालाई पर्खाल र बगैँचा भत्काउन लगाए।  एक मानिसले बगैँचा र पर्खाल भत्काउँदा बिरुवा र ईंटाको जतन गरेकाले त्यो मानिसलाई एकसय रुपियाँ धेरै दिए र आफ्नो छोरो सगुनलाई मेहेनत गरेको मानिसले फल प्राप्त गर्छ भन्ने कुरा सिकाए। 
सबैभन्दा महङ्गो ढुङ्गा 
‘सबैभन्दा महङ्गो ढुङ्गा' शीर्षक कथामा एउटा धनाढ्य धाक देखाउने स्वभावको किसान थियो । ऊसँग  बहुमूल्य पत्थरहरू थिए । ऊ ती पत्थरहरू गाउँलेहरूलाई देखाउदै धाक देखाउँथ्याे। त्यही गाउँमा एउटा बुद्धिमान्  बुढा किसान थिए। बुढा  किसान गाउँमा हिँड्दै गर्दा एउटा बुढी आमाले जाँतोमा अन्नका दाना पिँधेर आफ्नो जीवन चलाएको देखेपछि उनले धनी किसानलाई उनीसँग भएकाेभन्दा उनकै छिमेकीसँग अमूल्य पत्थर छ भन्दै उनलाई बुढीआमाको घरमा लगे र बुढीआमाले चलाउँदै गरेको जाँतोलाई देखाउँदै त्यही बहुमूल्य पत्थर हो भने तर त्यो कुरा सुन्दा धनी किसान हाँसे । त्यसपछि बुढा किसानले जुन वस्तु कसैको काममा आउँदैन त्यो वस्तुको मूल्य हुँदैन भने। बुढाले धनी किसानलाई बुझाउन आमाको जाँतोको उदाहरण दिए र त्यसपछि धनी किसानले आफ्ना पत्थरहरू बेचेर एक विद्यालय खोल्ने विचार गऱ्याे ।
निष्कर्ष:
यस कथा सङ्ग्रहका हरेक कथाले केही न केही शिक्षा दिएका छन् । किताब अमूल्य चिज हो र किताब पुरानो भयो अथवा चोरी भयो भने पनि किताबले दिएको ज्ञान भने पनि काम दिइरहन्छ र कसैले पनि चोर्न सक्दैन । हामीले परिश्रम नगरीकन  सित्तैमा खाने बानी गर्नु हुँदैन । परिश्रम नगरी फल प्राप्त हुँदैन र प्ररिश्रम गरेन भने मानिस अल्छी हुन थाल्छ । बिरामी, अशक्त, अपाङ्ग, गरिबहरूको सेवा गर्नु धर्म हो । सबैले परिश्रम गर्न सिक्नुपर्छ  भन्ने सन्देश यस कथा सङ्ग्रहका कथाहरूले दिएका छन् । यस्तै जीवनोपयोगी शिक्षाहरू यस कथा सङ्ग्रहबाट प्राप्त गर्न सकिन्छ। सङ्ग्रहित प्रत्येक कथामा नयाँ विषयवस्तुकाे उठान र पाठकलाई आकर्षित गर्न सक्ने कथावस्तुको सिर्जनाले कथाहरू थप उत्कृष्ट बन्न पुगेका छन् ।