Logo

Student Corner

मेरो भविष्यको योजना

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 31 May, 2021

हरेक कर्मशील मानवले आफ्नो जीवनयात्रालाई सकुशल गन्तव्यको बिन्दुमा पुऱ्याउने लक्ष्य लिएका हुन्छन् । मेरो भविष्यको योजना मेरै हातमा छ । भविष्यलाई कता लैजाने भन्ने कुरा आफैमा निर्भर हुन्छ । आफूले जस्ताे साेच्याे वा जस्ताे काम गऱ्याे त्यस्तै फल पाइन्छ ।
मैले भविष्यमा जन्मभूमिको सेवा गर्ने विचार गरेकी छु । मैले आफू जन्मेको गाउँठाउँ र माटोमा आफ्नाे सीप र श्रमलाई  समर्पित गर्न चाहन्छु । गाउँको सेवाबाट नै राष्ट्रको विकास सम्भव छ भन्नेकुरा सबैले बुझ्ने हाे भने हाम्रा गाउँ पनि सहर जत्तिकै विकसित हुन्थे। आधुनिक वा भाैतिक सुखसुविधाका नाममा आजकाल सहरमा बसाइ सर्नेकाे सङ्ख्या दिनहुँ बढिरहेकाे छ । गाउँमा भाैतिक सुखसुविधामा नहुनु र शिक्षा स्वास्थ्य राेजगारीकाे राम्राे व्यवस्था नहुनाले गाउँकाे जनसङ्ख्या घट्दाे र सहरकाे जनसङ्ख्या बढ्दाे छ ।
मानिसका आधारभूत आवश्यकता सबै सहरमा  पाइने हुनाले सहरमा मानिसको आकर्षण बढ्दो छ । स्वास्थ्य मानिसका लागि सबैभन्दा ठुलो कुरा हो ।  यदि स्वास्थ्य राम्रो भएन भने  मानिसले कुनै पनि काम गर्न सक्दैन । त्यसैले मैले मेरो गाउँमा स्वास्थ्य सुविधा पुुर्‍याउने जमर्को गर्ने छु । मेरो गाउँमा नामको स्वास्थ्यचौकीको स्थापना छ तर सिटामोल छैन , जीवनजल छैन , सामान्य रुघाखोकीको औषधीसमेत  छैन।  
मेरो गाउँमा शासन व्यवस्था र जनप्रतिनिधिका अनुहार नयाँ भए पनि काम गर्ने शैली फेरिएको  छैन । जनताका समस्या जहाँका त्यहीँ छन् । जीवनशैली फेरिएको अनुभव मेरो गाउँ  र मेरो गाउँ जस्तै अन्य गाउँका जनताले अनुभव गर्न पाएका छैनन् ।  सम्भव भएसम्म र सकेसम्म स्वास्थ्यसेवा मेरो गाउँमा मात्र नभएर देशभर नि:शुल्क  गराउने मेरो योजना छ ।  राम्रो  काम गरेर एउटा उदाहरणीय  व्यक्ति बन्ने मेरो भविष्यको योजना छ।