Logo

Student Corner

सुन्दरता आँखामा मात्र सीमित छैन

Written by: Sunabi Pokharel - 25018, Grade IX

Posted on: 27 May, 2021

अहिलेको यो संसारमा मानिसलाई सीपभन्दा बढी रूप र रङको चिन्ता हुन थालेको छ । चिन्ता हुन पनि जायज नै छ । अहिले हामी यस्तो समाजमा बसिरहेका छौँ जुन समाजमा मानिसको रङ र रूपले मानिसलाई ठुलो र सानो भनेर छुट्ट्याएको छ । फलानाकी छोरी त कति काली र मोटी रैछे भनेर हामीलाई गफ गर्न त निकै सहज हुन्छ तर त्यो कुरा सुन्ने ती मानिसहरूको मनभित्र केकस्ता भावनाहरू खेलिरहेका हुन्छन् भन्ने कुरा बुझ्न चाहिँ निकै गाह्रो हुन्छ । हामी बसिरहेको समाजको समस्या के हो भन्दा सबैजनालाई जे गरे पनि चित्त बुझ्दैन । सुरुमा अरूलाई काला, मोटाजस्ता शब्दहरूको प्रयोग गर्छन् । त्यसले गर्दा मानिसहरूले धेरै कुरा सहनुपर्छ । कालो भनेको कतिपयलाई मन नपर्न सक्छ । हामीले कालो भनेपछि उनीहरूको चित्त दुख्न सक्छ । त्यसपछि उनीहरूले गोरो हुने अनेक उपायहरू खोज्न थाल्छन् । मेकअपको अधिक मात्रामा प्रयोग गर्न थाल्छन् । त्यसपछि पनि कोही शान्त रहँदैन हाम्रो समाजमा । हेर न कति नक्कल पारेकी, कस्ती चटक देखाकी भन्ने कुरा उठ्न थाल्छ । यही कुरा दुब्ला, पातला मानिसहरूमा पनि लागु हुन्छ । अलिक आफूलाई ठिक्क देखिने लुगा लगायो भने पनि सबैले नानाथरीका कुरा काट्न थाल्छन् । अब अरूले जेसुकै भनून् चित्त दुखाउन हुँदैन भन्ने कुरामा म पनि सहमत छु । तर यो कुरा भन्न जति गर्न सजिलो हुँदैन । यसले मानिसको आत्मविश्वासमा गहिरो चोट पुग्न सक्छ ।  कसैले भनेका ती दुईतीन शब्दले एउटा मानिसको जीवनमा कति नराम्रो असर पुऱ्याउन सक्छ भन्ने कुरामा हामीले विशेष ध्यान पुऱ्याउनुपर्छ । यसले मानिसमा मानसिक रोग निम्त्याउँछ । कति त डिप्रेसनका सिकार हुन पुग्छन् । अहिले प्राय जसो सबै मानिसहरू सामाजिक सञ्जाल प्रयोग गर्छन् । फेसबुक र इन्स्टाग्राममा मानिसहरू आफ्ना तस्बिरहरू राख्छन् । ती तस्बिरहरूमा धेरै जनाकाे प्रतिक्रिया कति कालो, कति मोटो, कति दुब्लो, जिउ घटाउनुपर्‍यो, अलिक धेरै खान थाल्नुपर्‍यो, सुहाएन, मेकअप नलगाउ जस्ता धेरै प्रतिक्रिया लेखेका हुन्छन् ।  यदि मेकअपले आत्मविश्वाश बढाउँछ भने मेकअप किन नगर्ने  । कति मान्छे त जति खाए पनि नमोटाउने हुन्छन् । कति थोरै खाए पनि मोटाउने हुन्छन् । त्यो कुरालाई हामीले अपनाउन सक्नुपर्छ । मोटो छ भने कसरत गरेर घटाउनु त राम्रो कुरा हो । तर त्यसरी मोटाे देखियो जिउ घटाउ भन्ने तरिकाचाहिँ  सबै ठाउँमा ठिक नहुन सक्छ। मानिसले स्वयम् आफूप्रति नै प्रश्न उठ्ने गरी भन्नुचाहिँ त्यति उपयुक्त नहाेला। हामीले यो कुरा बुझ्नुपर्छ कि सबै मानिसले ती शब्दहरू नराम्रो तरिकाले भनेका पनि हुँदैनन् । कसैले मायालु स्वभावले मोटी, काली भनेका पनि हुन्छन् । मायाले भनेको र घृणाले भनेको छुट्ट्याउन सक्ने हामी हुनुपर्छ । भन्नेले मायाले भनेको छ तर बुझ्नेले उसले मलाई हेपेको हो भनेर बुझ्यो भने सम्बन्ध बिग्रन पनि सक्छ । यदि आफूलाई त्यसो भनेको मनपर्दैन भने मलाई यस्ताे भनेकाे मनपर्दैन भन्नुपर्छ । त्यसपछि अरू मानिसले पनि बुझेर त्यस्ता शब्दको प्रयोग गर्न छोड्नुपर्छ । हामीले आफ्नो आँखाले देखेको भरमा कसैलाई पनि मूल्याङ्कन गर्नुहुँदैन । सुन्दरता केवल आँखामा मात्र सीमित छैन । सुन्दरता भनेको मानिसको भित्री हृदयमा हुन्छ । अर्थात् कसैको गुणलाई नराम्रो गुण भनेर मूल्याङ्कन गर्नु निकै खराब मानिन्छ । यसकारण मानिसको चित्त मात्र दुख्ने नभएर उनीहरूले धेरै कुरामा शङ्का उपशङ्का गर्न थाल्छन् । त्यसैले मानिसले आफूलाई मात्र नभएर अरूको हेराइलाई पनि प्रश्न गर्छन्  । त्यसैले अरूको पनि भावना बुझ्ने प्रयास गरौँ ।