Logo

Student Corner

काेराेना अनुभव

Written by: Rushina Tamang - 26008, Grade VIII

Posted on: 10 May, 2021

विश्वमा कोरोना भाइरसले निकै नै आक्रान्त पार्‍याे ।  धेरै मानिसहरूको मृत्यु भयो ।  लामो समयसम्म विद्यालय, पसल, यातायात र विमानस्थल पूर्णरूपमा बन्द भए । एकातिर आफू पनि सङ्क्रमित भइने हो कि भन्ने डर थियो भने अर्कोतिर अनलाइन कक्षा लिँदा लिँदा कम्प्युटर र मोबाइलमा हेर्दा आँखा नै भतभत पाेल्थे र हेर्न गाह्रो हुन्थ्यो । यसरी कोरोनाभाइरसको डर र त्रासका बीचमा हामीले झण्डै ११ महिना बितायाैँ । 

११ महिनाको घरको बसाईँको समयमा हामीले घरमै बसेर पनि धेरै कुराहरू  सिक्न पायाैँ । कम्प्युटर र मोबाइल चलाउँदा चलाउँदै हामीले नयाँ नयाँ सिर्जनाहरू  पनि रचना  गर्‍याैँ ‍ ।  ल्यापटपमा सामग्री, बनाउने,  नेपालीमा टाइप गर्ने,  धेरै किसिमका बैठकहरूमा जोडिने, यस्ता कुराहरू  हामीले अनलाइन कक्षाबाट सिक्याैँ भने अनलाइनमार्फत नै हामीले सामूहिक परियोजना कार्यहरू  पनि  गर्‍याैँ ।  कक्षा लिने क्रममा हामीले धेरै समस्याहरू  भोग्नु पर्‍याे ।  कहिलेकाहीँ कक्षा लिँदालिँदै बत्ती जान्थ्याे त  कहिले इन्टरनेट जान्थ्यो भने कहिले  शिक्षकको नै इन्टरनेट अथवा बत्ती गएर हाम्रो कक्षा अवरुद्ध हुन्थ्याे  । ११ महिनाको घरको बसाईँपश्चात हाम्रो विद्यालय खुल्यो ।  विद्यालय खोल्ने खबर सुन्दा म खुसीले फुरुङ्ग भएँ र एकपटक नाचेँ । विद्यालय खुल्छ  भन्ने सुन्न पाउँदा कताकता लामो समयसम्म लागेको बादल खुलेर आकाश छर्लङ्ग भएजस्तो मेरो मनमा भएको थियो ।  विद्यालय खुले पनि पूर्णरुपमा कोरोना भने घटेको थिएन ।  त्यसैले हामीले माक्स  अनि स्यानिटाइरको प्रयोग गर्दै विद्यालय गयाैँ र सोही बमोजिम सामाजिक दूरी कायम गरेर करिब दुई महिना विद्यालयमा बितायाैैँ । 

पहिलो दिन म खुसी हुँदै विद्यालय गएँ ।  लामो समयसम्म घरमै कक्षा  लिएकाले मलाई पढाइसम्बन्धी धेरै सामानहरू  किन्नुपर्थ्यो ।  केही समय  सामान किनेपश्चात म विद्यालय पुगेँ र आफ्नो कक्षाकोठासम्म प्रवेश गरेँ । त्यसपछाडि म आफ्नी साथी संस्कृतिसँग बसेँ । धेरै समयपछि विद्यालय जाँदा निकै खुसी लागेको थियो ।  पहिलो दिनका सबै कक्षाहरू  पनि रमाइलाे  गरी  लिन पायाैँ ।  हामीले सबै साथीहरू सँग बसेर खाजा खायाैँ रमाइलोसँग खेल्यौँ ।  यसरी नै हाम्रा दुई महिना विद्यालय आएका रमाइला पलहरू  बितेँ ।   अनलाइनमै हामीले धेरैपढीसकेको कारणले गर्दा दुईमहिना विद्यालयमा पढिसकेपछि चैतमा हाम्रो वार्षिक परीक्षा सम्पन्न भयो । चैत ३१ गते हाम्रो वार्षिक परीक्षाको नतिजा पनि प्रकाशन भयो ।  यतिबेलासम्म फेरिपनि कोरोनाको हल्ला फैलिसकेको थियो ।  छिमेकी राष्ट्र भारतमा दैनिक रूपमा लाखौ मानिसहरू सङ्क्रमित भएका समाचारहरू आइसकेका थिए ।  खुला सिमाना भएका कारणले गर्दा हाम्रो देशमा पनि  त्याे अवस्था नआउला भन्न सकिँदैनथ्यो ।  त्यसैले अब हामी अनलाइनमा नै पढ्नुपर्छ  कि विद्यालय जान पाउँछाैँ भन्ने कुराकाे दोधारमा  थियौँ । जे नहोस् भन्ने लागेको थियो त्यही भयो ।  वैशाख १६ गतेदेखि अनलाइन कक्षा हुन्छ भन्ने सूचना विद्यालयबाट आयो ।  अनलाइन कक्षा सुरु पनि भयो । जे होस् हामीले पढ्नुपर्ने थियो सुरक्षित पनि हुनु थियो त्यसैले अनलाइन कक्षा नै उत्तम विकल्प रहेछ ।  अहिले हामी अनलाइन कक्षा नै रहेका छाैँ । 

 अहिले नेपालमा पनि दिनहुँ सङ्क्रमितहरू बढिरहेका छन् ।  दैनिक ९/१० हजारको हाराहारीमा सङ्क्रमितहरू बढिरहेका छन् ।  मर्नेको सङ्ख्मामा पनि वृद्धि भइरहेको छ ।  त्यसैले हामी सबै  सावधानीका साथ घरमै बसेर सिक्नुपर्ने अवस्था आएको छ ।  त्यसैले हामी सुरक्षित हाेऔँ स्वस्थ रहौं भन्दै अपनाउनुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्डहरू पूरा गरी घरमा बसाैँ ।  किनकि अबका दिनमा कहिले के हुन्छ भन्न सक्ने अवस्था छैन ।