Written by: Yunil Ghimire - 24008, Grade X
Posted on: 06 May, 2021
विश्वकप प्रतियोगिताको थालनी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफासँग जोडिएको छ भने फिफाको इतिहास विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकाससँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम,नेदरल्याण्ड,डेनमार्क,स्पेन,स्विडेन र स्विटजरल्याण्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।
विश्वकप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकुद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकुदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्वकप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।
पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशकाे सङ्ख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ विविध कारणले गर्दा पहिलो विश्वकप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रोविश्वकप मा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल प्रतिस्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य सङ्ख्या र स्तर बढ्दै गएको तुलनामा त्यो सङ्ख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाराैँ विश्वकपदेखि यसलाई बढाएर २४ देश पुर्याइयो । पुनः १९९८ को १६ औँ संस्करणदेखि विश्वकप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्याइएको हो । हाललाई यही सङ्ख्या नै कायम राखिएको छ । यसरी थालनी भएकाे विश्वकप हालसम्म यही प्रकारले चलिरहेकाे छ ।
स्राेत : सामाजिक सञ्जाल