Logo

Student Corner

छाउपडी

Written by: Anushka Basnet - 2023002, Grade IX

Posted on: 23 March, 2021

महिलाहरूमा महिनाको एक पटक महिनावारी हुनु शारीरिक र स्वभाविक प्रक्रिया हो। निश्चित उमेर पुगेपछि महिलाहरू महिनावारी हुँदा महिलाको यौनाङ्गबाट करिब ४ दिनसम्म रक्तस्राव हुन्छ । नेपालको कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा महिनावारी हुनुलाई छाउ हुनु, पर सर्नु, टणिनु, पाखा लाग्नु, बाहिर हुनु, नछुने हुनु भनिन्छ भने महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ ।

महिनावारी भएको बेला महिलालाई घरदेखि टाढा छाउघरमा राखिन्छ भने महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ । छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोवास गराइन्छ । छाउपडी बस्ने ठाउँलाई छाउगोठ वा छाउखुलाे भनिन्छ । प्रायः छाउगोठ वा छाउखुलाे गोठभन्दा पनि साँघुरो, अँध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको हुन्छ र घरबाट पनि टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । त्यसैले छाउपडी महिलाहरू विभिन्न कारणले अकालमा ज्यान गुमाइरहेका छन् । दीर्घ रोगी बनिरहेका छन् । छाउगोठभित्र बलात्कृत भइरहेका छन् । उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने हकको उपयाेग गर्न पाएका छैनन् । आफू बलात्कृत हुनुपरेको अवस्थालाई टुलु–टुलु हेर्नुपरेको छ । 

केही समय पहिलेको तुलनामा छाउपडी अहिले अलि कम भए पनि पूर्णरूपमा याे वर्षाैंदेखिकाे समस्या अझै हट्न सकेकाे छैन । जसले गर्दा छाउपडी अझै दर्दनाक, अमानवीय, अकल्पनीय पीडा महिलाहरूले भाेग्दै आएका छन् । हामी र हाम्राे समाज जतिसुकै आधुनिकतातिर धकेलिँदै गए पनि महिलालाका समस्या ज्युँका त्युँ छन् । यस्ता नराम्रा कुरालाई हामीले जरैबाट उखेलेर फाल्नुपर्छ भने महिलालाई दृष्टिकाेणमा पनि परिवर्तन आउनु जरुरी छ ।