Logo

Student Corner

हामी विद्यार्थीको दृष्टिकोणले हेरौँ !

Written by: Niharika Chapagain - 2024008, Grade VIII

Posted on: 23 March, 2021

“....आशाको कक्षामा ध्यान नै छैन । शिक्षकले के पढाउँदै हुनुहुन्छ, पाठ कहाँ पुग्यो, उसलाई केही पनि थाहा हुँदैन । झ्यालनजिकै बसेर टोलाइरहन्छे । हाम्रो एक महिनाअगाडि भेट हुँदा पनि यही कुराको चर्चा भएको थियो तर उसमा सुधार नै छैन त के गर्नु ? उसलाई मैले करिब एक वर्षदेखि हेरिरहेको छु तर उसमा केही पनि परिवर्तन नै छैन ।  विद्यालयमा आफ्नो मुख देखाउन आएको जस्तो ।” श्याम सरले रिसले आमा र बुबालाई हेर्दै भन्नुभयो र म टाउको निहुर्‍याएर सुनी बसेँ । “अ..अ..” बुबाले केही बोल्न सक्नुभएन ।  मलाई थाहा छ, उहाँ मजस्ती छोरी पाएकोमा आफ्नो भाग्यलाई धिक्कार्दै हुनुहुन्छ होला । “तपाईंलाई थाहा पनि छ ? योपालि उसले गणितमा १०० मा जम्मा ५५ ल्याएकी छे अनि ऊभन्दा राम्रा अक्षर त कक्षा १ का विद्यार्थीहरूको पनि छ । आँफै हेर्नुस्!” श्याम सरले मेरो नेपालीको उत्तरपुस्तिका बुबाको हातमा थमाउँदै भन्नुभयो । उत्तरपुस्तिका हेर्दै बुबाले मलाई हेर्नुभयो। मैले बुबाको आँखामा हेर्न सकिनँ। “यो के हो ? हँ ?” आमाले मलाई सरकै अगाडि थर्काउनुभयो ।  मेरा आँखा आँसुले भरिए र मैले केही जवाफ दिन सकिनँ । 

 

“यसरी चाहिँ हुँदैन अब ।  उसलाई घर लगेर सम्झाउनुहाेस् । उसकी दिदी भने क्या तेज तर ऊ चाहिँ, च्च! यस्तै ताल हो भने उसलाई विद्यालयले यहाँ पढ्न दिने छैन । उसका कारण धेरै विद्यार्थी बिग्रिसके ।” श्याम सरले रिसाउँदै भन्नुभयो। “हुन्छ सर, हामी सक्ने गर्छौं, विद्यालयबाट चाहिँ ननिकाल्नु होला ।” बुबाले बिन्ति गर्दै भन्नुभयो र मलाई तान्दै विद्यालयबाट बाहिरिनुभयो । आमा पछि पछि पछ्याउँदै आउनुभयो । बाटोभरि म शान्तिले बस्न सकिनँ ।  घर पुगुन्जेलसम्म शान्त थियो र मलाई थाहा थियो अब मेरो हालत के हुने छ ।  म जहिले यस्तो परिस्थितिबाट गुज्रिनुपर्छ मानौँ यो मेरो दैनिकी हो । “यो बिग्रिसकी । अब त आश नै हराइसको । यस्की दिदी जहिले प्रथम हुन्छे र सयमा सय ल्याउँछे । उसको कारण समाजमा हाम्रो शिर कत्रो ठाडो छ तर यो भने…” मैले आमा र बुबाले कोठामा छलफल गरेको सुनेँ । के म यति काम नलाग्ने छु र ? मेरी दिदी पढाइमा राम्रो हुनुहुन्छ तर के म पनि उहाँजस्तै किताबको किरो बन्नु ? मेरा आँखाबाट आँसु बग्न थाले । 

 

बुबा र आमाले म रोएको थाहा पाउनुभन्दा अगाडि आफ्नो कोठामा छिरेँ र ढोका लगाएर आफ्ना आँसुहरूलाई बग्न दिएँ । मलाई कसैले पनि बुझ्दैन । मैले मेरा भित्तामा टाँगिएका चित्रहरू, मेरो टेबलमा लडेका रङ्गहरू सबैलाई नियालेर हेरेँ र सोचेँ । के पढाइमा सफल हुनुमात्र जीवनमा सफल हुनु हो र ? हो पढाइ जरुरी छ तर मैले कोसिस गरिरहेकी छु । मलाई चित्रकलामा सानैदेखि रुचि थियो तर कसैले पनि मेरो प्रतिभा देखेन । मलाई प्रोत्साहन र प्रेरणाको आवश्यकता थियो तर सबै जनालाई गाली गर्दै ठिक्क थियो । मैले सुधारेका कुरा, मेरा चित्र आदि सबैलाई हेरेर एसो कसैले केही राम्रो भनिदियो भने पनि मलाई मेहनत गर्न जाँगर आउँछ तर मेरा आमा बुबालेसमेत मलाई बुझ्नुभएन र मलाई त्यसैको दुख छ । म रुँदै खाटमा पल्टिएँ । मेरा बुबाआमाले म मेरी दिदीजस्तै बनिनँ भने मेरो भविष्य छैन भन्नुहुन्छ। म बेकार छु । म असक्षम छु। मेरो भविष्य छैन। म मेरो परिवारको लागि अपमान हुँ र म केही पनि गर्न सक्दिनँ । मलाई मेरो कोठाबाट बाहिर निस्किन मन लाग्दैन । म कोठाबाट निस्किएँ भने सबैले मलाई मेरी दिदी र साथीसँग तुलना गर्छन् । मेरो लागि यो घर होइन, एक जेल हो जहाँ जहिले मैले एउटा नक्कली मुस्कान बोकेर हिँड्नु परेको छ ।  म रुँदै आफ्नो कम्बलमा गुट्मुटिएर सुत्न खोज्छु तर मलाई निन्द्रा लाग्दैन ।  मैले मजाले नसुतेको धेरै भैसक्यो । मलाई कहिले काँही म यो परिवारको हो कि होइन जस्तो लाग्छ ।  यति धेरै मानिसहरूको बिचमा पनि म एक्लोपनकाे महसुस गर्छु किनभने मलाई र  मेरा भावनालाई, कसैले बुझ्दैन। 


 

तुलनाले दबाब सिर्जना गर्दछ र दबाबका कारण धेरै विद्यार्थीहरूको मनोबल घट्छ। धेरै विद्यार्थीले मानसिक चिन्ता लिन्छन् र आफ्नो जीवनमा त्यस्ता चिन्ताको कारण अगाडि बढ्न सक्दैनन्। तुलनाको कारण विद्यार्थीहरूको आत्मबल, आत्मविश्वास र प्रतिष्ठामा कमी आउँछ। मैले उल्लिखित परिस्थितिलाई नै उदाहरणको रुपमा लिएँ। आशा पढाइमा अब्बल विद्यार्थी नभए पनि ऊ चित्रकलामा अब्बल थिई तर सबै जना उसको परीक्षाको फल हेर्थे त्यसैले उसका ती रङ्गहरूले लतपतिएको हात कसैले देखेन । उसका कोठामा झुण्डाइएका चित्रहरू कसैले देखेन । ऊ आफ्ना मनका कुरा चित्रमा उतार्थी र उसका चित्रहरू धेरैजसो भावनात्मक हुन्थे। उसको आफ्नै एक संसार थियो जहाँ ऊ रङ्गहरूमा हराउँथी। धेरैजसो सबै विद्यार्थी यस कुराबाट गुज्रेका हुन्छन् किनभने आँफूले जति मिहिनेत गरे पनि, मानिसको जात न हो, हामीलाई अरू नै मन पर्छ। हाम्रो परिवारले हामीलाई कोहीसँग तुलना गरेमा आफूमा केही कमी भएकोजस्तो महसुस हुन्छ त्यसैले कहिलेकाहिँ आफ्ना छोराछोरीको पनि प्रशंसा गर्नुपर्छ र तुलना गर्नुहुँदैन। हामी विद्यार्थीको दृष्टिकोणले हेरौँ र आफ्ना सन्तानको प्रतिभालाई चिनौँ ।