Written by: Pranjal Khatiwada - 2022013, Grade X
Posted on: 21 March, 2021
समाज वा जनताको सेवा गर्ने असल मनसायका साथ अरूको भलाइका लागि गरिने कार्य नै समाज सेवा हो । समाजसेवामा निजी स्वार्थलाई ख्याल नगरी अरूको भलाइका लागि काम काम गरिन्छ । समाजमा रहेका दीनदुःखीलाई गर्नुपर्ने सेवाको भाव पनि समाजसेवा नै हो । मेरो विचारमा अर्काको सेवा गर्दा जुन आनन्द आउँछ त्यो आनन्दको कुनै सीमा हुँदैन । महाकवि देवकोटाले त्यसै भनेका होइनन् सुख भनेको आफू मेटिएर अरूलाई दिनु हो ।
हाम्रा धर्म संस्कार र संस्कृतिले पनि समाजसेवा गर्नुपर्छ भन्ने संस्कार सिकाएका छन् । हाम्रा धर्मग्रन्थ आदिले पनि समाजसेवामा लाग्न प्रेरणा दिएका छन् । राम, कृष्ण , बुद्ध , येसु ,पैगम्बर सबैले हामीलाई अरूमाथि दया माया गरी रोगी दिनदु:खी माथि सेवा गर भन्ने शिक्षा दिएका छन् । त्यस्तै मदरटेरेसा , फ्लोरेन्स नाइटिङ्गेल , स्वामी विवेकानन्द जयपृथ्वीबहादुर सिंह , बालगुरु षडानन्द आदिले पनि समाजसेवामा लाग्न प्रेरणा दिएका छन् ।
हामीले चाहेमा समाजमा रहेका दीनदुःखीको सेवा गर्न सक्छौँ । प्रत्येक समाजमा रहेका त्यस्ता व्यक्तिका लागि थोरै चन्दा सङ्कलन गर्ने भने वा कुनै संस्थासँग हातेमालो गर्ने हो भने ती सबै असहायहरूले सहयोग पाउँछन् । त्यस्ता असहायहरूलाई हामीले शिक्षा, स्वास्थ्यलगायत आवश्यकताअनुसार सहयोग गर्न सक्छौँ । समाज सेवाले हाम्रो जीवनमा ठुलो सन्तुष्टि प्राप्त हुन्छ । समाजसेवामा लागेका मानिसलाई सबैले आदर सम्मान पनि गर्छन्।
समाजमा कैयौँ मानिस रोगी, असशक्त र लुलालङ्गडा भई जीवन बिताइरहेका छन् । कतिपय मानिस खानलाउन नपाएर, बस्न नपाएर ,छटपटाइरहेका छन् । कतिपय मानिस प्राकृतिक विपत्तिमा परेर बिचल्ली बनेका छन् । यस्तो अवस्थामा हामीले आफूले सकेको सहयोग गर्नु मानवीय धर्म पनि हो । समाजमा अरूको सेवा गर्ने मानिसले नै खास सुखशान्ति प्राप्त गर्दछ । अरूको दु:खमा साथ दिने मानिसलाई ईश्वरले पनि शिरमा राख्छन् भन्ने भनाइ पनि हामी सबैका लागि उपयोगी छ ।