Logo

Student Corner

नारी शिक्षा र महिला अधिकार

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 15 March, 2021

 नारी भनेका हाम्रै आमा छोरी बहिनी पत्नी बुहारी आदि हुन् । नारीलाई दिइने शिक्षालाई नारी शिक्षा भनिन्छ भने नारीलाई उनको व्यक्तित्व विकासका लागि  प्रदान गरिने हकलाई महिला अधिकार भनिन्छ । शिक्षाले नारीलाई चेतना र जागृति प्रदान गर्छ । शिक्षित महिला नै आफ्नो हक र अधिकारका लागि क्रियाशील हुन सक्छन् । शिक्षा यस्तो ज्योति हो जसले अज्ञानताको अन्धकारमा हराएकालाई आफ्नो अधिकारका लागि अघि बढ्न हौसला प्रदान गर्दछ । शिक्षा मात्र हासिल गरी अधिकारबाट वञ्चित नारीबाट कुनै उल्लेखनीय योगदान हुन सक्दैन । यसरी हेर्ने हो भने नारी शिक्षा महिला अधिकारबिचमा  नङ र मासुको जस्तो सम्बन्ध रहेको हुन्छ ।

 नारीले संसारकै आधा आकाश ढाकेका छन् । मुलुकको विकासमा नारीको पनि पुरुषसरह दायित्व हुन्छ । वास्तवमा नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । एकअर्काको सहभागिताविना पूर्णरूपमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्दैनन् ।  राष्ट्रको सर्वाङ्गगीण विकासमा नारी तथा पुरुषको समान दायित्व तथा जिम्मेवारीका कुरा सैद्धान्तिक रूपमा उठ्ने गरे पनि व्यवहारिक रूपमा यहाँ त्यस्तो देखिँदैन । नेपालमा अधिकांश नारीहरू शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित छन् । त्यसैले उनीहरू आफ्ना हक तथा अधिकारमा पूर्ण रूपमा सचेत देखिँदैनन् । यहाँका धेरै नारीहरूले दुःख पाइरहेका छन् । उनीहरू हेला, हाँसो दुर्व्यवहार र उपहासका पात्र बन्न पुगेका छन् । आजको एक्काइसौँ शताब्दीमा नारीले विश्वमा ठुलाठुला उपलब्धि हासिल गरिसक्दा पनि नेपाली महिलाहरू जुठो चुलोचौको घाँसदाउरा र मेलापातमा नै अल्झिएका छन् । राष्ट्रका उच्च काममा आफ्नो दिनचर्या बिताउने नारीहरूको सङ्ख्या एकदम न्यून छ रुढीग्रस्त नेपाली समाजको नारीप्रतिको दृष्टिकोण निकृष्ट किसिमको छ । उमेर नपुग्दै अर्काको घरमा जाने जात हो भनेर छोरीलाई शिक्षाबाट वञ्चित गर्ने प्रवृत्तिले नै नेपाली नारीको भविष्यमाथि वज्रपात गरेको छ। 

 नारी समानता र स्वतन्त्रताका बारेमा यहाँ बेलाबेलामा निकै चर्को स्वरमा भाषण गरिन्छ । केवल त्यो भाषण आफ्नो व्यक्तिगत स्वार्थभन्दा अरू  केही हुन सक्दैन । नारीको नारा लिएर संसार विजय गर्न खोज्ने पुरुषको कमी हाम्रो समाजमा छैन। महिला अधिकारका विषयमा ठुलाठुला तारे होटलमा विभिन्न गोष्ठी र सेमिनार गरिन्छन् । कार्यपत्रहरू  प्रस्तुत गरिन्छन् । प्रशस्त छलफल र बहस पनि हुन्छ । यस्ता कार्यक्रममा यस्ता सुझाउ निष्कर्ष र प्रतिवेदनहरू  कहिल्यै कार्यान्वयन हुँदैनन् । ती सेता कागजमा काला मसीले लेखिनुबाहेक तिनको कुनै अर्थ हुँदैन ।  मुलुकमा गणतन्त्र स्थापनापछि पनि नारी हक र अधिकारका विषयमा निकै बहस  भएका छन् । सर्वत्र समावेशीकरणको मुद्दा चलिरहेको छ । बेलाबेलामा हरेक क्षेत्रमा लैङ्गिक समानता र महिला सहभागिताका प्रसङ्ग प्रशस्त मात्रमा उठे पनि  ती कार्यान्वयन भएका छैनन् ।