Written by: Simone Shree Pathak - 2023012, Grade IX
Posted on: 14 March, 2021
लिङ्गहरूबिच हुने भेदभाव नै लैङ्गिक असमानता हाे । लैङ्गिक असमानता एउटा सामाजिक समस्या हो । यो समस्या परापूर्वकालदेखि नेपाली समाजमा देखिँदै आएको छ नेपाली समाज पुरुषप्रधान समाज भएको हुनाले सदीयौँदेखिको लैङ्गिक असमानता एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि कायम नै छ ।
नेपाली समाज पुरुष प्रधान समाज हो । घरपरिवारदेखि लिएर समाज तथा राज्यका निकायमासमेत पुरुषको तुलनामा महिला सहभागिता न्यून पाइन्छ । पढेलेखेका शिक्षित समाज र सहरिया परिवेशमासमेत लैङ्गिक असमानता छ। घरमा पनि आमाबुबाले छोरा र छोरीमा गर्ने व्यवहार फरक फरक हुन्छ । छोरा र छोरीलाई पढाउने विद्यालय होस् या घरको काम होस् जुनसुकै ठाउँमा हामी यस्ता विभेद देख्न सक्छौँ । यो समस्या सहरिया परिवेशमाभन्दा गाउँले परिवेशमा अझ बढी मात्रामा देख्न सकिन्छ । विश्वका कतिपय विकसित मुलुकहरूको इतिहास हेर्ने हो भने पनि त्यहाँ पनि पुरुषको तुलनामा महिलालाई कम अधिकार दिइएको पाइन्छ भने कतिपय इस्लाम धर्मावलम्बी राष्ट्रहरूमा त लैङ्गिक असमानताका अहिले पनि व्यापक रूपमा रहेको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने राज्यका हरेक निकायमा महिला सहभागिता नगन्य मात्रामा छ । महिला सहभागिता भए पनि तिनीहरूलाई सीमित स्थान मात्र दिइएको छ । नेपालको संविधानमा लैङ्गिक विभेद गरिने छैन भने पनि व्यवहारमा यस्तो पाइएको छैन । यस्तै हाम्रो समाजमा भएका तेस्रो लिङ्गीलाई अझ हेय दृष्टिकोणले हेरिन्छ आफूहरू तेस्रो लिङ्गी भएकै कारण उनीहरू न समाजमा खुल्न सक्छन् न त अधिकारका लागि लड्न सक्छन् । जबसम्म लैङ्गिक असमानता कायम रहन्छ,तबसम्म राष्ट्रको पनि विकास हुन सक्दैन र समानताको भाव पनि हुन सक्दैन।