Logo

Student Corner

डियरवाक सिफल नाइट

Written by: Anushka Basnet - 2023002, Grade IX

Posted on: 11 March, 2021

वि.सं. २०७७ माघ २४ गते सिफल माध्यमिक विद्यालयमा कक्षा ८ - १२ सम्मका विद्यार्थीहरूको ‘डियरवाक सिफल नाइट’ कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा हामी  विभिन्न क्लबमा आबद्ध थियौँ।  क्लबमा हामीले सिकेका आफ्ना प्रस्तुतिहरू अभिभावकहरूलाई देखाउने माध्यम थियो - डियरवाक सिफल नाइट ।

 कार्यक्रमको लागि हामीले करिब दुई हप्ता अगाडिदेखि तयारी गरेका  थियौँ। यस कार्यक्रममा म सङ्गीत क्लबमा आबद्ध थिएँ । विद्यालयको नियमित पठनपाठन सकिएपछि हामीले यस कार्यक्रमको अभ्यास गर्दै आएका  थियौँ । करिब १० महिनापछि खुलेको विद्यालयमा हामीले लिएको छोटो अवधिको तालिमबाट यो सबै कार्यक्रम गर्न सबैका लागि चुनौती नै थियो भने लामो समयपछि यस्तो कार्यक्रम हुनु खुसी पनि उत्तिकै थियो । थोरै मात्र अभ्यास गर्न पाएकाले कार्यक्रम कस्तो हुने हो भन्ने खुल्दुली पनि उत्तिकै थियो ।   

पूर्व निर्धारित कार्यक्रमअनुसार रिहर्सल सकिएपछि दिउसो ३:०० बजेतिर हामी सबैले खाजा खायौँ । करिब ४:२५ बाट हाम्रो कार्यक्रम सुरुभयो । हाम्रा अभिभावकहरू पनि कार्यक्रम हेर्नका लागि सगरमाथा हलमा प्रवेश गर्नुभयो ।  राष्ट्रियगानबाट सुरु भएको हाम्रो कार्यक्रम स्वस्तिवाचन हुँदै विभिन्न गीतसङ्गीत र नृत्यले दर्शकको मन खिच्न सफल भयो । कार्यक्रमको प्रमुख आकर्षण भने  नाटक थियो । नाटकमा भाग लिएका पात्रहरूको अभिनय निकै जीवन्त थियाे । यसको विषयवस्तु पनि नेपाली जनजीवनसँग सम्बन्धित थियो । प्रत्येक प्रस्तुति पछि नेपाली कविता वाचन कार्यक्रमको अर्को आकर्षण थियाे । नेपाली गीतसङ्गीत तथा नृत्यका कार्यक्रमहरू उत्कृष्ट थिए । छोटो समयमा पनि विद्यालय र  विद्यार्थीहरूले गरेको मिहिनेत देखेरे अभिभावकहरू खुसी हुनुभयो । समग्रमा कार्यक्रम सोचेभन्दा राम्रो भयो ।  बेलुका करिब ७: ०० बजेतिर  कार्यक्रम सकियो । त्यसपछि हामी सबै आआफ्ना घरतिर लाग्यौँ ।